७ वैशाख २०८१ शुक्रबार
समाज

न्यातपोल जिर्णोद्धारमा महिला मुस्कान

भक्तपुरको न्यातपोल मन्दिर जिर्णोद्धारमा खटिएका महिला । तस्बिर: उपेन्द्र लामिछाने

भक्तपुरको  पाँचतले न्यातपोल मन्दिरको अग्रभागमा ढुंगाका पहलमान, हात्ती, सिंह, शार्दुल र देवताका आकर्षक मूर्ति छन् । तिनको शक्तिका बारेमा विभिन्न मिथक सुनिन्छ । सवैभन्दा तलका पहलमानको शक्ति सामान्य मान्छेको भन्दा १० गुणा बढी हुन्छ । पहलमानको भन्दा १० गुणा बढी सिंहको र त्यो भन्दा १० गुणा बढी शार्दुलको अनि देवताको शक्ति शार्दुलभन्दा १० गुणा बढी मानिन्छ । र, सवैभन्दा माथी मन्दिरभित्र रहेकी शिद्धीलक्ष्मीको शक्ति भने देवताको भन्दा १० गुणा बढी रहेको जनविश्वास छ ।  

तिनै शक्तिशाली देवी शिद्धीलक्ष्मीको मान्दिर अर्थात न्यातपोल जिर्णोद्धारमा भक्तपुरका महिला साहसका साथ जुटेका छन् । कोरोनाका कारण लकडाउनले घरभित्र थुनिएर बसेका महिला सांस्कृतिक धरोधर ठडाउने काममा हातेमालो गर्न पाएकामा हर्षित देखिन्थे । शक्तीकी देवी शिद्धीलक्ष्मीको मन्दिर न्यातपोलको  जिर्णोद्धारमा खटिएका भक्तपुरका नारीको मुस्कान सवैभन्दा शक्तिशाली देखिन्थ्यो ।  

न्यातपोल मन्दिर

बिस्केटको रथ समेत तान्न नपाएका नगरका महिला तथा पुरुषको संयुक्त प्रयासले यतिबेला सांस्कृतिक सम्पदा पुननिर्माणमा गति लिएको छ । जात्राको लिंगो ठड्याउन नपाए पनि उनीहरूले सांस्कृतिक सम्पदाका धरोहर ठड्याउँदै छन् ।  

पटकपटकका महाभूकम्पमा समेत जोगिएको नेपाल सम्बत ८ सय २२ मा  निर्माण भएको ३१९ वर्ष पुरानो मन्दिरको कात्तिकबाट जिर्णोद्धार सुरु भएको हो । विगत दुई सातादेखि भने प्रसिद्ध मन्दिरको छाना छाउने काम सुरू भएको छ । जसमा नगरका पुरुषसंगै महिलाको पनि उल्लेख्य सहभागिता रहँदै आएको छ ।  

करिब ६ महिनामा निर्माण सकिएको भनिएको एक सय आठ फिट उचाइ भएको यो मन्दिर भक्तपुरबासीको मात्र हैन सिंगो सभ्यताको धरोहर हो । यसको पुनःनिर्माणका लागि भक्तपुर नगरपालिकाले करिब ६५ लाख आर्थिक सहायता  गरेको न्यातपोल मन्दिर संरक्षण कार्ययोजना उपभोक्ता समितिका अध्यक्ष केशव तमखुले जानकारी दिए ।  

मन्दिर जिर्णेद्धारमा स्थानीयको सक्रिय सहभागिताले काम छिटो मात्र हैन, यसको दिगो संरक्षणमा समेत उल्लेख्य प्रभाव पर्ने उनले बताए । ‘नगरका महिला जात्रापर्वमा रमाउने मात्र हैन, सांस्कृतिक सम्पदा जोगाउन पनि उत्तिकै सक्रिय छन् भन्ने सन्देश दिएको छ,’ उनले भने, ‘महिला र पुरुषको संयुक्त कार्यले सम्पदा निर्माणको रथ झनै अघि बढेको छ ।’  

प्रकाशित: २० जेष्ठ २०७७ १०:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App