१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीमाथि आक्रमण, एक भारतीयको मृत्यु, दुई गम्भीर

भारतीय नागरिकको समूहले आक्रमण गरेपछि सर्लाहीको पर्सा गाउँपालिका–३ नारायणपुर नाकामा खटिएका सशस्त्र प्रहरीको जवाफी कारबाहीमा एक भारतीय नागरिकको मृत्यु भएको छ।  दुई भारतीय गम्भीर घाइते भएको उक्त झडपमा सशस्त्र प्रहरीका तीन सुरक्षाकर्मीसमेत घाइते भएका छन्।  

भारत सीतामाढी जिल्ला दरबार लालबन्दी गाउँका २७ वर्षीय विकेशकुमार रायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिए।  छातीमा गोली लागेका रायको भारतीय स्वास्थ्य केन्द्रमा उपचार हुँदाहुँदै मृत्यु भएको बताइएको छ।  

त्यस्तै गोली लागेर भारतको दरबार लालबन्दी गाउँकै १९ वर्षीय उमेश राम र ३२ वर्षीय उदय ठाकुर घाइते भएका छन्।  रामको दाहिने हातमा तथा ठाकुरको खुट्टामा गोली लागेको भारतीय पक्षबाट अनौपचारिक जानकारी आएको प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिए।  उनीहरूको भारतस्थित स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।  

त्यस्तै भारतीय समूहको आक्रमणमा परी सशस्त्र प्रहरी बलका हबलदार सञ्जय राय, जवानद्वय भूपेन्द्र पौडेल र रविन बैठा घाइते भएका छन्।  भारतीय समूहको कुटपिटबाट ढाड, टाउकोलगायत शरीरका विभिन्न स्थानमा चोट लागेका तीनैजनाको सर्लाही सदरमुकाम मलंगवास्थित जिल्ला अस्पतालमा उपचार भइरहेको सशस्त्र प्रहरी बल १० नं. गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठले जानकारी दिए।  

आक्रमणका क्रममा सीमा क्षेत्रमा खटिएका एक सशस्त्र प्रहरीको हतियार (एसएलआर) खोस्ने भारतीय नागरिक ललन भन्ने नवलकिशोर रायलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।  उनलाई खोसिएको बन्दुकसहित पक्राउ गरिएको गणप्रमुख श्रेष्ठले जानकारी दिए।  ‘सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीमाथि हातपात गर्दासमेत हाम्रा जवानहरु अत्यन्त संयमित भएर बल प्रयोग गरेका थिएनन्, १० राउन्ड हवाई फायरमात्र भएको थियो,’ श्रेष्ठले भने, ‘तर हतियार नै खोसिएपछि भने आत्मरक्षासहित राइफल फिर्ता गर्न पनि बाध्य भएर गोली प्रहार गर्नुपर्ने अवस्था आइलाग्यो। ’

घटना लगत्तैदेखि झडपस्थल नारायणपुर नाकास्थित दसगजामा भारतीय सुरक्षा अधिकारी अनि नेपाली सुरक्षा अधिकारीको नेतृत्वमा दुवै देशका बाक्लै सुरक्षाकर्मी परिचालन गरिएको छ।  घटनालगत्तै झडपस्थलमा नेपाल प्रहरीका प्रहरी उपरीक्षक पोखरेल तथा सशस्त्र प्रहरी उपरीक्षक श्रेष्ठको नेतृत्वमा दर्जनौं सुरक्षाकर्मी परिचालन गरिएको छ।  साँझ अबेर यो समाचार तयार पार्दासम्म सर्लाहीका नेपाल प्रहरी प्रमुख पोखरेल र सशस्त्र प्रहरी प्रमुख श्रेष्ठको नेतृत्वमा सुरक्षाकर्मी घटनास्थलमै छन्।  

