८ वैशाख २०८१ शनिबार
समाज

धमाधाम क्वारेन्टिनबाट घर पठाइदै

आरडिटीको भर पर्दा जोखिम

भारतबाट आएर क्वारेन्टिनमा बसेकाहरूलाई आरडिटी परीक्षण गरेर सिधै घर पठाउने गरिएको छ । जेठको पहिलो साताबाट भारतका बिभिन्न रेडजोनबाट करिव ८० हजार जति सुदूरपश्चिममा भित्रिएका छन्। कुनै जाँच नगरि सिमानाकाबाट गाउँगाउँमा लगेर क्वारेन्टिनमा राखिएको थियो । आरडीटी जाँच गर्दै धमाधम घर पठाउन थालेपछि समुदायमा संक्रमण फैलिने जोखिम बढेको छ । 

आरडिटी जाँच पछि रिपोर्ट नेगेटिभ आएर क्वारेन्टिनबाट घर गएकाहरू संक्रमण नभएको भन्दै समुदायमा घुलमिल हुने गरेका छन् । ‘भारतबाट संगै आएका संक्रमण भएर अस्पताल छन्, उनी सँगै आएका घर आएर सवैतिर उठवस गरिरहेका छन्’ डडेल्धुृरा अमरगढी नगरपालिकाका १ महिलाले भनिन्,‘गाउँमा संक्रमण फैलिने त्रास छाएको छ ।’

आरडिटी जाँचमा रिपोट नेगेटिभ आउदाँ पनि कोरोनाको भाईरस हुने भएकाले आरडिटी जाँचका आधारमा संक्रमण छैन भनेर घर घर पठाएर समुदायमा घुलमिल हुन दिने अवस्था ठिक नभएको सेती प्रादेशिक अस्पतालका कोरोना उपचाार बिभाग प्रमुख शेरवहादुर कमर भन्छन । ‘आरडिटी जाँचकै आधारमा रेडजोनबाट आएकालाई घर पठाइनुले संक्रमण फैलिने धेरै जोखिम हुन्छ’उनले भने ।

स्थानिय बासिन्दा र विज्ञहरूले भारतबाट आएकालाई पिसिआर जाँच गरेर कोरोनाको संक्रमण भए नभएको एकिन गरेर मात्र घर पठाउनु पर्छ भनेर भनिरहेपनि सुनवाई नगरी आरडिटीका आधारमा धमाधम घर पठाइन लागेको हो । अस्तव्यस्त क्वारेन्टिनमा वस्दा संक्रमितबाट अरुमा पनि सर्ने र घर घर पठाउदाँ उनीहरूबाट समुदायमा सर्ने जोखिम बढेको स्थानिय दान बहादुर साउँदले बताए ।

आरडिटी पोजिटिभ आएकाहरूको मात्र पिसिआर गरिने गरेको छ । आरडिटी भएकाको पनि नमुना संकलन हुन बाँकी रहेको छ । आरडिटी रिपोर्ट पोजेटिभ भएकाहरू पनि नमुना संकलन र जाँच बाँकी भएकाले क्वारेन्टिनमै बसेका छन् ।

आरडिटी पोजिटिभ रिपोर्ट आएकाहरू संग क्वारेन्टिनमा संगै बस्दै आएका, एउटै शौचालय एउटै धारा प्रयोग गरेका नेगेटिभ रिपोर्ट आएकाहरूलाई घर पठाउने गरिएको छ । एउटै क्वारेन्टिनमा  सँगै बसेका नेगेटिभ रिपोर्ट आएकाहरू एक हप्ता घरमै अलग बस्ने सल्लाह दिँदै घर पठाउने गरिएपनि आरडिटीको रिपोर्टमा संक्रमण नदेखिएको भन्दै उनीहरू घरपरिवार र समाजमा घुलमिल हुने गरेको स्थानियले बताएका छन्।

