१३ भाद्र २०८१ बिहीबार
image/svg+xml
समाज

रौतहटमा क्वारेन्टिनबासी र प्रहरीबीच झडप

क्वारेन्टिनमा रहेकोहरुको स्वाब परीक्षणको नतिजा दुई हप्ता भन्दा बढी समयसम्म नआउँदा क्वारेन्टिनबासीहरु आजित भएर सडक नै जाम गरेर प्रदर्शन गरेका छन् । क्वारेन्टिनमा फर्काउन प्रहरीले कोसिस गर्दा क्वारेन्टिनबासीहरुसित झडप समेत भएको छ ।

रौतहटको राजपुर नगरपालिका वडा नं. १ बहुअर्वा र आधारभूत विद्यालयको क्वारेन्टिनमा रहेका सय भन्दा बढी मानिसहरुले आफूहरुको स्वाब संकलन गरेको दुई हप्ता भन्दा बढी समयसम्म पनि कुनै नतिजा नआएको भन्दै गौर चपुर सडकखण्डको बहुअर्वामा सडक अवरुद्ध बनाएका थिए । क्वारेन्टिनबासीहरु क्वारेन्टिनबाट बाहिर निस्कीएर सडक अवरुद्ध बनाएपछि सुरक्षाकर्मीसँग उनीहरुको झडप समेत भएको थियो ।

बाटो अवरुद्ध बनाएर नारावाजी गर्दै प्रदर्शन गर्न थालेपछि गौर र गरुडाबाट थप प्रहरी टोली सो स्थानमा पठाइएको थियो । आफूहरुको स्वाब परीक्षणको नतिजा छिटो आउनुपर्ने दबाब दिँदै विभिन्न नाराबाजी गरिरहेकाहरुसित प्रहरीको विवादले उग्ररुप लिएपछि प्रहरीले बल प्रयोग गर्दै १४ थान अश्रुग्यास र २ राउण्ड हवाई फायर गरेको थियो । क्वारेन्टिनमा बसेकाहरुले प्रहरीमाथि ढुङ्गामुढा गर्दै क्वारेन्टिन छोडेर भाग्न खाजेपछि अश्रुग्यास र हवाई फायर गरेको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी ज्ञानकुमार महतोले बताएका छन् ।

प्रदर्शनकारीको ढुङ्गा लागेर प्रहरी हवल्दार सुवोध सिंह घाइते भएका छन । क्वारेन्टिनबाट भागेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएर पुनः क्वारेन्टिनमै पुर्‍याएको छ । स्वाब संकलन गरेको दुई हप्ता बितिसक्दा परीक्षणको नतिजा नआएकोले क्वारेन्टिनमा बसेकाहरु आक्रोशित बनेका छन ।  

देशमा नै रौतहट सबैभन्दा बढी कोरोना संक्रमित जिल्ला हो भने रौतहटको सबैभन्दा बढी प्रभावित स्थानीय तह राजपुर नगरपालिका हो । शनिवारसम्म राजपुरमा दुई सय अठार संक्रमित छन् । राजपुर नगरपालिकामा दुई हजार भन्दा बढी विभिन्न क्वारेन्टिनमा रहेका छन् । 

प्रकाशित: ३१ जेष्ठ २०७७ १३:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App