१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

आरडिटीको भरमा क्वारेन्टिनबाट डिस्चार्ज गरिएका युवक आइसोलेसनमा

जेठ २१ गत्ते क्वारेन्टिनबाट घर फर्केका एक युवकमा स्वास्थ्य समस्या देखिएपछि आइतबार प्रादेशिक कोभिड विशेष अस्पताल जनकपुरको प्रिआइसोलेसनमा कक्षमा भर्ना भएका छन्। क्वारेन्टिनमै शरिर दुख्ने, घाँटी दुख्ने समस्या देखिएपनि आरडिटी नेगेटिभ भएको भन्दै उनलाई घर पठाइएको थियो । घर फर्केदेखि स्वास्थ्य समस्या झन झन बल्झिदै गएपछि आइतबार उनी प्रादेशिक अस्पताल जनकपुर पुगेका थिए । चिकित्सकहरूले उनको यात्रा लगायतका विवरण लिएपछि जाँच तथा उपचारका लागि कोभिड विशेष अस्पतालको प्रिआइसोलेसन कक्षमा भर्ना गरिदिएको छ ।

कोभिड अस्पतालका डा. कुलदिप पण्डितकाअनुसार स्वास्थ्य उपचार तथा कोरोना भाइरस(कोभिड–१९) परीक्षणका लागि उनलाई सम्भावितक कोरोना संक्रमितलाई राखिने प्रिआइसोलेसन कक्षमा राखिएको छ । कोरोनासँग लक्षण मिल्ने स्वास्थ्य समस्या देखिएका विरामीलाई यस कक्षमा भर्ना गरेर उपचार तथा पिसिआर परीक्षण गरी कोरोना भाइरस संक्रमण यकीन गरिन्छ ।

‘आरडिटी नेगेटिभ आएकाको पनि पिसिआर पोजेटिभ आउँछ , डा. पण्डितले भने,‘कोरोना भाइरस संक्रमण पुष्टि गर्न पिसिआर परीक्षण नै हुनुपर्छ ।’ युवकको यात्रा विवरण मुम्बई छ । कोरोना संक्रमणको इपिसेन्टर मुम्बईबाट फर्केकोले पनि उनलाई सम्भावित संक्रमितको जोनमा राखेर प्रयोगशाला परीक्षणबाट यकीन गर्नुपर्छ, डा. पण्डितले भने ।  उनले भने,‘सोमबार उनको पिसिआर परीक्षण गर्ने तयारी गरेका छौं ।’ उनको कोरोना मात्र नभई मलेरिया,डेंगु र अन्य रोगको पनि परीक्षण गरिरहेको डा. पण्डितले बताए ।

मुम्बइको एक होटलमा काम गर्दै आएका युवक लकडाउन लम्बिदै गएपछि रोजगार रोकियो । संचित रकम सकिन लाग्दा पनि लकडाउन खुल्ने कुनै संकेत नपाएपछि उनी घर फर्किने निधो गरे । पैदल, ट्रक चढ्दै उनी जयनगरसम्म पुगे । जयनगरबाट पैैदलै उनी जेठ ८ गत्ते धनुषाको जटही सीमा नाका पुगेका थिए । त्यहाँबाट जेठ ९ गत्ते हिँडेर कमला नगरपालिका वडा नम्बर २ स्थित क्वारेन्टिन पुगेका थिए । राती पुगेका उनलाई जेठ १० गत्ते मात्र क्वारेन्टिनमा भर्ना गरेको थियो । 

क्वारेन्टिनमै शरिर दुख्ने, घाँटी दुख्ने ज्वारो आउने समस्या देखिएपछि उनले क्वारेन्टिनमा खटिएका स्वास्थ्यकर्मीलाई जानकारी गराएका थिए । युवकले भने,‘स्वास्थ्यकर्मीले सिटामोल दिएर निको हुन्छ भन्थे । औषधि खाएपछि केहि घण्टा आराम मिलथ्यो, फेरी उस्तै हालत हुन्थ्यो, उनले भने ।’ समस्या ज्यूँका त्यूँ थियो । जेठ २१ गत्ते आरडिटी गरेर आधा घण्टापछि घर पठाइदियो उनले भने,‘मैले स्वास्थ्य समस्या दर्शाउँदा पनि कसैले वास्ता गरेन ।’ क्वारेन्टिनबाटै श्रीमतीलाई फोन गरेर उनले आफू विरामी भएकोले बच्चा लिएर माइत जान भनेका थिए । घर फर्केका उनी छुट्टै कोठामा बस्दै आएका थिए ।  

