जुम्ला घोडे गाउँका जंगबहादुर रोकाया लकडाउनको समयमा खेतिकिसानीमा ब्यस्त थिए । सदरमुकाम खलंगामा होटल व्यवसाय चलाउँदै आएका उनी लकडाउन भएसंगै गाउँ फर्के । गाउँमा लकडाउनको समयमा खेतिकिसानी तिर लागे । उनी सहित गाउँले मिलेर सामूहिक खेतिको अवधारणा अघि सारे । फलस्वरुप अहिले झण्डै ५० हजार हेक्टर क्षेत्रफलमा फापर खेति भइरहेको छ । प्रति समुहले न्युनतम पाँच हजार बर्गमिटर जग्गामा फापरखेति गरेका छन् ।
लकडाउनमा गाउँ भन्दा बाहिर आउजाउ रोकियो । त्यो समयमा गाउँमा ६ वटा समुह बनाएर सामुहिक फापरखेतिका लागि बाँझो जग्गाको उपयोग गर्ने कार्य भयो,जंगबहादुरले भने,‘ लकडाउनमा बाँझो जग्गा खन्ने काम भयो । उनले फापरखेति गरेर रैथाने पोषणयुक्त बालीको संरक्षण भइरहेकोमा जोड दिए ।
प्रति समूह पन्ध्र जना मानिस अटाएका छन् । त्यो बाँझो जग्गा फापरखेतिका लागि निकै उपयुक्त क्षेत्र हो । त्यहाँ स्थानीयले कहिलेकाँही फापरखेति गर्दै आइरहेका थिए । गत वर्ष मात्रै घोडे गाउँबाट ४० क्वीन्टल फापर बिक्री भएको थियो ।
पछिल्लो समयमा बाहिरबाट आयतित खाद्यन्नले यहाँको खाद्यन्नबाली संकटमा परेको थियो । लकडाउनको समयमा लोपहुन लागेको बालीनाली संरक्षण गर्ने अवसर मिल्यो, स्थानीय चुम्म रोकायाले भने,’‘लकडाउनले कृषि क्षेत्रमा आत्मनिर्भर हुनु पर्ने चेतना दियो । अहिले गाउँले सबै स्थानीयबालीको संरक्षणमा जुटेका छन् । ’
बाँझो जग्गामा गत बर्षहरुमा झारपात मात्र हुन्थ्यो । यो पटक फापर उम्रेर हरियाली भइसकेको छ । फापरखेति निकै सहज भएकोले किसानका लागि पनि निकै लाभदायिक छ । फापरको पिठोको नेपाली बजारमा अत्यधिक माग पनि छ । यो पोषणयुक्त बाली पनि हो,जंगबहादुरले भने,‘लकडाउनले सहरको जनजीवन निकै असहज बन्यो, तर गाउँमा व्यवसायिक रुपमा सामुहिक कृषि खेतिले प्रसय पायो ।’
गाउँको नागी, तिलचौर र कोटघरा लगायतको बाँझो जग्गामा फापरखेति गरिएको हो । यो जग्गा चलन भोग गर्दै आइरहेको थियो, तर लामो समय देखि बाँझो थियो । अहिले बाँझो जग्गाको भरपुर उपयोग भएको छ । कर्णाली प्रदेश सरकारले पनि बाँझो जग्गा उपयोग गर्ने नीति ल्याएको थियो । त्यो नीतिको लकडाउनको समयमा भरपुर उपयोग भएको छ । ’
सामुहिक रुपमा गरिएको फापरखे्तिबाट भएको आम्दानी समुहमा बचतका रुपमा रहने छ । गाउँमा दुखि बिरामीलाई निकै कम ब्याजमा क्रृण दिने र गरिबीको अवस्था हेरेर आर्थिक सहयोग गर्ने लक्ष्य रहेको छ । प्रत्येक समुहमा आर्थिक कोष स्थापना हुनेभएको छ ।
गाउँका झण्डै ८० घरधुरीले सामुहिक रुपमा फापरखेति गरेका हुन् ।यो पटक फापर खेति गरेर उत्पादन भएको फापर बेच्छौँ । त्यो लगत्तै गहुँ लगाउँछौँ, स्थानीय भन्छन्,‘यो जग्गालाई कहिल्यै पनि बाँझो राख्नेछैनौँ । जग्गामा आवश्यकता अनुसार तोरी खेति र जडिबुटी खेति गर्न सकिने अवस्था छ । ’
जेठ महिनामा लगाइएको फापरखेति आगामी असोजमा भित्र्याइन्छ । लकडाउनले जुम्लाको कृषि क्षेत्रलाई निकै ठुलो सहयोग गरेको छ । सबैको नजर खेतिकिसानीमा पुग्न थालेको छ । कोराना भाइरसको त्रासले अहिले पनि केही गाउँ सील छन् । अपरिचित व्यक्तिलाई गाउँ प्रवेशमा रोक लगाइएको छ । गाउँलेले पनि गाउँ छोड्ने अवस्था छैन् । अहिले सबैलाई खेतबारी नै प्यारो लाग्न थालेको छ ।
बजारमा फापरकोे पिठोको माग बढेको छ । माग अनुसार पुर्याउन सकिएको छैन् । अब आगामी दिनमा फापरको पिठो पिस्ने, प्याकेजिङ गर्ने र प्रशोधनका सबै काम गाउँमै हुने गरि काम थालिने स्थानीय बताउँछन् । त्यहाँ तयार भएको फापरको परिकार नजिकैको नाग्म बजार हुदै निर्यात गर्न सहज हुनेछ । संकटमा खाद्यन्न संकट हुने अवस्था भोगिसकेका स्थानीयले अब रैथाने बालीको संरक्षणमा जोड दिने बताएका छन् ।
लकडाउनको समयमा जुम्लाको अधिकांस जग्गा भरपुर उपयोग भइरहेको छ । जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटा गत बर्ष भन्दा बाँझो जग्गा उपयोग गर्ने क्रम बढिरहेको बताउँछन् । किसान स्तरबाट बाँझो जग्गाको उपयोग गर्ने काम भइरहेको । यो राम्रो कार्य हो, प्रमुख देवकोटाले भने,‘यहाँको कृषि क्षेत्रको उन्नती प्रगतिको लागि कृषि कार्यालय सधैँ किसानको साथमा छ ।’ जुम्लामा २ सय १० हेक्टर जग्गा बाँझो छ । बाँझो जग्गामा किसानले फापर,सिमी र तोरी खेति गरीरहेका छन् ।
प्रकाशित: २ असार २०७७ १०:४६ मंगलबार