१६ चैत्र २०८० शुक्रबार
समाज

मालपोत अधिकृतसँग १० करोड अवैध सम्पत्ति

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनीन रुपमा १० करोड २७ लाख रुपैयाँभन्दा बढीसम्पत्ति आर्जन गरेको भन्दै भूमिसुधार तथा मालपोत कार्यालय लखनखेल ललितपुरका मालपोत अधिकृत बद्रीराज ढकालविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।  

खरिदारबाट निजामती सेवा प्रवेश गरेका ढकालका नाममा रहेको १४ करोड ५३ लाख ८२ हजार रुपैयाँमध्ये १० करोड २७ लाख ५८ हजार रुपैयाँ भ्रष्टाचार गरी कमाएको पाइएपछि मुद्धा दायर गरिएको हो। अख्तियारले ढकालसँगै उनकी पत्नी सिर्जना अर्याल ढकाल, सम्पत्ति लुकाउन सहयोग गर्ने जेठान नाताका नवराज अर्यालसमेतलाई प्रतिवादी कायम गरी मुद्दा दायर गरेको छ।  

निजामती सेवा प्रवेशपछिको अधिकांश समय विभिन्न मालपोत कार्यालयमा बिताएका ढकालले भ्रष्टाचार गरेर आफ्ना टाढाका नातेदारका नाममा समेत सम्पत्ति लुकाएको भेटिएको छ। अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार उनले आफू, आफ्ना परिवारका सदस्य र नातेदारहरुका नाममा सम्पत्ति राखेको, गाडी किनेको पाइएको छ। ‘ढकालले सार्वजनिक सेवामा प्रवेश गरेपछि आफू र परिवारका सदस्यका नाममा सञ्चालित बैंक खाताहरुमा खासै कारोबार नदेखाए पनि साली नाताकी व्यक्तिका नाममा सवारीसाधन खरिद गरी प्रयोग गरेको पाइयो,’ प्रवक्ता कोइरालाले भने, ‘अवैध कारोबार लुकाउने उद्देश्यले उनले हाल अस्ट्रेलिया बसोबास गर्दै आएका जेठान नाताका नवराज अर्यालका नाममा जनता बैंकमा नयाँ खाता खोली रकम जम्मा गरेको भेटिएको छ।’ 

अख्तियारका अनुसार ढकालले जेठानका नाममा खाता खोलेकै दिन उनबाट खाता सञ्चालनको अनुमति लिई आफूअनुकूलका व्यक्तिबाट पैसा जम्मा गराएका थिए। उनले खातामा मौज्दात रकमबाट आफूले खरिद गरेका जग्गाको कारोबारसँग सम्बन्धित व्यक्तिहरुलाई भुक्तानी तथा खर्च लगानी गर्न उक्त खाताबाट ४ करोड २६ लाख ९९ हजार २ सय ९४ रुपैयाँ विभिन्न शीर्षकमा खर्चसमेत गरेका थिए।  

अख्तियारका अनुसार २०५५ सालमा खरिदारबाट सेवा प्रवेश गरेका ढकाल नायबसुब्बा र शाखा अधिकृत हुँदासम्म तनहुँ, कास्की, पर्सा, काठमाडौं, ललितपुरलगायत जिल्लाका मालपोत कार्यालयमा कार्यरत थिए। उनले सोही अवधिमा विभिन्न अनियमितता गरी सम्पत्ति आर्जन गरेको अख्तियारको ठहर छ।

सार्वजनिक पदको दुरुपयोग गरी कमाएको सम्पत्ति जफत र हदैसम्मको सजाय माग गर्दै अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर

ढकालले तनहुँ जिल्ला मालपोत कार्यालयमा रहँदा आयस्रोत बढाउन सोही जिल्लावासी डेकबहादुर गुरुङलाई प्रभावमा पारी उनी र उनकी पत्नीसमेतको नाममा दर्ता कायम रहेका जग्गा खरिदबिक्री कारोबार नै नगरी न्यूनतम मूल्य तिरेर आफ्नो नाममा ल्याएर महँगो मूल्यमा बेचेको देखाएका थिए। जसअनुसार उनले १ लाख ९७ हजार रुपैयाँ लगानी गरेको र १ करोड ६८ लाख रुपैयाँ आर्जन गरेको देखाएका थिए।  