कमला नगरपालिका स्वास्थ्य शाखाका निमित प्रमुख सत्यनारायण ठाकुरका अनुसार आरडिटी नेगेटिभ देखिएकालाई घर पठाउने स्वास्थ्य मन्त्रालयको निर्देशन छ । हामीले सोहीअनुसार सात दिनसम्म घरमा समाजिक दूरी कायम गरेर बस्न सल्लाह दिएर पठाएका हौं उनले भने,‘माथीको निर्देशन जे छ त्यही गरेका हौं ।’ क्वारेन्टिनमा १० दिनभन्दा बढी बसेकालाई आरडिटी गरेर नेगेटिभ आए घर पठाउने र पोजेटिभ आए पिसिआर परीक्षणको व्यवस्था मिलाउने मन्त्रालयको निर्देशन छ, उनले भने । पहिला पनि ती युवकले स्वास्थ्यमा समस्या छ भन्दै आएको थियो । तापक्रम नाप्दा समान्य नै देखिन्थ्यो ठाकुरले भने,‘शरिर दुख्ने, घाँटी दुख्ने समस्याका लागि पारासिटामोल खान दिन्थ्यौं ।’आइतबार बिहान फोन गरेर समस्या झनै बढ्दै गएको बताएपछि मैले जाँचका लागि जनकपुर अस्पताल जान सल्लाह दिएको थिएँ ठाकुरले भने ।’

कमला नगरपालिकाका मेयर रामउदगार गोइतकाअनुसार सरकारले नै आरडिटी नेगेटिभलाई क्वारेन्टिनबाट घर पठाउन भनेपछि हामीले रोकेर पिसिआर परीक्षण कसरी गर्नु ? सरकारले आरडिटी पोजेटिभलाई पिसिआर गर्न भनेको छ उनले भने,‘त्यो हामी गराउँछौं ।’

जेठको दोस्रो सात्ता सर्लाहीको कविलासी नगरपालिका–१० का ३० वर्षीय युवकलाई आरडिटी रिपोर्ट नेगेटिभ आएपछि क्वारेन्टिनबाट डिस्चार्ज गरियो । डिस्चार्ज भएको सातादिनपछि उनको पिसिआर विधिबाट परीक्षणका लागि स्वाब संकलन गरियो । पिसिआर परीक्षणको रिपोर्टमा उनी कोरोना संक्रमित पुष्टि भएका थिए ।

‘मैले नै उनको पिसिआर परीक्षण गराउन स्वाब संकलन गराउन लगाएको थिए मेयर कौशलकिशोर यादवले नागरिकसँग भने,‘पोजेटिभ रिपोर्ट आएपछि गाउँमा हलचल मच्यो ।’ 

‘१५ दिन क्वारेन्टिन बसेका उनलाई आरडिटी रिपोर्टको भरमा घर पठायौं’,मेयर यादवले भने,‘ घर फर्केर उनी दुनीया मान्छेको सम्पर्कमा आएपछि पिसिआर रिपोर्ट पोजेटिभ आयो ।’

आरडिटीको भर पर्दा गाउँ जोखिममा पर्यो । उनको सम्पर्कमा आएका व्यतिmहरूको पहिचान गरी पिसिआर परीक्षणका लागि स्वाब संकलगन गरी पठाइएको मेयर यादवले बताए । आरडिटी भरपर्दो छैन । यसबाट कोरोना संक्रमण यकीन हुन्न यादवले भने,‘भारतको संक्रमित क्षेत्रबाट फर्केकाको पिसिआर परीक्षणबाटै कोरोना भाइरस संक्रमण यकीन गर्नुपर्छ । पिसिआर परीक्षणको रिपोर्ट छिटो आउनुपर्छ । उनले थपे,‘पिसिआर परीक्षणको दायरा बढाइनुपर्छ ।’

मेयर यादवकाअनुसार कविलासी नगरपालिका–८ अगर्वास्थित जनता माविको क्वरेन्टाइनमा बसेका ६० जनाको स्वाब परीक्षणका लागि जेठ ११ गत्ते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाउँदा ३६ जनामा कोरोना पोजेटिभ भएको रिपोर्ट २० गत्ते आएको थियो ।

यसबीचमा पोजेटिभ व्यक्तिहरूसँग घुलमिल गरेकाहरूको आरडिटी गर्दा थप ५ जना पोजेटिभ भेटिएका थिए । उनीहरूको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको मेयर यादवले बताए ।  

सरकारको पछिल्लो निर्णयका कारण क्वारेन्टिनका कोरोना अब समुदायमा फैलिने खतरा बढेको यस क्षेत्रका चिकित्सकहरू बताउँछन्। कोरोना संक्रमण पुष्टि गर्न पिसिआर विधिबाट गरिने परीक्षण नै भरपर्दो छ । आरडिटी भरपर्दो नभएको पुष्टि भैसक्दा पनि यसकै भरमा क्वारेन्टिनबाट सम्भावित संक्रमितलाई समुदायमा फर्काउनु खतरनाक हुने एक चिकित्सकले बताए । 

यस प्रदेशमा कोरोना संक्रमण पुष्टि भएका अधिकांश व्यक्ति भारतको संक्रमित स्थानबाट फर्केकाहरू छन्। संक्रमित क्षेत्रबाट फर्केकाहरूमा गरिएको पिसिआर परीक्षण रिपोर्टले अधिकांशमा संक्रमण पुष्टि भैरहेको छ । यो यार्थतकाबीच आरडिटीको भरमा क्वारेन्टिनबाट सम्भावित संक्रमितलाई घर पठाउने निर्णय घातक सिद्ध हुने ती चिकित्सकले बताए । यस प्रदेशमा आइतबारसम्म १ हजार १ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रकाशित: २६ जेष्ठ २०७७ ०४:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App