७ आश्विन २०८३ बुधबार
image/svg+xml
राजनीति

कांग्रेसको १५औँ महाधिवेशन : गुल्मी संयोजकमा बेदबहादुर थापामगर

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारी समितिले गुल्मी जिल्लाको संयोजकमा बेदबहादुर थापामगरलाई मनोनयन गरेको छ।

पूर्वमहामन्त्री डा. शशांक कोइराला संयोजक रहेको १५औँ महाधिवेशन तयारी समितिले भदौ २५ गते तयार गरेको पत्र बुधबार थापा मगरले पाएका थिए । यही पत्रमा थापामगरलाई जिल्ला संयोजकको जिम्मेवारी दिएको हो। जिल्लाका नेता–कार्यकर्ताको रायसुझाव तथा केन्द्रीय प्रतिनिधिको सिफारिसका आधारमा उनलाई जिम्मेवारी दिइएको पत्रमा उल्लेख छ।

समितिले चौधौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिलाई नै १५औँ महाधिवेशन सम्पन्न गर्ने वैधानिक दायित्व रहेको दाबी गर्दै महाधिवेशनको तयारी अघि बढाएको छ। कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकै अवस्थामा विशेष महाधिवेशन पक्षले महाधिवेशनको कार्यतालिका सार्वजनिक गरी गतिविधि अघि बढाएको भन्दै कोइराला नेतृत्वको समितिले आफ्नो पक्षबाट पनि अधिवेशन प्रक्रिया अघि बढाएको हो।

समितिले आगामी मंसिर २१, २२ र २३ गते काठमाडौंमा १५औँ केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका तय गरेको छ। त्यसअघि असोज १५ गते वडा अधिवेशन, असोज २० गते पालिका अधिवेशन, असोज २३ गते प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन, कात्तिक १५ गते जिल्ला अधिवेशन र मंसिर ४ गते प्रदेश अधिवेशन गर्ने कार्यतालिका बनाइएको छ।

तयारी समितिले पार्टीको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको उल्लेख गर्दै अदालतले विगतका सिद्धान्त र अभ्यासका आधारमा विवाद यथाशीघ्र टुंग्याउने विश्वास व्यक्त गरेको छ।

पत्रमा विशेष महाधिवेशन पक्षले अघि बढाएको गतिविधिलाई ‘कथित विशेष महाधिवेशन’ को संज्ञा दिँदै चौधौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिले नै पार्टीको १५औँ महाधिवेशन गर्नुपर्ने दाबी गरिएको छ। आवेग, उत्तेजना र गालीगलौजबाट नभई संयमता, धैर्य र सहकार्यका माध्यमबाट कांग्रेसलाई पुनः सबल र सक्षम पार्टी बनाउने प्रतिबद्धता पनि समितिले जनाएको छ।

यसअघि पनि कोइराला नेतृत्वको समितिले विभिन्न जिल्लामा महाधिवेशन सम्पन्न गर्न जिल्ला संयोजक तथा प्रतिनिधि तोक्दै आएको छ। कास्की, बाजुरा, ओखलढुंगालगायत जिल्लामा समेत जिम्मेवारी तोकिएको सार्वजनिक विवरण छ।

विशेष महाधिवेशनबाट बनेको गगन थापा नेतृत्वको कांग्रेसले भने आफ्नै महाधिवेशन प्रक्रिया अघि बढाइरहेको छ। यसरी कांग्रेसभित्र पार्टीको आधिकारिकता र महाधिवेशन प्रक्रियालाई लिएर दुई पक्षबाट समानान्तर गतिविधि भइरहेका बेला गुल्मीमा पनि महाधिवेशन तयारीको जिम्मेवारी तोकिएको हो।

समितिले थापामगरलाई जिल्ला संयोजकका रूपमा कांग्रेसका स्थापित मूल्य, मान्यता र संगठनात्मक आधारलाई आत्मसात गर्दै जिल्लाको संगठन मजबुत बनाउन आग्रह गरेको छ।

प्रकाशित: ७ आश्विन २०८३ १६:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App