१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सुनौलीमा मृत्यु भएका नवलपरासीका युवकमा कोरोना पुष्टि

बुटवल भारतबाट फकर्ने क्रममा रुपन्देहीको बेलहिया नाका पारी सुनौलीमा मृत्यु भएका नवलपरासीका एक युवकलाई कारोना संक्रमण भएको पुष्टि भएको छ । मुम्बईबाट घर फर्कदै गरेका पश्चिम नवलपरासी जिल्लाको सुस्ता गाँउपालिकाको कुडीयाका ३५ वर्षे युवकको बुधबार दिउँसो बेलहिया पारी दशगजा नजिकै मृत्यु भएको थियो ।  

मृत्यु पश्चात भारतमै गरिएको पिसीआर टेष्टमा ती युवकलाई कोरोना संक्रमण भएको पुष्टि भएको भारतीय सुरक्षाकर्मीलाई उदृत गर्दै इलाका प्रहरी कार्यालय बेलहियाका इन्चार्ज प्रहरी निरीक्षक ईश्वरी अधिकारीले जानकारी दिए । भारतीय पक्षले मृत्तकका आफन्तलाई झिएकाएर सोधपुछ गर्ने र परिवारकै सहमती अनुरुप शव व्यवस्थापन कसरी गर्ने भन्ने बिषयमा भारतीय पक्षसंग समन्वय गरिने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए ।  

ती युवकलाई मुम्बईबाट हिँडदा देखि नै सामान्य स्वास्थ्य समस्या देखिएको उनीसंगै आएकाले बताएको बेलहियाका प्रहरी निरीक्षक अधिकारीले बताए । ती युवक आएको बसमा संगै आएका ४० जना बुधबार नै नेपाल भित्रिएका छन्। दशगजा नजिकै भारतीय भूमीमा मृत्यु भएका ती युवकको शवलाई भारतकै महाराजगञ्ज अस्पतालमा लगेर स्वाब झिकिएको थियो । एम्बुलेन्समा शवसंगै सो अस्पताल पुगेका मृत्तकका दुई जना आफन्तलाई अहिले पाल्पाको क्वारेन्टिनमा राखिएको बताइएको छ ।  

रुपन्देहीको बेलहिया नाकाबाट अहिलेपनि दैनिक तीन सय देखि पाँच सय नेपालीहरू  घर फर्किरहेको इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक अधिकारीले बताए । अहिले भारतबाट आउने भन्दा नेपालबाट फर्कनेको संख्या बढी छ । बेलहियाबाट दैनिक ७ सय देखि १ हजार जना भारतीय आफ्नो देश फर्किरहेको उनले जानकारी दिए ।

प्रकाशित: २९ जेष्ठ २०७७ १६:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App