९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

भारतबाट फर्किनेको व्यवस्थापनमा कठिनाई

भारतबाट जिल्ला भित्रिएकाहरुलाई गाउँपालिका पठाउनु अघि विवरण संकलन गर्दै प्रहरी ।

धादिङका स्थानीय तहहरुले भारतबाट घर फर्किएर सिमानामा अलपत्र परेकाहरुलाई उद्धार गरेका छन् । केही स्थानीय तहका प्रमुख आफै सिमानामा नै पुगेर उद्धार गरे तर उद्धार गरेकाहरुको व्यवस्थापनमा कठिनाई भएको छ । उद्धार गरिएकाहरुलाई सोझै गाउँघरमा पुग्न नदिइ चेकजाँच गरेर मात्रै घर फर्किने वातावरण बनाउन निकै गाह्रो पर्न थालेको छ । समयमै चेकजाँच र पिसिआर गराउन नसक्दा एकातिर क्वारेन्टिनको ब्यवस्थापन गर्न गाह्रो बन्दै गइरहेको छ भने क्वारेन्टिनमै रोग फैलने हो कि भन्ने चिन्ता थपिएको छ ।

भारतबाट फर्किएर नीलकण्ठ माविको क्वारेन्टिनमा बस्दै आइरहेको नीलकण्ठ नगरपालिका वडा नं ७ का ३३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि झनै त्रास छाएको छ । क्वारेन्टिनको अभावका कारण भारतबाट उद्धार गरिएकाको आरडीटि रिपोर्टका आधारमा केही स्थानीय तहहरुले सिधैँ घर पठाइदिएका छन् । होम क्वारेन्टिनमा बस्नुपर्ने प्रावधानका साथ पठाइएपनि गाउँ डुल्ने, साथीभाइसँग भेटघाट गर्ने जस्ता कार्यले अन्यमा पनि त्रास छाएको छ । जिल्लामा भारतबाट उद्धार गरेकाहरुको आरडिटी टेस्टको रिपोर्टका आधारमा मात्रै पीसिआरका लागि प्रयोशालामा पठाइने गरिन्छ ।

जिल्ला प्रहरी कार्यलय धादिङको रेकर्ड अनुसार जेठ १ गते यता भारतबाट ६ सय ५३ जना नागरिक भारतबाट फर्किएर धादिङ भित्रिएको धादिङ प्रहरी प्रवक्ता डिएसपी रुपक खड्काले बताए । ‘भारतबाट आउनेहरुलाइ जिल्ला भित्रिने नाकाबाटै प्रहरीको निगरानीमा सदरमुकाम र प्रहरी चौकीहरुमा ल्याइ यहाँबाट सम्वन्धित गाउँपालिकालाई जिम्मा लगाउने गरेका छौँ’ उनले भने, ‘उनीहरुलाई सम्वन्धित स्थानीय तहहरुले आफ्नो क्षेत्रमा क्वारेन्टिनमा लगेर राखेका छन् ।’

भारतबाट उद्धार गरिएको त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नं १ का एक युवा जिल्ला सदरमुकाम धादिङवेशीबाट मोटरसाइकल चढेर गाउँ पुगे । घर पुग्नु अघि पनि र पुगेपछि पनि केही साथीभाइसंग भेटघाट गरे । गाउँ फर्किएर क्वारेन्टिन नवसेको र साथीभाइ भेटघाटमा हिडेको कुरा त्यसपछि मात्रै फैलिएपछि सल्यानटार प्रहरी चौकीबाट खटिगएको प्रहरीले नियन्त्रणमा लियो र गाउँपालिकाले रानीपौवामा संचालन गरेको क्वारेन्टीनमा लगेर राख्यो । गाउँपालिकाको आधिकारीक सम्पर्कमा आएकाहरुलाई पनि ब्यवस्थापन गर्न स्थानीय तहहरुलाई चुनौती थपिदै गएको छ । साथै विना कुनै सूचना गाउँ फर्किनेहरुले भने गाउँमा झनै त्रास बढाएका छन् ।

क्वारेन्टिनमा रहेका सवैजनाको आरडीटी गराउन पनि किटको अभाव भएपछि नगरपालिकाले आफ्नै खर्चमा किट खरिद गरेर टेस्ट गरिरहेको नीलकण्ठ नगरपालिकाका स्वास्थ्य संयोजक विष्णु रिजालले बताए । ‘भारत र देशकै अन्य क्षेत्रबाट आएका करिव ४ सय जना हाम्रो नगरक्षेत्रका विभिन्न ठाउँमा संचालित क्वारेन्टिनमा रहेका छन् उनले भने, ‘उनीहरुको दैनिक ब्यवस्थापन खर्च मात्रै ९० हजार भन्दा हुन आउदो रहेछ ।’

कर्णाली प्रदेश र तराईका जिल्लाहरुमा पछिल्लो समय भारतबाट आएकाहरु नै बढी संक्रमित भेटिएका छन् । धादिङ जिल्लामा भने भारतबाट आएकाहरुलाइ ४/५ दिन क्वारेन्टिमा राखेर आरडीटी चेकजाँचमा नेगेटिभ आउने वित्तिकै गाउँ पठाउन थालिएपछि स्थानीयहरुले पिसिआरको माग गर्न थालेका छन् ।

प्रकाशित: २६ जेष्ठ २०७७ ०८:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App