१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

अस्पताल नलगी धामीकहाँ पुर्‍याउँदा बच्चासहित सुत्केरी महिलाको मृत्‍यु

दिलीप पौडेल, बाग्लुङ,फागुन २३- बोवाङ-४ भूजी गाउँकी लक्ष्मी विकलाई सुत्केरी व्यथा लागेको ४८ घण्टा पुगी सकेको थियो। व्यथा लागेको दुई दिनपछि मात्र उनले घरपरिवारलाई आफ्नो समस्या सुनाइन्।


प्रसव व्यथाले तड्पिएकी विकलाई परिवारले अस्पताल ल्याउनुपर्नेमा घरमै धामी झाँक्री बोलाएर झारफुक गरे। झाँक्रीले पनि स्वास्थ्य संस्थामा पठाउनुको साटो लागो, मरेडाइनी लागेको भन्दै कुखुराको भाले उडाएर काटे बच्चा पैदा हुने सुझाए।

गत बुधबारदेखि सुत्केरी व्यथाले तड्पिएकी लक्ष्मीको समयमा उपचार नपाएर आइबार राति मृत्यु भएको छ। व्यथा लागेको पाँच दिनमा बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रतर्फ ल्याउँदै गर्दा बाटोमानै मृत्यु भएको भाई जुनकुमार विकले बताए। व्यथा लागेपछि घरपरिवारले धामी झाँक्री गर्न लागेर अस्पताल नल्याएको उनले बताए।

'दिदीले व्यथा लाग्यो भनेपछि घरमै भाले उठाएर काटेछन्, 'विकले भने, 'गाउँका र घरपरिवारले गलत सल्लाह दिँदा दिदीको गुमानु पर्‍यो।' 'गाउँकै स्वास्थ्यचौकीमा पनि लगेनछन्,' उनले भने।

बोवाङ जिल्ला सदरमुकादेखि ३६कोष पश्चिममा पर्छ। बोवाङबाट बुर्तिवाङ आईपुग्न करिव ८ घण्टा लाग्छ। चेतना अभावले दुर्गम गाउँकी ती महिलाको अकालमा ज्यान गएको चिकित्सकले बताएका छन्। सुत्केरी व्यथा लागेपछि समयमा अस्पताल नल्याउँदा विकको मृत्यु भएको बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रका डा.जीवन थापाले बताए।

'जनचेतना अभावमा महिला र बच्चाको ज्यान गयो,' थापाले भने,'व्यथा लागेपछि अस्पताल ल्याएको भए बच्चालाई बचाउन सकिने थियो।' अस्पताल ल्याई पुर्‍याउँदा महिलाको बच्चा अड्केको र अत्याधिक रक्तश्राव भएर मृत्यु भएको चिकित्सले बताए।' पक्का व्यथा ल्याएपछि सुरक्षित सुत्केरी गराउन अस्पतालमा ल्याउनु पर्छ,' उनले भने,' अत्याधिक व्यथा लागेको पहिलो दिनमानै ल्याउनुपर्नेमा ढिला गरी घरबाट हिडाउँदा बाटोमै मृत्यु भयो।' ती महिलाको पहिलो बच्चा हो।

बोवाङ गाविसमा अधिकांश दलित बस्ती रहेकोले त्यहाँका महिलाले नियमित स्वास्थ्य जाँच गराउने नगरेको डा. थापाले बताए। 'हरेक महिला गर्भवती भएपछि चार पटक जाँच गराउनु अनिवार्य हुन्छ,' उनले भने,' ती महिलाले एक पटकपनि परिक्षण नगराएको पाइयो।'
बोवाङका अधिकांश महिलाले घरमै बच्चा जन्माउने गराएका छन्। सरकारले मातृ तथा बालमृत्यु दर घटाउनकोलागि स्वास्थ्य संस्थामा सुत्केरी गराए १ हजार रुपैयाँसहित निःशुल्क प्रसुती गराउने गरेको छ। शिक्षाको अभावमा त्यहाँका महिलाले सेवा लिन आउने गरेका छैनन्। 'एक पटक मरे फेरी पाए हुन्छ भन्ने प्रचलन छ,' डा. थापाले भने,' सो क्षेत्रमा चेतना अभिबृद्धि गर्नु आवस्यक छ।'

चार बर्षदेखि विदेशमा रहेका मृतक वि.क.का पति श्रीलाल श्रीमति सुत्केरी हुने समय आएपछि स्याहार सुसार गर्न घरमै आएका थिए। तर, उनलेपनि आमा,बाबु र छरछिमेककै सल्लाह मान्दा श्रीमति गुमाए। 'टोलछिमेकमा सवैले घरमै बच्चा जन्मिन्छ भनेपछि समयमै अस्पताल ल्याईन,' उनले भने,'अहिले यो अवस्था भोग्नु पर्‍यो।' श्रीमतिले सहज रुपमा बच्चा जन्माएपछि विदेश जाने योजना बनाएका पति अहिले पश्चाताममा छन्।

प्रकाशित: २२ फाल्गुन २०६८ १२:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App