२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

यार्सा संकलकको दुखेसो : 'कोराेनाले रोजीरोटी खोस्यो'

जुम्ला पातारासी गाउँपालिका ४ तिर्खु गाउँका गणेश बोहोरा हरेक वर्ष पाटनमा यार्सा संकलन गर्न जान्छन् । यार्सा संकलनले उनको परिवारको रोजीरोेटी चलिरहेको हुन्थ्यो । यार्सा टिपेर आफ्नो घर खर्च तथा छोराछोरीको पढाइ खर्च जुट्थ्यो । तर यो वर्ष कोराेना भाइरसको संक्रमणका कारण लकडाउन भएपछि न पाटनमा यार्सा टिप्न पाइएको छ, नत जिल्लाभित्रै सहज आवतजावत नै । उनले भने,‘यार्सा संकलन गर्न जान नपाउँदा रोजीरोटी खोसियो । छोराछोरीको पढाई प्रभावित हुने भयो । ’

यहाँको मुख्य आम्दानीको स्रोत नै यार्सा थियो । समुन्द्र सतहदेखि तीनदेखि चार हजार मिटरसम्मको उचाईमा पाइने यार्सागुम्बा टिप्न जेठको पहिलो सातादेखि संकलन कार्य सुरु भइसक्थ्यो । यसपटक पाटनमा यार्सा संकलनमा रोक लाग्यो । यार्सा संकलन गरेर बर्षभरीको खाना जोहो गरौँला भन्ने जुम्लाबासीको आशा निराशामा बदलियो । कोरोनाको जोखिमभन्दा पनि घर खर्च र बालबालिकाको पठनपाठन कसरी धान्ने भन्ने चिन्ताले पिरोल्न थालेको छ ।  

पछिल्लो समयमा विश्वभर कोरोना भाइरसको त्रास फैलिरहेको भन्दै यार्सागुम्बा संकलनमा रोक लगाइएको छ । यार्सागुम्बा संकलनमा रोक लगाइए सँगै स्थानीयको आयस्रोत भने गुम्ने देखिएको छ । ‘हामी यार्सा जडीबुटीमा आश्रित छौ,आयस्रोतका रूपमा यार्सा कुम्भुमा निर्भर थियौँ,तर अहिले पाटन रोक्का हुदा निकै चिन्तित छौँ, अर्का स्थानीय रुपलाल बोहोरा भन्छन्,‘ यहाँका स्थानीयको यार्सा संकलन गरेर क्रृण तिर्ने धोको पुरा हुन सकेन । खाद्य संकट टार्न आवश्यक खाद्यन्न जोहो गर्न सकिएन । भोकमरी हुने ठुलो संकेत देखिएको छ । ’

यो पटक व्यापारीले पनि लगानी गरेका छैनन् । गतसाल यार्सा टिप्नको लागि निकालेको क्रृण समेत तिर्न नसकिने अवस्था छ । यो पटक क्रृण तिर्ने भाका राखेर कतिपय जुम्लाबासीले साहुसंग क्रृण निकालेका थिए । पातारासी गाउँपालिका ४ का मुनवहादुर बोहोराले भने,‘यसपटक यार्सा संकलन गर्न नपाएर समस्यामा परिने भइयो । ’

यसपटक घर खर्च चलाउनै मुस्किल हुने भयो, गाउँमा रोजगारी मुलक काम पनि छैन,यार्सा संकलन गर्न रोक लगाइएको छ ।’ कामको चटारो हुने यो बेला घरमै बस्नुपर्ने अवस्था आउँदा निकै मर्कामा छौँ ।’ उनले थपे, ।    

जुम्लाको पातारासी गाउँपालिका,गुठिचौर,सिंजा,हिमा,तिला र कनकासुन्दरी गाउँपालिकाका धेरैजसो युवा यार्सा संकलनका लागि पाटन जाने गर्छन् । विगतमा यो समयमा विद्यालय बन्द गराएर पनि यहाँका बालबालिकादेखि युवायुवती र वृद्धसम्म पाटनमै भेटिन्थे ।

