७ वैशाख २०८१ शुक्रबार
समाज

जब क्वारेन्टिन नै संक्रमणको कारण बन्यो

भारतसँग साँध जोडिएको, पूर्वी झापाको सबैभन्दा दक्षिणी गाउँ कचनकवलमा मात्रै आइतबारसम्ममा ११२ जना कोरोना संक्रमित फेला परिसकेका छन् । भारतबाट ल्याएर क्वारेन्टिनमा राखिएकाहरुको यो ठूलो संख्या एकैपटक संक्रमित हुनुका पछि क्वारेन्टिनस्थलको अव्यवस्था नै मुख्य कारक बनेको छ ।

कचनकवल गाउँपालिकाले सरकारले निर्णय गर्नु अघि नै सिमाबाट नेपाली नागरिक ल्याउन थालेको थियो । सिमामा आएका  नेपालीलाई गाउँपालिकाले सिधै क्वारेन्टिनमा लगेको थियो  । भारतको मुम्बइ, दिल्लीबाट आएका धेरै जसो स्थानीयहरुलाई जसो तसो विद्यालयमा निर्माण गरिएको क्वारेन्टिनमा लगेर राखियो । शुरुवातमा १० जनामा देखियो । त्यो संख्या बढेर अहिले कचनकवलमा मात्रै एक सय १२ संक्रमित भेटिएका छन् ।

के ती सबै भारतबाटै संक्रमित भएर आएका थिए ? गाउँपालिकाका पदाधिकारी, स्थानीय स्वास्थ्यकर्मी र संक्रमितका आफन्तहरु धेरैजसोलाई क्वारेन्टिनस्थलको अव्यवस्थाले संक्रमण गराएको छ । ‘शौचालय, बस्ने कोठा जस्ता संरचनाहरु एउटै प्रयोग गर्दा संक्रमण भयो होला’, कचनकवलका एक जना सरकारी स्वास्थ्यकर्मीले भने, ‘सबैको बसोबास एकै ठाउँ भयो । सुरुमा व्यवस्थापन पनि राम्रो भएन । त्यसैले यतिधेरै संक्रमण भयो ।’

शुरुवातमा क्वारेन्टिन व्यवस्थापनमा समेत समस्या भयो । कचनकवल गाउँपालिकाका अध्यक्ष अन्जार आलमले एकै पटक संक्रमित थप हुदा र भारतबाट आउने क्रम नरोकिदा समस्या परेको सुनाए । अहिले त ६ वटा क्वारेन्टिन बनाएका छौं, उनले भने, अब अझै डेढ सय जति राख्न सक्ने अवस्था छ । कचनकवलको क्वारेन्टिनमा अहिले ४ सय बढी बसेका छन् । ती सबै भारतबाट आएका हुन् । आलमका अनुसार सुरुमा संक्रमण भारतबाटै आएकामा देखिएको थियो ।

प्रदेश सांसद बसन्त बानियाँका अनुसार क्वारेन्टिनमा साझा प्रयोग गर्ने बस्तु एउटै परेका कारणले पनि क्वारेन्टिनबाटै संक्रमण थप भएको हुन सक्ने बताए । साझा शौचालय, मेस, साबुन प्रयोगका कारणले पनि थप संक्रमण देखिएको हुन सक्छ, उनले भने, तर अहिले प्रदेश सरकार र सहयोगीको सहयोगमा छुटाछुटै प्रयोग गर्न वातावरण भने बनेको छ । बानियाँका अनुसार संक्रमणको दर बढ्नुमा एकै स्थानमा क्वारेन्टिनको बसाइ पनि भएको बताए । केही सावधानी अपनाइएको भए जोखिम घटन पनि सक्ने अनुमान गर्न सकिन्छ, उनले भने, एकै पटक व्यवस्थापनको चटारोले पनि समस्या भएको हो ।

कचनकवलको एउटै क्वारेन्टिनमा बसेका ९९ मध्ये ५२ जना संक्रमित भएका थिए । कचनकवल गाउँपालिका ४ केचनाको महेन्द्र रत्न माविको क्वारेन्टिनमा बसेकाहरुमा बढी संक्रमण देखिएको हो । गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख जागेश्वर यादवका अनुसार २ पटकमा एउटै क्वारेन्टिनमा बसेकाहरुमा संक्रमण देखिएको थियो । उनका अनुसार त्यसपछी क्वारेन्टिनमा दुरी कायम गर्ने, थप सावधानी अपनाउने काम पनि भएको थियो ।

संक्रमण समुदाय स्तरमा फैलन नदिन सर्तकता अपनाइएको सांसद बानियाँले बताए । भारतबाट आएकाहरु सिधै क्वारेन्टिनमा छन्, उनले भने, क्वारेन्टाइनमा उच्च सुरक्षा सहित राखिएको छ, त्यस कारणले पनि समुदायमा फैलने सम्भावना न्युन छ । कचनकवलमा संक्रमण देखिएकाहरु सबै भारतबाट आएका हुन् ।

भारतबाट लुकीछिपी नेपाल प्रवेश गरेकालाई सीमा वारि आएलगत्तै नियन्त्रणमा लिएर क्वारेन्टिन र होल्डिङ सेन्टरमा राख्ने गरिएको छ । कचनकवलमा लक्ष्मी मावि बनियानी, जानकी आधारभूत विद्यालय पाठामारी, लक्ष्मीप्रसाद देवकोटा मावि सुकुनाडिघी, महेन्द्र रत्न मावि केचना, पथरिया मावि पथरिया र बुद्ध आधारभूत विद्यालय घेराबारीमा क्वारेन्टिन निर्माण गरिएको छ ।

प्रकाशित: २५ जेष्ठ २०७७ १२:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App