८ वैशाख २०८१ शनिबार
समाज

क्वारेन्टिनमा आउनेको खुल्ला मैदानमा बास

खजुरा गाउँपालिका वडा नम्बर ५ स्थित नेरा राष्ट्रिय प्राथमिक विद्यालय बसन्तपुरको क्वारेन्टिनमा राति चौरमा सुतिरहेका युवा । तस्बिर सौजन्यः गणेश राई

बाँके नरैनापुर क्वारेन्टिनमा गत साता झाडापखाला लागेर २४ वर्षे युवकको मृत्यु भयो । मृत्यु भएपछि उनको परीक्षण गर्दा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । नरैनापुर दीपेन्द्र प्राथमिक विद्यालयको क्वारेन्टिनमा बसेका उनको मृत्यु कारण कोरोना नभएर समयमै उपचार नपाउनु मुख्य कारण थियो । नरैनापुर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मोइन खाँका अनुसार युवकलाई राती एक्कासी ज्वरो, झाडापखाल लगायत लक्षण देखिएको थियो ।  

तर उनले समयमै उपचार पाएनन । उनको स्वास्थ्यमा समस्या आउँदा क्वारेन्टिनमा स्वास्थ्यकर्मी भने थिएनन् । उनलाई उपचारका लागी नेपालगन्ज ल्याउन समयमै एम्बुलेन्स व्यवस्थापन गर्न सकिएन । बिरामी भएर छटपटाइ रहेका बेला उनलाई सहयोग गर्ने कोहि थिएनन । उपचार गर्नका लागि एम्बुलेन्सको व्यवस्था गर्नेबेला सम्म आफ्नो साथीको भैसकेको बताउँछन दीपेन्द्र मावि प्राथमिक विद्यालयको क्वारेन्टिनमा बसिरहेका एक युवक । उनीहरु सँगै भारतको मुम्बइबाट फर्केका थिए ।  

बाँके खजुरा गाउँपालिका गोगिनी उच्च मावि गौघाटको क्वारेन्टिनमा बसेकाले १० दिन सम्म भारतबाट आएकाहरुको परीक्षण हुन नसकेको गुनासा गरे । क्वारेन्टिमा बसेका स्थानीय चेत बहादुर बुढाले क्वारेन्टिनमा पानी पिउनका लागि एउटा जग समेत नभएको बताए । उनले भने, ‘एउटा कोठामा ११ जना सुत्न परेको छ । सित्दा अन्य साथीको खुटा टाउकोमा पर्छ । अनि कसरी सोसियल डिस्टेन्स कायम गर्ने । आएको १० दिन बित्यो । परीक्षण भएको छैन । यदि कसैलाई भाइरस संक्रमण देखियो भने त क्वारेन्टिनमा भएका सबै संक्रमित हुने खतरा छ ।’  

कतिपय क्वारेन्टिनमा बसेकालाई उचित वस्ने व्यवस्था समेत नहुँदा खुल्ला चौरमा बस्नु परेको छ । भारतबाट  आउने युवाहरु बस्ने वेड नहुँदा गर्मीको समयमा राती स्कुलको मैदानमा सुत्ने गरेका छन ।  

योगिनी मावि गौघाटको मात्र होइन प्रदेश नम्बर ५ का अधिकाश क्वारेन्टिन व्यवस्थापन दयनिय छ । स्थानीय तहले व्यवस्थापन गर्न नसकिरहेका बेला भारतबाट आउनेको संख्या बढदो छ ।

स्थास्थ्य निर्देशनालय प्रदेश नम्बर ५ का अनुसार बाँकेका आठ स्थानीय तहमा ९३ स्थानमा क्वारेन्टिन छन । ९३ क्वारेन्टिनमा १ सय १५ वेड संख्या छ । जहाँ ३ हजार ८ सय ९४ जना बसिरहेका छन । वेड संख्या भन्दा क्वारेन्टिनमा बस्नेको संख्या बढि छ । भारतबाट आउने संख्या बढदै गैरहेको बेला व्यवस्थापन भने झन खस्कदो छ ।  