डेढदेखि दुई महिनासम्म हिमाली क्षेत्रमा यार्सागुम्बा र अन्य जडीबुटी संकलनमा व्यस्त रहने यहाँका स्थानीयवासी यसपटक भने बन्दाबन्दीले घरमै बस्न बाध्य भएका छन । यहाँका धेरैजसो मानिसको आयआर्जनको मुख्य स्रोत नै यार्सागुम्बा हो । बन्दाबन्दीका कारण यार्सागुम्बा संकलन पनि ठप्प भएको शान्ति कठायत बताउँछिन् ।  

उनले भनिन्,‘कोरानाले न जीउ राख्ने भयोे, नत पैसा कमाउन नै दिने भयो । उल्टै गाँस, बास र कपास खोस्ने भयो । जनता भोक र रोगले गर्ने भए । औषधि उपचार गर्ने रुपैयाँ पनि कमाउन दिने भएन । ’

खेतपाती लगाउन पाइएको छैन,व्यापार गर्न नाका ठप्प छ, यार्सागुम्बा सकलनका लागि अनुमति दिइएको छैन । कसरी परिवार पाल्ने ? उनले भनिन्,‘यही कुराले रात निन्द्रपर्दैन, दिनमा भोक लाग्दैन । जीउ झुरिएर माछाको काडाँ जस्तो भइसक्यो ।’

पैसा कमाउन घरभन्दा बाहिर निस्कन पाइने अवस्था छैन । यहाँका स्थानीयले एक वर्ष अघिदेखि नै ब्यापारीबाट उधारोमा सामान खरिद गरिसकेका थिए । ब्यापारीले यार्सा संकलनका लागि भएपनि उधारो पत्याउथे । छोराछोरी जिल्ला बाहिर पढाउन यार्सागुम्बाले सहयोग पुगेको थियो । एक सिजनमा ५० हजार देखि देखि २० लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको अनुभव स्थानीय सुनाउँछन् ।

यार्सागुम्बा लाई शरीरको प्राण सञ्चालन गर्ने,प्रतिरोधात्मक क्षमतालाई वृद्धि गर्ने, शक्ति बढाउने,शरीरका विभिन्न अङ्गजस्तै मुटु, कलेजो, मिर्गौला,रक्त प्रणाली,श्वास प्रणालीको कार्यक्षमता बढाउने र यौन क्षमता बढाउने सर्वगुण सम्पन्न जडीबुटीका रूपमा हेरिन्छ । जुम्लामा  हरेक वर्ष १० हजार भन्दा बढीको हाराहारीमा यार्सा गुम्बा संकलन गर्न स्थानीयवासी डोल्पा तथा मुुगुको पाटनमा  जाने गर्दछन् ।  

पहिलो पटक यार्सागुम्बा संकलनमा रोक लगाइएको छ । करिब २० वर्ष भन्दा अघिबाट संकलन गरिदै आएको यार्सागुम्बा संकलनमा रोक लगाउँदा अधिकांस कर्णालीबासीले गाँस खोसिएको अनुभुति गर्न थालेका छन् । कोरोना भाइरस कोभिड १९ सँग लड्न झनै ठूलो चुनौति हुने भन्दै यार्सागुम्बा संकलनमा रोक लगाउने स्थानीय सरकारले निर्णय गरेका छन्  ।  

कोरोना भाइरसका कारण देश नै लकडाउन रहेको अवस्थामा यार्सागुम्बा पाइने सबै जिल्लाहरुमा पाइने बहुमूल्य जडिबुटि यार्सागुम्बा संकलनले झनै ठूलो विपत्ती ल्याउने र असुरक्षाको कारण सबैभन्दा जोखिम भएको भन्दै यस वर्ष यार्सागुम्बा संकलनमा रोक लगाएको छ ।

प्रकाशित: २५ जेष्ठ २०७७ १५:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App