२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भाडा नमाग्न घरधनीलाई सरोकार समितिको अपिल

नेपाल राष्ट्रिय घरभाडा सरोकार समितिले घरभाडा नमाग्न घरधनीलाई अपिल गरेको छ। समितिले विज्ञप्ति जारी गरेर वर्तमान असहज परिस्थितिमा घरभाडा नमाग्न घरधनीहरूलाई अपिल गरेको हो। समितिका अध्यक्ष कमलप्रसाद न्यौपानेद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘कोभिड–१९ को पीडामा परी छटपटाइरहेका आम व्यवसायीलाई यो विकराल परिस्थिति रहेसम्म घरभाडा भुक्तानीको निम्ति दबाब नदिन, भाडा वृद्धि नगर्न र घर कोठाबाट निष्कासित नगर्न अनुरोध गर्दछौं।’

कोभिड–१९ का कारण लकडाउन सुरु भएलगत्तै तत्कालीन समयमा वर्तमान विकराल परिस्थितिको आँकलन गर्दै बैंक तथा वित्तीय संस्थाको किस्ता पुनर्तालिकीकरण गर्न, ब्याज छुट दिन तथा घरभाडा छुट दिने वातावरण बनाउन माग गर्दै प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको घरभाडा सरोकार समितिले जनाएको छ। उसले भनेको छ, ‘तर हामीले सोचेभन्दा पनि अवस्था जटिल बन्दै गयो, त्यसैले हामी जन्ती जाँदाको मात्र होइन, मलामी जाँदाको पनि साथी’ बन्ने प्रयास गर्दै यो आग्रह गर्दछौं।’ स्वेच्छिक रुपमा कतिपय घरधनीले कतै ५० प्रतिशत त कतै शतप्रतिशत घरभाडा छुट दिएको भन्दै ती घरधनीप्रति धन्यवाद र आभारसहित कोभिड–१९ को विकराल परिस्थिति रहुन्जेल सो कार्य जारी राख्न आग्रहसमेत गरिएको छ।

साथै घरभाडा सरोकार समितिले राजस्वलगायत सबै कर तिर्ने निर्णयबारे पुनर्विचार गर्न सरकारलाईसमेत आग्रह गरेको छ। घरभाडा लिन नपाइरहेका घरधनी तथा व्यवसायीलाई सरकारले आगामी असार ७ गतेसम्म कर तिर्न दिएको समयसीमा पुनर्विचार गर्न तथा बैंक तथा वित्तीय संस्थाको ब्याज र किस्ता परिस्थिति सहज नभएसम्म तिर्नलाई ताकेता नगर्न आग्रहसमेत गरेको छ।

प्रकाशित: २९ जेष्ठ २०७७ ०४:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App