१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

२८ दिनमा पनि आएन स्वाब परीक्षणको रिपोर्ट

रौतहटको दुई नगरपालिकाको केही क्वारेन्टिनमा बसेकाहरुको रिपोर्ट हप्तौँसम्म नआएको देखिएको छ । रौतहटको राजपुर र गढीमाई नगरपालिकाको पाँच क्वारेन्टिनमा रहेकाहरुको स्वाब परीक्षण गरिएको हप्तौँसम्म नआएको दुवै नगरपालिकाका मेयरहरुले बताएका छन् ।

रौतहटको राजपुर नगरपालिकाको चार वटा क्वारेन्टिनबाट परीक्षणको लागि स्वाब लगिएको २८ दिन बितिसकेको तर रिपोर्ट नआएको मेयर सकिल अहमदले जानकारी गराएका छन् । यसैगरी गढीमाई नगरपालिकाको एउटा क्वारेन्टिनको तीन हप्ता भन्दा बढी हुँदा पनि स्वाब परीक्षणको रिपोर्ट नआएको मेयर श्यामप्रसाद यादवले जानकारी गराएका छन् ।

राजपुर नपाको वडा नम्बर २ र ३ को एक एक वटा र ९ को दुई वटा क्वारेन्टिनमा बस्ने करिब ५०० जनाको स्वाब संकलन गरी पठाइएको २८ दिन बितिसक्दा पनि रिपोर्ट नआउँदा सबै आत्तिइसकेको मेयर अहमदको भनाइ छ । यसैगरी गढीमाई नगरपालिको एक क्वारेन्टिनको केही मानिसको रिपोर्ट तीन हप्तादेखि नआएको मेयर श्यामप्रसाद यादवले बताएका छन् । गढीमाई नगरपालिकाको मलाहीमा रहेको श्री सरस्वती माध्यमिक विद्यालय क्वारेन्टिनमा रहेकामध्ये २२ जनाको रिपोर्ट आउन ढिलो हुँदा सबै आत्तिएको मेयर यादवले जानकारी गराएका छन् ।  

स्वाब संकलन गरेर पठाइएको तीन हप्ता भन्दा बढी भइसकेको छ तर २२ जनाको रिपोर्टको अत्तोपत्तो छैन । कतिपयको रिपोर्ट एक हप्ताभित्रै आइरहेको छ तर केहीको रिपोर्टमा यति धेरै ढिलो हुँदा क्वारेन्टिनमा बसेर आजित भइसकेको मेयर यादवको भनाइ छ ।

रौतहटका प्रमुख जिल्ला अधिकारीलाई आफूले बारम्बार ताकेता गरेको तर रिपोर्ट नआउँदा क्वारेन्टिनमा बस्नेहरु आत्तिइसकेको बताएका छन् । तिनीहरुको स्वाब नै कतै हराएको हो कि भन्ने आशंका आफूलाई लाग्न थालेको मेयर अहमदले बताएका छन् ।

क्वारेन्टिनमा कति दिन बस्नुपर्ने हो ? आफूहरुको रिपोर्ट कहिले आउने ? अरुहरुको रिपोर्ट आउँदा पनि आफ्नो किन नआएको ? रिपोर्ट आउन ढिलो हुनेहरुले प्रश्न गर्ने गरेको तर आफूहरुले आउँछ भनेर आश्वासन दिँदा दिँदा हैरान भइसकेको दुवै मेयरको गुनासो रहेको छ । 

प्रकाशित: ३ असार २०७७ १४:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App