१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

‘औषधि सेवन नै नगरी कोरोना निको भयो’

कोरोना जितेका महादेवस्थानका २० वर्षीय युवा गिपेन्द्र राई । तस्बिर : नागरिक

सुरुमा आफूलाई कोरोना संक्रमण भएको जानकारी पाउँदा हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका गिपेन्द्र राईलाई सपनाझैं लागेको थियो । कोरोना संक्रमण भएको पुष्टि भएको भन्दै स्वास्थ्यकर्मी र प्रहरीको टोली घर सिल गर्न आइपुग्दा मात्र उनी झसंग भए । सोच्दै नसोचेको खबर पाउँदा गिपेन्द्रको दिमागले केहीबेर कामै गरेन । 

परिवारमै अन्धकार छायो । केही दिनदेखि बारीमा मकै गोडमेलमा उनको दिन बितिरहेको थियो । बिहानको खाना खाने तयारी गरिरहेका बेला प्रहरी र स्वास्थ्यकर्मी घरैमा आइपुगेपछि मात्र उनले आफूलाई कोरोना संक्रमित भएको थाहा पाएको बताए ।

प्रहरी आएर दायाँ–वायाँ नचल्न भनिरहँदा उनी अवाक भए, केही सोच्न सकेनन् । खाना खान बसे तर पटक्कै रुचेन । केही समयअघि महादेवस्थानका वडाध्यक्ष चइन्द्र राईले फोन गरेर घरबाट कतै नजान खबर गरेका थिए । तर, संक्रमण भएको कारण वडाध्यक्षको फोन आएको भन्ने उनलाई पत्तै थिएन । ‘खाना खानेबेला प्रहरी, स्वास्थ्यकर्मी आइपुग्यो, तपाईलाई कोरोना लागेको छ, कर्ही नजानुस्, नचल्नुस् भन्छ,’ राईले भने, ‘कसरी कोरोना लाग्यो, केही भएकै छैन, एकछिन त दिमागले केही काम गरेन । खाना पनि एक दुई गासभन्दा बढी खान सकिनँ ।’  

जताततै कोरोनाको त्रास फैलिँदो थियो । विश्वभर नै आतंक मच्याइरहेको कोरोनासँग गिपेन्द्रलाई पनि डर त थियो, तर आफंैलाई कोरोना संक्रमण होला भन्ने चाहिँ एक मनमा पनि सोचेका थिएनन् । कोरोनाको संक्रमण भएपछि नगरपालिकाले गिपेन्द्रलाई जेठ ६ गते रातारात कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगर पु¥यायो । अस्पतालमा जेठ ७ गते मात्र भर्ना भए र कोरोना जित्नका लागि उपचारमा बसे । कोरोना लागे पनि उनको शरीरमा कुनै पनि लक्षण देखिएको थिएन । 

कोरोना उपचारका क्रममा उनले बेला–बेलामा तातो पानी पिउने, नुवाई धुवाई गर्ने, सफा भएर बस्नेबाहेकका स्वास्थ्यशैली अपनाएनन् । कतिसम्म भने औषधिसमेत नियमित सेवन गरेनन् । दुई तीन दिन औषधि सेवन गरे तर प्रेसर घटाएपछि औषधि नै सेवन नगरेको राईले बताए । ‘पिसिआर परीक्षणका लागि स्वाब संकलन गर्नेक्रममा सामान्य रुघाखोकी लागेको थियो । 

तर, अस्पताल पुग्दा निको भइसकेको थिएँ,’ बिहीबार अस्पतालबाट डिस्चार्ज भएका राईले भने, ‘बेला–बेला तातो पानी पिएँ, औषधि पनि दुई तीन दिन मात्र खाएँ । प्रेसर घटाएकाले औषधि खानै छाडिदिएँ । निको हुनका लागि मैले अरू केही गर्न परेन ।’ उनी पुनः १४ दिन होम क्वारेन्टाइनमा बस्नेगरी डिस्चार्ज भएका हुन् ।  

नगरपालिकाबाट ३४ जनाको स्वाब संकलन गरेर पिसिआर परीक्षणमा पठाइएकामा उनलाई संक्रमण भएको पुष्टि भएको थियो । कोरोना संक्रमण भएको पुष्टि भएपछि उनलाई जति मानसिक चिन्ता भयो, परिवारलाई पनि उत्ति तै चिन्ता पर्यो । केही दिन उनका बुबाले नै खाना खान सकेनन् । फोन गरेर चिन्ता गर्ने र रुने आफन्तको ओइरो लाग्यो । 

केही दिनअघि मात्र भेटघाट गरेर फर्केका मामालाई गाउँमा भेदभाव नै गरिएको राईले बताए । संक्रमण भएपछि १४ दिनसम्म अस्पतालमा बिताएका गिपेन्द्रले कोरोनालाई त्रासका रूपमा नलिन आग्रह गर्छन् । ‘विशेषगरी खानपान र सरसफाइमा ध्यान दिन पर्दोरहेछ, तातो पानी नियमित पिउनुपर्छ,’ राईले भने, ‘मलाई त कोरोनासँग डराउनुपर्छ जस्तो लाग्दैन । पचाइन्छ ।’  

काठमाडौं उपत्यकामा बसिरहेको अवस्थामा लकडाउनको मारमा परेका नागरिकलाई हलेसी तुवाचुङ नगरपालिकाले बस रिजर्भ गरेर घर ल्याउने अभियान चलाएको थियो । काठमाडौं पेप्सीकोला बसिरहेका गिपेन त्यही मौकामा गत वैशाख १२ गते घर आएका थिए । १४ दिन होम क्वारेन्टाइनमा बसेपछि उनी सामूहिक रूपमा पोखरी खन्ने, मकै गोडमेल गर्नेलगायतका काममा सहभागी थिए । तर, उनीसँगै संसर्गमा पुगेका सबैको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । 

प्रकाशित: २३ जेष्ठ २०७७ १८:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App