५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

सर्वोच्चको आदेशपछि आयोगको रोहवरमा खत्री रिहा

प्रहरी नियन्त्रणमा रहेका खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका सुदिप भनिने चक्रबहादुर खत्री रिहा भएका छन् । सर्वोच्च अदालतको जेठ २३ गतेको आदेश अनुसार खत्री राष्ट्रिय मानव अधिकार आयोगका सदस्य गोविन्द शर्मा पौड्यालको रोहवरमा आईतबार आयोग परिसर हरिहरभवनबाट रिहा भएका हुन् ।  

गत २०७६ साल बैसाख २ गतेदेखि हालसम्म खत्रीलाई प्रहरीले स्वेच्छाचारीरुपमा ६ पटक पक्राउ गरेको र लकडाउनको अवधिमा खोटाङबाट उदयपुर, पुन: खोटाङ, सोलुखुम्बु हुँदै सिराहा पुर्‍याएर गैर–कानूनी थुनामा राखेको ठहर गर्दै सर्वोच्चले रिहा गर्नका लागि आदेश दिएको थियो । राष्ट्रिय मानव अधिकार आयोगका सचिव एवं प्रवक्ता बेद भट्टराईले विज्ञाप्ती जारी गर्दै सर्वोच्चको आदेशको दुई दिनपछि खत्री रिहा भएको जानकारी दिएका छन् । सोही विज्ञाप्तीमार्फत आयोगले खत्रीलगायत अन्य कुनै पनि व्यक्तिलाई स्वेच्छाचारी रुपमा पक्राउ नगर्न तथा गैर–कानुनी थुनामा राख्ने कार्य बन्द गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।  

फरक विचार र आस्था राखेकै आधारमा खत्रीको अवस्थाका बारेमा परिवारलाई जानकारी समेत नदिई स्थिति अज्ञात पार्ने गरिएको, अपमानजनक व्यवहार गरिएको तथा सर्वोच्च अदालतबाट पटक–पटक जारी भएका आदेशको बेवास्ता गरिएको भन्दै आयोगले पनि जेठ १६ गते चौबीस घण्टाभित्र जवाफ पठाउन गृह–मन्त्रालयलाई पत्राचार गरेको थियो । खत्रीलाई जिल्ला कारागार शाखा दिक्तेलमा राखिएकामा सर्वोच्च अदालतबाट भएका आदेश विपरीत २०७६ चैत २८ गते, २०७७ साल वैशाख १३ गते, वैशाख २८ गते, जेठ २ गते र जेठ १५ गते छैठौँ पटक पक्राऊ गरेर उदयपुर, सोलुखुम्बु हुँदै जेठ १६ गते सिरहा पुर्‍याएको पाइएको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ ।  

खत्री नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी खोटाङका सदस्य एबं आर्थिक विभाग प्रमुख हुन् । खत्रीलाई गाउँकै एक स्थानीयको मोटरबाईकमा लिफ्ट मागेर हिँडिरहेको अवस्थामा प्रहरीले डिकुवाबाटै २०७६ साल बैसाख २ गते नियन्त्रणमा लिएको थियो । 

प्रकाशित: २५ जेष्ठ २०७७ १३:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App