१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

तीन-चार दिनको बाटो पार गर्न २७ दिन

कोरोना कहर

गाडीमा चढेर यात्रा गर्दा खोटाङबाट भारतको आगरा बढिमा तीन-चार दिनको बाटो हो । तर, कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको लकडाउनका कारण केपीलासगढी गाउँपालिका–४ बाक्सिला हल्कुमका राजु राईलाई आगराबाट गाउँ आइपुग्न २७ दिन लागेको छ । गत मे २ तारिख (बैसाख २० गते) आगराबाट हिँडेका राजु जेठ १६ गतेका दिन बाक्सिला आइपुगेका छन् ।

 रुपन्देहीको सुनौली नाकाबाट भित्रिएका राई २४ औं दिन राती सिराहाको मिरचैयाँ आइपुगेका थिए । मिरचैयाँमा पनि दुई दिन अल्झिएर गाउँ पुगेका राई बाक्सिलास्थित पृथ्बी माबिको क्वारेन्टीनमा बसिरहेका छन् । ‘सरासर हिँड्न पाउँदा दुई/तीन दिनको बाटो हो, तर झण्डै महिना दिन लाग्यो,’ राईले भने, ‘घर पुगेकै छैन, सरारसर आएर गाउँपालिकाको क्वारेन्टीनमा बसिरहेको छु ।’  

लकडाउनकैबीच आगराबाट रुपन्देहीको बेलहिया (सुनौली) नाका आइपुगेका उनी त्यही १० दिन अड्किएका थिए । आगरामै केही दिन विताएका उनी सहितका नेपालीलाई भारतीय प्रहरीले गाडीमार्फत उनीहरुलाई सुनौली ल्याएर छाडिदिएका थिए । अलपत्र अवस्थामै पुःन भारतीय प्रहरीले भारतीय क्षेत्रबाटै उनीहरुलाई सुनौलीबाट सियारी गाउँपालिका पु¥याएर छाडिदिए ।

 सियारी गाउँपालिकामा ११ दिन बसेपछि सोही गाउँपालिकाले पुर्व झापाका नागरिकलाई गाउँ पठाउने भएपछि उनी सोही गाडीमार्फत मिरचैयासम्म आइपुगेका थिए । उनीसँगै काम गर्ने झापाका युवाहरु थिए । मिरचैयासम्म तिनै साथीसँग यात्रा गरेका राई त्यहाँबाट खोटाङ भित्रिने सवारी साधन पर्खेर गाउँ आइपुगेका हुन् । उनी कम्तीमा क्वारेन्टीनमा १४ दिन बसेपछि घर फर्कने तयारीमा छन् ।  

राई पाँच/छ महिना अघि रोजगारीका सिलसिलामा आगरा पुगेका थिए । भिभो कम्पनीमा काम गरिरहेको अवस्थामा कोरोनाका कारण भारतमा लकडाउन लागू भएपछि उनी घर फर्केका हुन् । तर, आगरा जाँदा जति सहजता थियो, फर्कँदाको यात्रा कष्टप्रद बन्यो । कष्ट खेप्ने उनी मात्र थिएनन् । विभिन्न जिल्लाका सयौं नेपाली थिए ।  

सुनौलीदेखि सियारी गाउँपालिकासम्म सम्वन्धित स्थानीय तहले खाने वस्ने व्यवस्था मिलाएकाले उनीहरुलाई आर्थिकरुपमा केही सहज भयो । तर, चाहेको खाना, खाजा खानका लागि आफैले व्यवस्था गर्नुपर्ने भएकाले कम्पनीमा काम गरेर ल्याएको धेरैजसो पैसा बाटैमा सकिएको राईले बताए । 

प्रकाशित: २१ जेष्ठ २०७७ १४:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App