६ वैशाख २०८१ बिहीबार
समाज

मनकारी किसानको उदाहरणीय काम

लकडाउनका कारण खेतबारीमा फलेको तरकारी नविकेर नष्ट गरिएको घटनाहरु धेरै सार्वजनिक भइरहेको बेला भक्तपुरका एक किसान परिवारले भने सवैका लागि उदाहरणीय काम गरेर देखाइदिएका छन् । खेर जाने तरकारीलाई सहरमा ल्याई उनीहरुले लकडाउनपीडित परिवारहरुलाई निःशुल्क वितरण गरेका छन्, त्यो पनि सामाजिक दुरी कायम गरी ।  

भक्तपुर नगरपालिका वडा नं ८ लिवाली घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ८ सिपाडोलमा वन्दाकोपी (बन्दा) लगाएका किसान सुविन सितिखूको परिवारले खेतमा खेर जाने बन्दालाई भक्तपुरको मुख्य बजार टौमढी पाँंचतल्ले मन्दिर र च्याम्हासिंहमा ल्याई लकडाउन पीडित परिवारहरुलाई निःशुल्क वितरण गरेका हुन् । टौमढी र च्याम्हासिंह दुई ठाउँंमा सामाजिक दुरी कायम गरी गोलोगोलो बनाई त्यसभित्र प्लाष्टिकमा पोका पारिएका बन्दाको एकएक पोका राखी मनपरेका पीडित परिवारहरुलाई उनको परिवारले निःशुल्क वितरण गरेका हुन् ।  

पर्यटन व्यवसायीसमेत रहेका किसान सुविनले परिवारको सहमति अनुसार आठ आना क्षेत्रफलमा रहेको सवै बन्दालाई सहरका दुई ठाउँंमा प्याष्टिकभित्र पोकापोका राखी निःशुल्क वितरण गरेको जानकारी गराए । ‘खेतमा त्यतिकै खेर जान दिनु वा निकै सस्तोमा वेच्नु भन्दा बजारमा ल्याई सितैमा दिनु उतम कार्य होला भनी हामीले यो काम गरेका हौं, उनले नागरिकसँंग भने, ‘लकडाउनको यो वीचमा के नौलो काम गरौ भन्ने लागेको थियो, यही नै गरियो । यसले एकातिर पीडितलाई राहत मिलेको छ भने अर्काेतिर खेर जाने तरकारीको सदुपयोग भएको छ ।’

यो कामका लागि उनको परिवारले थप खर्च व्यहोर्नुपरेको छ । खेतबारीदेखि बजारसम्म ल्याउन गाडीको भाडा एक हजार, प्लाष्टिकमा पोकापोका पार्न प्लाष्टिक खर्च दुई हजार जति र चार जना कामदारको खर्च उनीहरुले गरेका हुन् । परिवार नै सवै मिलेर उनीहरुले खेतबाट बन्दा काट्ने, मोटरबाटोसम्म ल्याउने, प्लाष्टिकमा प्याकिंग गर्ने, गाडीमा लोड गर्ने, सहर ल्याई अनलोड गर्ने, बजारको खुल्ला ठाउँंमा सामाजिक दुरी कायम गरी गोलोगोलो लेख्ने, त्यो गोलोगोलोभित्र एउटाएउटा पोका बन्दा राख्ने अनि वितरणमा सहयोग गर्ने काममा उनीहरुले थप खर्च गरेका हुन् । यसबाहेक कुत (भाडामा लिएको) मा लिएको जग्गाको तिरो जग्गाधनीलाई तिर्नेलगायतका सामान्य खर्च उनीहरुको अर्काे खर्च हो ।  

किसान सुविनले मंगलबार दुई ठाउँंमा गरी एक सय पोका जति वन्दा निःशुल्क वितरण गरेको जनाए । प्रतिपोका १० देखि १५ केजीको बनाएको उनीहरुले बताए । यसअघि यो भन्दा बढी पोका बनाएकोमा पीडितले एक्लैले ठूलो प्लाष्टिकको पोकाभित्रको बन्दा घरघर लान असजिलो बनाएको बताएकोले यो पटक केही सानोसानो पोका बनाएको उनीहरुले बताए । ‘‘हामीले व्यवसायिक रुपमा प्रयोग गर्ने होटललगायतबाट आएकालाई दिएनौ, उनले थपे, ‘बरु हेर्दा समस्यामा परेका जस्तो लाग्नेलाई मात्रै दियौं ।’ यसअघि पनि उनीहरुले भक्तपुरकै दतात्रय चोकमा हप्तादिन अघि यसरी बन्दा निःशुल्क दिएका थिए ।  

उनीहरुको यो उदाहरणीय कामबाट तरकारी विकेन भनी कुहाउन लगाउने, तरकारी विकेन भनी सडकसडकमा फाल्न ल्याई घुर्की देखाउने, तरकारी पुरेर सामाजिक सञ्चाल फेसबुकमा राखेर घुर्की देखाउनेहरुलगायतको लागि यो पाठ भएको छ । लकडाउनका कारण यहाँंका खेतबारीको तरकारी निकै सस्तोमा वेच्न किसान बाध्य छन् ।  

 

 

 

प्रकाशित: २१ जेष्ठ २०७७ ०७:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App