आरडिटी  मात्र गरेर घर पठाउन थालेपछि गाउँघरमा त्रास फैलिएको छ । आरडिटी भरपर्दो नहुँदा नहुँदै पनि आरडिटीकै आधारमा घर पठाउँदा जोखिम बढेको पञ्चेश्वर गाउँपालिका–२ का रामी चन्दले बताए । आरडिटीकै भर पर्दा समुदायमा कोरोना फैलिने त्रास रहेको स्वास्थ्यकर्मी बताउँछन् ।

बैतडीमा  हालसम्म पिसिआर ५ सय ७९ जनाको मात्रै गरिएको छ  भने ३ हजार ७ सय ४८ जनाको आरडिटी परीक्षण गरिएको छ ।  तिमध्ये २ सय १६ जनामा आरडिटी पोजिटिभ आएपछि पिसिआर परीक्षणको लागि स्वाब संकलन गरिएको छ । केही व्यक्तिको रिपोर्ट आउन बाँकी छ । आरडिटी पोजेटिभ आउँदा धेरै जना त्रसित हुने गरेका छन् ।

पिसिआर विधिबाट परीक्षण नहुँदासम्म ढुक्क हुने अवस्था नभएको पञ्चेश्वर गाउँपालिका–४ का नरेन्द्र चन्दले बताए । ‘सबैको पिसिआर परीक्षण गर्नु पर्ने तर यहाँ त आरडिटी गर्दै घर पठाउँदै गरेका छन्,’ उनले भने, एक हप्ता होम क्वारेन्टिनमा बसेको छु अझै ढुक्क हुने अवस्था छैन ।’ आरडिटी परीक्षणको धेरैले बिश्वासै गर्दैनन् । तर भारतबाट एउटै हुँलमा सँगै आएका धेरैमा कोरोना संक्रमण देखिँदा गाउँघरमा त्रास फैलिएको छ । 

भारतबाट सँगै आएका शिवनाथका ४ जनामा संक्रमण देखिएको छ, तर उनीहरूसँगै आएका धेरै जनाको आरडिटी टेस्ट गरेर घर पठाइएको स्थानीय बताउँछन् । ‘आरडिटीको रिपोर्ट उल्टोे आउने गरेकाले ढुक्कसँग बस्ने अवस्था छैन’  पुर्चौडी नगरपालिका–३, न्यादेउका स्थानीय रमेश लुहार बताउँछन्,‘गाउँभरी त्रास भएको छ ।’

पिसिआर विधिबाट परीक्षणै नगरी घर फर्काइएपछि कोरोना भए÷नभएको यकिन नहुँदा गाउँघरमा धेरै जना त्रसित रहेको मेलौली नगरपालिका–१ का सुरत पार्कीले बताए । ‘२ हप्ता क्वारेन्टिनमा बसिसकेकालाई आरडिटी गरेर नेगेटिभ रिपोर्ट आएको खण्डमा घर पठाउँने गरिएको छ,’ जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले भने, ‘सबैको पिसिआर गर्न संम्भव छैन, किटको पनि अभाव छ । आरडिटी गर्दा नेगटिभ देखिएकालाई घर पठाउने गरिएको छ ।’

आरडिटीलाई आधिकारिक मान्दै धमाधम घर फर्काउन थालेपछि गाउँमा त्रास फैलिएको स्थानीय बताउँछन् । भारतबाट धेरै जना आएपछि स्थानीय तहलाई व्यवस्थापन गर्न समस्या भएको छ । कुनै वडाका विद्यालय खाली छैनन शिवनाथ गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले भने, ‘आरडिटी गरेर घरमै सुरक्षित रूपमा बस्ने सर्तबमोजिम उनीहरूकै इच्छा अनुसार पठाइएको हो ।’

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार ६२ हजार ५ सय २७ जना क्वारेन्टीनमा छन ।  ३२ हजार ७ सय ५६ को आरडिटी जाँच भएको छ त्यस मध्य ९ सय २८ पोजेटिभ आएको छ । भारतबाट भित्रिएको र क्वारेन्टिनमा वसेकाको संख्या हेर्दा भारतबाट करिव ८० हजार जना भित्रिएकोमा १८ जना जति घर घर गईसकेको देखिन्छ ।