बिहानभर तनावपूर्ण बनेको नारायणपुर नाकाको अवस्था दिउँसोदेखि सामान्य भएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए।  घटनालगत्तै समकक्षी भारत सीतामाढी जिल्लाका प्रमुख (डिएम) लगायत सुरक्षा अधिकारीसँग विभिन्न माध्यमले कुराकानी भइरहेको प्रजिअ जिसीले जानकारी दिए।  ‘घटनालगत्तै भारत सीतामढी जिल्ला प्रमुखलगायत सुरक्षा अधिकारीसँग शुक्रबार दिनभर विभिन्न माध्यमले कुराकानी भइरहेको छ,’ प्रजिअ जिसीले नागरिकसँग भने, ‘सशस्त्र प्रहरीका एक सुरक्षाकर्मीको हतियार खोसेपछि पक्राउ परेका भारतीय नागरिकलाई कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाइसकेका छौं। ’

यसरी भयो घटना

शुक्रबार बिहान साँढे ८ बजेतिर नारायणपुर नाकास्थित सशस्त्र प्रहरीले स्थापना गरेको अस्थायी पोस्ट स्थलमा पहिला ४÷५ जना भारतीय नागरिक आएका थिए।  बाँसको लिँगामा त्रिपालले ढाकेर बनाइएको अस्थाई पोस्टमा सशस्त्र प्रहरी हबलदार सञ्जय राय र जवान रविन बैठाको ड्युटी थियो।  भारतबाट आएका ४÷५ जनाको समूहले केही कुरै नगरी एक्कासि हबलदार रायलाई हातपात गर्न थाल्यो।  हबल्दार रायले ‘कुरा के हो भन्नुस् न, यसरी हातपात नगर्नुस्’ भने पनि उक्त समूह थप आक्रामक हुँदै सँगै रहेका सशस्त्र प्रहरी जवान बैठालाई समेत हातपात गर्न थाल्यो।  उनीहरूले अस्थायी पोस्टको त्रिपाल फाल्दै थप आक्रमण गर्न थाले।  

दसगजा क्षेत्रमै पूर्व र पश्चिममा ड्युटी गरिरहेका थप ५ जना सशस्त्र प्रहरी आइपुग्दा नपुग्दै भारतको दरबार लालबन्दी गाउँतर्फबाट २५÷३० जनाको समूह थपियो।  उनीहरूले इँटा, ढुंगा, लाठीलगायत प्रहार गरेपछि सशस्त्र प्रहरीका सातैजना सुरक्षाकर्मी दसगजाबाट नेपालतर्फको नारायणपुर गाउँतर्फ ब्याक हुन थाले।  

भारतीय समूहको भिड तितरबितर पार्न सशस्त्र प्रहरीले हवाइफायर गरेपछि उनीहरू झन् होहल्ला गर्दै नेपालतर्फ छिरेका थिए।  ‘उनीहरूलाई उतै भगाउन हवाइफायर गरेको त झन् होहल्ला गर्दै आक्रोशित भएर ढुंगामुढासहित आक्रमण गर्दै नेपालतर्फ आए,’ सशस्त्र प्रहरीका एक सुरक्षाकर्मीले भने, ‘गोली चलेको आवाज सुने पछि नारायणपुरका गाउँले दसगजा क्षेत्रमा दौडँदै आइरहेका रहेछन्, त्यसैबेला भारतीय समूहमध्येका एकजनाले प्रहरी जवान बैठाको हातबाट एसएलआर खोसेर आप्mनो नियन्त्रणमा लिइहाले, राइफल नै खोसेपछि बाध्य भएर भारतीय समूहमाथि गोली प्रहार ग¥यौं। ’  

गोली लागेपछि भारतीय समूहमा घाइतेलाई उठाउने तथा भागदौड मच्चिएको मौका पारेर राइफल खोस्नेलाई बन्दुकसहित सशस्त्र प्रहरी जवान भूपेन्द्र पौडेलले बोकेरै नियन्त्रणमा लिएका थिए।  सहयोगका लागि हतारहतार घटनास्थल आइपुग्दा भारतीय समूहले सशस्त्र प्रहरी जवान पौडेलको समेत हतियार खोस्ने प्रयास गरेको थियो।  