स्थानीय तहको कमजोर व्यवस्थापनका कारण क्वारेन्टिनबाटै संक्रमण फैलने उच्च जोखिम देखिएको बताउँछन गौघाट क्वारेनटाइन व्यवस्थापनमा खटिएका राजकिशोर महतारा । उनले भने, ‘क्वारेन्टिनमा बसेकालाई बृद्ध, दिर्गरोगी, बालबालिकाले खाना लिएर आउँछन । उनीहरु खाना लिएर आउँदा झन जोखिम देखिएको छ । यसले त झन समुदायमा कोरोना संक्रमणको खतरा बढाएको छ ।’  

यसैगरी कोहलपुरको क्वारेनटाइनमा बसेकाले पनि न्युनतम पनि सुबिधा नभएको गुनासो गरेका छन् । बाँकेका आठ वटै स्थानीय तहले भारतबाट हालै फर्केका ब्यक्तिलाई क्वारेन्टिनमा राखेका छन् । तर अधिकाशको व्यवस्थापन फितलो छ । कोहलपुरस्थित त्रिभुवन माध्यामिक बिद्यालयको क्वारेन्टिनमा बसिरहेका ब्यक्तिले न्युनतम पनि सुबिधा नभएको गुनासो गरे । क्वारेनटाइनमा बसेकाले गर्मी मौसममा पर्याप्त मात्रामा पंखा नभएको, शौचालयको ढोका नभएको, खानेपानी सुबिधा नभएको, खाना र नास्ता घरबाटै ल्याएर खानु परेको जस्ता गुनासो गरेका छन । ‘चर्को गर्मी भएपनि कोठाभित्र पर्याप्त मात्रामा पंखाको ब्यवस्था छैन, शौचालयको ढोका नहुँदा दुर्गन्ध सहेरै बसिरहेका छौं,’ एक ब्यक्तिले भने ‘जनप्रतिनिधिलाई समस्या सुनाउँदा उल्टो आक्रोशित हुन्छन् ।’

क्वारेन्टिनको कमजोरी सुधार्न पटक–पटक नगरपालिकाको ध्यानाकर्षण गराउँदा पनि सुनुवाई नभएको उनले बताए । क्वारिन्टिनमा बसिरहेका ब्यक्ति कोहलपुर नगरपालिका वडा नम्बर १० का स्थायी बासिन्दा हुन् । अहिलेसम्म घरबाट ल्याएको खाना र नास्ता खाने गरेपनि अब त्यो पनि सम्भव नहुने उनीहरु बताउँछन् । ‘अहिलेसम्म त घरबाटै ल्याएको खाना र नास्ता खाइरहेका छौ, अब त त्यो पनि सम्भव देखिएको छैन, किनकी घर परिवारका सदस्य पनि अब खाना र नास्ता ल्याएर क्वारेन्टिनसम्म आउन सक्ने स्थिती छैन, छिमेकीले नै नराम्रो दृष्टिकोणले हेर्न थालिसके,’ उनीहरु भन्छन् ।  

कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावत आफुहरुको क्षमताले भ्याएसम्म क्वारिन्टिन ब्यवस्थापन गरिरहेको बताउँछन् । ‘हामीले प्रत्येक क्वारेन्टिनमा एउटा म्याट र झुलको ब्यवस्था गरिदिएका छौं,’ उनले भने ‘उहाँहरु वडाकै बासिन्दा भएकाले घरबाट ल्याएको खाना खाने निर्णय गरेका छौं, कतिपय वडामा घरबाट खाना ल्याउँदा पनि सहज नदेखिएपछि वडामै मेस चलाउन सुरु गर्नु भएको छ भन्ने कुरा सुनेको छु,’ उनले भने । प्रदेश ५ का १२ जिल्लाका १ हजार ४ सय ८७ स्थानमा क्वारेन्टिन संचालन गरिएको छ । ति क्वारेन्टिनमा ४५ हजार ७ सय ४९ वेड संख्या छ  ।  

प्रदेश ५ को सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालय रुपन्देहीका अनुसार आइतबार सम्म प्रदेशभरका क्वारेन्टिनमा ३९ हजार २ सय ६८ जना बसिरहेका छन् ।  

क्वारेन्टिन सञ्चालन गरिरहेका नगरपालिका र गाउँपालिकाले भने पर्याप्त बजेट नभएको गुनासो गरिरहेका छन् । संघिय सरकारले यसका लागि बजेट ब्यवस्था गरिदिनुपर्ने नगरपालिका र गाउँपालिकाले बताउने गरेका छन् ।  

 

 

 

 

 

प्रकाशित: १९ जेष्ठ २०७७ १६:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App