३ दिनदेखि नमुना संकलन रोक

सुदूरपश्चिममा एक मात्र रहेको प्रयोगशालाको क्षमता अपुग भएपछि तीन देखि नमुना संकलन रोकिएको छ । गत शुक्रवार ५ दिन सम्म थ्रोट स्वाब संकलन नगर्न प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशानलयले लिखित रुपमै ९ जिल्लाका स्वास्थ्य कार्यालयलाई परिपत्र गरेको थियो ।

क्वारेन्टिनमा बसेकाको आरडिटी जाँचमा पोजेटिभ देखिएकाको, संक्रमति संख्या बढ्दै गएकाले उनको सम्पर्कमा रहेका र लक्षण देखिएकाको ९ जिल्लामा नमुना संकलन गर्दा धनगढीमा रहेको एकमात्र प्रयोगशालाको क्षमता, जनशक्ती, अन्य सामग्री अपुग भएको भन्दै नमुना संकलन रोकिएको थियो । भारतबाट आएर क्वारेन्टिन बसेका आरडिटी जाँचमा पोजेटिभ रिपोर्ट आएका सयौं जना, कन्ट्रयाक्ट ट्रेसिङ गर्नुपर्ने लगायतको नमुना संकलन हुन नसकेपछि सुदूरपश्चिममा अवस्था थप जटिल भएको छ । नमुना संकलन रोकिएपछि एकमात्र पिसिआर मेसिन भएकोमा थप पिसिआर मेसिन राख्न सरकारले पहल नगरेको भन्दै स्थानीयले आक्रोश व्यक्त गरिरहेका छन । सुदूरपश्चिम प्रदेश सरकारले डोटी र बैतडीमा प्रयोगशाला स्थापना गर्ने भनेर गत चैत महिनामा नै निर्णय गरेपनि कार्यान्वयन हुन सकेको छैन ।

आरडिटी जाँच बन्द गर्न माग

आरडिटी जाँचको रिपोट भरपर्दो नभएर जोखिम बढेको भन्दै यस प्रदेशमा सर्वसधारण देखि सासंद सम्मले आरडिटी जाँच बन्द गर्न माग गरेका छन । धनगढी उपमहानगरपालिका–४ का ५५ वर्षिय महिलाको आरडिटी रिपोट नेगेटिभ आएपछि उनलाई डाईलोसिस वार्डमा भर्ना गरियो । त्यहि क्रममा उनको मृत्यु भएपछि आरडिटी रिपोर्टकै भरमा अन्तेष्टी समेत गरियो । पछि पिसिआर जाँच गर्दा कोरोनाको संक्रमण पुष्टि भयो । यसरी आरडिटी रिपोर्ट भरपर्दो नभएको भन्दै सर्वसधारणले समाजिक सन्जालमा बन्द गर्न आवाज उठाएका छन्। 

सुदूरपश्चिम प्रदेश सभाको बैठकमा आईतबार सत्तापक्ष र बिपक्षी दलका सासंदहरूले आरडिटी जाँच बन्द गर्न माग गरेका थिए । आरडिटीको बिश्वसनियता विश्वमा कतै नभएको भन्दै सासंदहरू ले प्रयोग बन्द गर्न माग गरेका थिए । ‘आरडिटी जाँच गरेर पठाइएकाबाट संक्रमण भयाभह फैलिन सक्ने भएकाले आरडिटी जाँच बन्द गरेर पिसिआर जाँच बढाइनु पर्छ’ नेकपाका प्रदेश सभा सदस्य पुर्णा जोशीले भनिन् । यसैगरी नेपाली काग्रेसका प्रदेश सभा सदस्य भरतबहादुर खड्काले यृुरोपियन देश लगायतका बन्द गरेको आरडिटी जाँचको प्रयोग हुनु दुःखद रहेको उल्लख गर्दै समुदायमा संक्रमण भयाभह फैलिन नदिन आरडिटी जाँच बन्द गर्न माग गरे ।

प्रकाशित: २५ जेष्ठ २०७७ १३:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App