१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

कोरोना संक्रमणबाट घेरिँदै पोखरा

गण्डकी प्रदेशका विभिन्न जिल्लामा कोराना संक्रमित युवा भेटिएसँगै प्रदेश मुकाम पोखरा पनि कोरोना भाईरसको संक्रमणबाट घेरिँदै गएको छ। प्रदेश राजधानी भएकै जिल्ला कास्कीमा भने अहिलेसम्म संक्रमित फेला परिसकेका छैनन। तर, छिमेकी जिल्लाहरु स्याङजा, तनहुँ र लम्जुङमा बिरामी फेला परिसकेका छन्।  

पोखरा हुँदै विभिन्न जिल्लाका लागि आउजाउ गर्नेको संख्या प्रयाप्त रहेकाले पनि पोखरा झनै बढी जोखिममा रहेको स्वास्थ्यकर्मीको भनाई छ। पोखराई नै ट्रान्जिट बनाएर आउजाउ गरेकोले संक्रमणको त्रास उत्तिकै रहेको उनीहरुको भनाई छ।  

प्रदेशका कास्की, पर्वत, गोरखासँगै दुईवटा हिमाली जिल्ला मनाङ र मुस्ताङमा अझैसम्म संक्रमण देखिएको छैन। तर, भारतबाट धमाधम घर फर्किरहेका युवाका कारण अहिलेसम्म संक्रमण नदेखिएको जिल्लामा पनि कोरोना संक्रमण फैलिने त्रास बढेको स्वास्थ्यकर्मीले बताएका छन्।  

प्रदेशका विभिन्न ६ जिल्लामा अहिलेसम्म संक्रमण पुष्टि भईसकेको छ। ती जिल्लामा अहिलेसम्म २४ जनामा संक्रमण पुष्टि भएपनि ३ जना निको भईसकेको प्रदेशको स्वास्थ्य निर्देशनालयले बताएको छ। निर्देशनालयका निर्देशक डा. बिनोद बिन्दु शर्माका अनुसार पछिल्लो समय लम्जुङका एकजना बालक पनि कोरोनाबाट मुक्त भएका छन्। यसअघि बागलुङमा दुईजना पनि निको भईसकेका छन्। लम्जुङका भनिएका ती बालक काठमाडौंमै रहँदा संक्रमित भएको र निको पनि भईसकेको उनले बताए।  

आईतबार तनहुँमा एकजना संक्रमित फेला परेका छन्। तनहुँको ऋषिङ गाउँपालिकाको क्वारेन्टिनमा बसेका २८ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। त्यस्तै स्याङजाको गल्याङ नगरपालिकाको क्वारेन्टिनमा बसेका २७ र ४० वर्षका दुईजना पुरुषमा पनि संक्रमण देखिएको थियो। अहिलेसम्म बागलुङमा ८, स्याङजामा ७, म्याग्दी, तनहुँ र लम्जुङमा एक–एक तथा नवलपुरमा ६ जना संक्रमित भेटिएका छन्।  

‘सुरुका दुई बिरामी (बागलुङ) र लम्जुङका बाहेक अरु सबैजना भारतबाट आएकोले कास्कीमा पनि कोरोनाको राप बढेको छ,’ शर्माले भने, ‘अहिलेसम्म कास्कीमा संक्रमण त देखिएको छैन। तर चारैतिरबाट पोखरा घेरिन थालेको छ। संक्रमणको त्रास सबैतिर छ।’ उनका अनुसार तत्कालका लागि हिमाली जिल्ला मनाङ र मुस्ताङमा भने संक्रमण पुग्ने सम्भावना कम छ। तर अरु सबै जिल्लामा जोखिम रहेको उनले बताए। कास्की र पर्वत हुँदै बागलुङ र म्याग्दी पुगेका युवामा पनि संक्रमण देखिएकोले पनि पोखरा उत्तिकै जोखिममा रहेको उनले बताए।  

‘हिमाली जिल्ला भएकोले मनाङ र मुस्ताङका कमै मान्छे भारत गएका हुनसक्छन्। अन्य जिल्लामा जस्तो ती जिल्लामा धेरै भित्रिएका पनि छैनन,’ उनले भने, ‘तर, अरु जिल्लामा भने संक्रमणको त्रास बढेको छ।’ भारतबाट आउने क्रम नरोकिएसम्म संक्रमण बढ्ने उनले बताए। विभिन्न जिल्लामा अहिले पनि भारतबाट नेपालीहरु आउने क्रम जारी भएकोले पनि संक्रमित थपिने सम्भावना रहेको उनले बताए। विभिन्न जिल्लामा भारतबाट युवाहरु भित्रिने क्रम नरोकिएको र उनीहरुमै संक्रमण देखिएपछि संक्रमितको सम्पर्क भएका र सँगसँगै आएका अन्य व्यक्तिको पनि परीक्षण गर्ने तयारी भईरहेको उनले बताए।

तनहुँका जनस्वास्थ्य प्रमुख शंकरबाबु अधिकारी  पनि भारतबाट आएका युवाबाट संक्रमणको त्रास रहेको बताउँछन्। उनका अनुसार जिल्लाका सबैजसो स्थानीय तहले अहिले धमाधम भारतबाट आएका युवालाई क्वारेन्टिनमा राखेका छन्। लामो समयको लकडाउनले भारतमै रोकिएका ती युवाहरु अहिले धमाधम घर फर्किरहेका छन्। घर फर्किएपनि युवाहरुलाई स्थानीय तहले बाहिर खुला नछाडि सिधै क्वारेन्टिनमा लगेर राखेका छन्।

आइतबार संक्रमण देखिएको तनहुँका युवा पनि क्वारेन्टिनमै बसेका थिए। तनहुँको ऋषिङमा घर भएपनि उनी सदरमुकामस्थित ब्यास नगरपालिकामा रहेको आदिकवि भानुभक्त बहुमुखि क्याम्पसको क्वारेन्टिनमा बसेका थिए। ऋषिङ गाउँपालिकाका बासिन्दा भएपनि उनी सदरमुकामको क्वारेन्टिनमा बसेकोले अहिले समुदायमा संक्रमण फैलिने सम्भावना नरहेको अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए ।

 

 

 

 

प्रकाशित: १८ जेष्ठ २०७७ १०:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App