सेवा प्रवेश गरेदेखि २०७६ फागुन मसान्तसम्मको अवधिमा ढकाल र उनकी पत्नीले घरजग्गा खरिदमा ४ करोड ५४ लाख १७ हजार रुपैयाँ, घर निर्माण र फर्निचरलगायतमा १ करोड १ लाख ५३ हजार रुपैयाँ, पुँजीत लाभ तथा आयकर ७ लाख ९० हजार रुपैयाँ, बैंक तथा वित्तीय संस्थाको साधारण तथा संस्थापक सेयर खरिदमा १ करोड ११ लाख ४६ हजार रुपैयाँ, छोराछोरीको अध्ययनमा १ लाख ६० हजार रुपैयाँ, जीवन बिमा प्रिमियम शुल्कमा ९ लाख २४ हजार रुपैयाँ खर्च तथा लगानी गरेको देखिएको छ। त्यसैगरी बैंक तथा वित्तीय संस्थाहरुमा कर्जा चुक्तामा ६४ लाख ६३ हजार रुपैयाँ, सवारीसाधन खरिदमा २८ लाख २२ हजार रुपैयाँ, सरसापट व्यवहारमा २० लाख रुपैयाँ, जेठान नाता पर्ने नवराज अर्यालका नाममा बैंक खाता खोली खाता प्रयोग गर्ने अधिकार आफूले लिई स्रोत नखुलेको मौज्दात रकमबाट ४ करोड २६ लाख ९९ हजार रुपैयाँ, साथमा रहेको नगदसमेत २ करोड २४ लाख २६ हजार रुपैयाँ, विदेश भ्रमणमा ९२ हजार रुपैयाँ, बैंकमा जम्मा रकम २ लाख ६८ हजार रुपैयाँ गरी जाँच अवधिसम्म उनले १४ करोड ५३ लाख ८२ हजार रुपैयाँबराबरको सम्पत्ति आर्जन गरेको देखिएको छ।  

सोही अवधिमा ढकालले पारिश्रमिक तलब एवं विभिन्न अतिरिक्त भत्तालगायत बचतबाट ४९ लाख ४४ हजार १ सय ६० रुपैयाँ, पत्नीको पारिश्रमिक बचत ७७ हजार, वैैदेशिक बचत आय १ लाख रुपैयाँ, कर्मचारी सञ्चय कोषबाट लिएको कर्जा ६८ लाख ९१ हजार रुपैयाँ, घर बिक्रीबाट १ करोड १५ लाख रुपैयाँ, जग्गा बिक्रीबाट १ करोड ८ लाख ६७ हजार रुपैयाँ, सेयर बिक्रीबाट ६ लाख ९९ हजार रुपैयाँ, सवारीसाधन बिक्रीबाट १२ लाख ९६ हजार रुपैयाँ र कृषि आयमा १ लाख रुपैयाँ गरी चार करोड २६ लाख २४ हजार रुपैयाँ आय आर्जन गरेको देखिएको छ।  

अख्तियारका प्रवक्ता कोइरालाले उक्त अवधिमा ढकालले स्रोत पुष्टि हुने आय चार करोड २६ लाख २४ हजार रुपैयाँ र सम्पत्ति १४ करोड ५३ लाख ८२ हजार रुपैयाँ देखिएको हुँदा स्रोत नखुलेको १० करोड २७ लाख ५८ हजार रुपैयाँ भ्रष्टाचार गरी कमाएको पाइएको बताए। अख्तियारले सार्वजनिक पदको दुरुपयोग गरी आर्जन गरिएको गैरकानुनी सम्पत्ति जफत र हदैसम्मको सजाय मागसमेत गरेको छ। 

प्रकाशित: २१ जेष्ठ २०७७ ०१:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App