१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

जाउँ कहाँ जाउँ, बसौं घरभाडा छैन

रामेछापका मान बहादुर कार्कीको केहिदिनयता दैनिकी फेरिएको छ। लकडाउन केहि खुकुलो भएपछि काठमाडौं जोरपाटी सडक छेउमा उनले मकै पोल्न सुरु गरे। लम्बेतान लकडाउनका कारण परिवार चलाउन मुस्किल भए पछि मकै पोल्न थालेको उनले सुनाए। लकडाउन अघि उनको अर्कै काम थिए। उनी दैनिक ज्यालादारी मजदुर थिए। अहिले त्यो रोजगारी छैन। यसैले त सडक छेउमा मकै पोलिरहेका छन्।  

लकडाउन अघि मान बहादुर इटा बोक्ने काम गर्थेँ। ‘अहिले काम सबै तिर ठप्छ। कोरोनाको त्रासले काम गरेका छैनन्।  परिवारको गर्जो कसरी टार्ने’, उनी विलौना सुनाउँछन्न ‘नुन र भात खान पनि धौधौ भो, पाँच जनाको परिवार कसरी पाल्ने घरभाडा खप्टिदै गयो। मकै पोलेर भएपनि एकदुई पैसा त हुन्छ।’  

लकडाउनले आफू जस्ता हुँदा खाने गरिबलाई धेरै गाह्रो भएको गुनसो गर्दै अब लकडाउन खुलाए बाँच्न सकिने बनाइदिए हुने उनी बताउँछन्।  

‘पाँच जनाको परिवार चलाउन मुस्किल भयो। लकडाउनदेखि छोराछोरीले पेटभरि खाना पाएका छैनन्। लकडाउले गर्दा सबै कुरा मंहगो भयो। आम्दानी नभए पछि काठमाडौंमा खाना र बस्न नै गाह्रो छ।’  

उनलाई खाना भन्दा पनि घरभाडा कसरी तिर्ने भन्ने चिन्ता लागेको छ। ‘मासिक पाँच हजार रूपैयाँले तीन महिनाको १५ हजार भयो। सरकारले घरभाडा छुट गराउने भने पनि आश्वासन मात्रै दियो’, उनी भन्छन्, ‘हामी जस्ता दुःखी गरिबका लागि मात्रै हो। हुने खानेलाई त लकडाउन सकडाउन मतलब छैन।’  

त्यस्तै सिन्धुपाल्चोक घर भएका काठमाडौंमा ज्याला मजदुरी गर्ने फुर्वा तामाङको पनि पीडा उस्तै छ। काम गर्ने सबै बन्द भए पछि ठेलामा तरकारी बेच्न सुरु गरेको उनले सुनाए।  

‘हामी जस्ता गरिबलाई लकडाउनको समय लम्बिदै  गाह्रो हुने हो। अहिले सबै तिर घर बनाउने काम बन्द छ’, फुर्व भन्छन्, ‘ मैले काम गर्न नपाएको तीन महिना भयो। पाँच जनाको परिवार कसरी पालेँ होला ? त्यो कसले बुझ्ने ? कोरोना भन्दा पनि भोकले मरिन्छ भन्ने डर भयो।’  

घरबेटीले भाडा पनि मागिरहेका छन् सरकारले भाडा छुट गराउने भनेर पनि हल्ला मात्रै रहेको उनी दुखेसो पोख्छन्।  

‘उसले मजदुरहरुको समस्या कस्ले बुझ्छ र ? काम गरे पैसा हुने हो, काम छैन् पैसा पनि छैन्, खानालाई गाह्रो भो, यो बिपतको घडिमा साहूले पनि सहयोग नगरेको उनी गुनासो गर्छन्।  

चाबहिल चोकमा डोकोमा साग बैच्दै आएकी दोलखाकी सरिता खड्कालाई पनि लकडाउनले दैनिक गुजरा चलाउन अप्ठ्यारो भएको छ।

‘श्रीमान ज्यामी काम गर्थे। अहिले घर बनाउने काम सबै तिर बन्द छ। श्रीमानले काम गर्न पाएका छैनन्। छ जनाको परिवार धान्न गाह्रो भयो। चार दिन भयो यो साग बेच्न पाइएको छ’, उनी भन्छिन्, ‘खाना त जसोतसो पुग्ला तर अहिले कोठा भाडा कसरी तिर्ने चिन्ता छ।’  

सरकारले घर भाडा छुट गराउने हल्ला फैलियो तर लागू भएन यो गरिबहरूलाई आशा मात्रै देखाएको उनी गुनासो गर्छिन। फेरि लकडाउन गर्ने हो भने आफूहरु जस्ता काम गरि खानेलाई बाँच्न गाह्रो हुने उनी बताउँछिन्।  

काभ्रेकी सानीमाया तामाङको पनि उस्तै कथा छ। लकडाउन अघि तीनचुली रत्नपार्कको टेम्पो चलाउँथिन। लकडाउनले गर्दा सवारी साधान चल्न दिइएको छैन्। टेम्पु ग्यारेजमा थन्किएको छ।  

अहिले उनी कपन मिलनचोकमा ठेलामा तरकारी बेच्न थालेकी छन्। ‘श्रीमान वितेको ५ वर्ष भयो। टेम्पो चलाएर तीन जना  छोरी पालिरहेको थिएँ’, उनी भन्छिन्, ‘घर भाडा कसरी तिर्नु। आम्दानी छैन्, पेट कसरी भार्नु कि घरभाडा। ‘बाँच्नै गाह्रो भयो। हामी गरिबहरु नै त हो भोकले मर्ने’, सानीमाया तामाङ विलौना गाउँदै भन्छिन्, ‘नाकाबन्दी र भूकम्प र लकडाउन भनेको हामी गरिबलाई हो लाग्ने। हामी काम गरि खानेको लागि सरकारले पनि सोच्दैन।’

‘अब कोरोनाले कहिलेसम्म दुःख दिने थाहा छैन्। यसले धेरै समय सम्म लम्बियो भने हामी दुःखीहरु भोकले मार्छ होला ? कसरी बाँच्ने हो ? कोरोना भन्दा खानाले नपाएर मरिन्छ भन्ने डर भयो’, उनले भनिन्।  

 

प्रकाशित: २६ जेष्ठ २०७७ ०७:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App