सशस्त्र प्रहरीका सुरक्षाकर्मीले दसगजाबाट झन्डै सय मिटर नेपालतर्फ ब्याक भएपछि मात्र गोली चलाएको घटनास्थलमा देखिएको रगतको टाटोबाट स्पष्ट हुन्छ।  ‘दसगजानजिक त हामीले हवाई फायरमात्र ग¥यौं,’ एक सशस्त्र प्रहरी जवानले भने, ‘ नेपालतर्फ सय मिटर क्षेत्रभित्रै छिरेर राइफल नै खोसेपछि भने बाध्य भएर गोली चलायौं। ’  

गोली लागेका तीनैजनालाई भारतीय समूहले हतारहतार बोकेर उतै लगेको नारायणपुरका स्थानीय प्रत्यक्षदर्शीले जानकारी दिए।  नारायणपुरका गाउँलेले समेत होहल्ला गरेर प्रतिकारमा उत्रेपछि सशस्त्र प्रहरीका सुरक्षाकर्मीले केही राहत महसुस गरेका थिए।  ‘एकजना साथीको त राइफल पनि खोसिसकियो, उनीहरूको आक्रमण शैली हेर्दा त अब बाँचिँदैन कि क्या हो भन्ने लागेको थियो,’ सुरुदेखि उनीहरूसँग भिडेका एक सुरक्षाकर्मीले भने, ‘नेपालतर्फका दर्जनौं स्थानीय आइपुगेर हान हान भन्न थालेपछि मात्र हामीले आडभरोसा पायौं र जवाफी कारबाही गरेर उनीहरूलाई भगायौं। ’ १५ मिनेटभित्रमा सबै घटना भएको उनले बताए।  ‘यति चाँडो घटना भयो नि, बडा अचम्मित भएको छु,’ उनले सम्झिए।  

दसगजा क्षेत्रमा गोली चलेको आवाज सुनेपछि आफूहरू घटनास्थल पुगेको स्थानीय युवा दिलीपकुमार साहले जानकारी दिए।  ‘हामी किन गोली चल्यो भनेर आउँदा त भारतीयले हाम्रै भूमिभित्र छिरेर सशस्त्र प्रहरीका सरहरूलाई आक्रमण गर्दै रहेछन्, अनि हामीले पनि होहल्ला गर्न थाल्यौं,’ साहले भने, ‘ढुंगामुढा मात्र होइन, भारतीय समूहको तर्फबाट पनि गोली चलेको थियो। ’

स्थानीयका अनुसार दसगजाबाट झन्डै २ सय मिटर भारततर्फ ड्युटी गरिरहेका भारतीय सीमा सुरक्षा बलका ३ जना सुरक्षाकर्मी भए पनि उनीहरूले आक्रमणमा आएका भारतीयलाई रोकेका थिएनन्।  उक्त स्थानमा भारतीय सीमा सुरक्षा बलका सुरक्षाकर्मीले २४सै घण्टा ड्युटी गर्छन्।  

गत जेठ १८ गते बिहान पौने ६ बजे पनि भारतीय समूहले विष्णु गाउँपालिकाअन्तर्गत सिमरा फेनरा नाकास्थित बोर्डर आउट पोस्टमा ढुंगामुढासहित आक्रमण गरेको थियो।  त्यहाँ पनि हवाई फायर गरेर सशस्त्र प्रहरीले भारतीय समूहलाई भगाएको थियो।  

पूर्व–पश्चिम ५१ किलोमिटर लामो भारतीय सीमा नाकाअन्तर्गत सुरक्षाका लागि सशस्त्र प्रहरीका ७ वटा स्थायी पोस्ट छन्।  लकडाउन सुरु भएयता दर्जनौं स्थानमा अस्थायी पोस्ट निर्माणसहित आइकन्ट्याक्टमा रहनेगरी सुरक्षाकर्मीको ड्युटी खटाउने गरिएको छ।  

 

 

प्रकाशित: ३१ जेष्ठ २०७७ ०१:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App