१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

अस्पताल भरिएपछि संक्रमित क्वारेन्टिनमै

गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल राजबिराज। यो अस्पताल संक्रमितले भरिएपछि बाँकी संक्रमितहरु क्वारेन्टिनमा बस्न बाध्य छन्।

सप्तरीको डाक्नेश्वरी नगरपालिकामा ९ जना कोराना संक्रमित थपिएका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको प्रयोगशाला परीक्षणको रिपोर्टमा डाकनेश्वरी नगरपालिमा एक र ८ पुरुष गरी ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए।

संक्रमितहरु डाक्नेश्वरी नगरपालिका अन्तर्गतको क्वारेन्टिनमा बसेकाहरु हुन्। संक्रमित सबैजना भारतबाट आएका १८ देखि ७० वर्ष उमेर समूहका रहेको स्वास्थ्य प्रमुख यादवले बताए। ९ जना थपिएसँगै डाकनेश्वरी नगरपालिकामा कोरोना संक्रमितको संख्या १२ पुगेको नगर प्रमुख शिवनारायण साहले बताए। सप्तरीमा कूल संक्रमितको संख्या ४२ पुगेको छ।

तीन दिनअघि संक्रमण पुष्टि भएका बोदेबरसाईन नगरपालिकाका ९ जना अझै क्वारेन्टिनमै छन। गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालको आइसोलेसन भरिएपछि संक्रमितहरु पालिकाको क्वारेन्टिनमै रोकिन पुगेका हुन। जिल्लामा फोन गर्दा उत्तै व्यवस्थापन गर्नुस भन्छन् बोदेबरसाइन नगरपालिका प्रमुख आतिश सिंहले नागरिकन्यूजसँग भने,‘क्वारेन्टिनमा संक्रमण पुष्टि भैसकेकालाई कसरी राख्नु ? संक्रमितका कारण क्वारेन्टिनमा बसेका अरुमा पनि संक्रमण फैलिने खतरा हुन्छ।’ कोरोना संक्रमण पुष्टि भएकाहरुलाई राख्दा क्वारेन्टिन कोरोनाको कारखाना बन्ने खतरा बढ्दै गएको यस भेगका पालिका प्रमुखहरु बताउँछन्। शनिबार संक्रमण पुष्टि भएका ९ जना अझै क्वारेन्टिनमै रहेको डाक्नेश्वरी नगरपालिका प्रमुख शिवनारयण साहले बताए। उनीहरुलाई तत्काल क्वारेन्टिनमै व्यवस्थापन गर्न जिल्लाले भनिरहेको छ उनले भने,‘संक्रमितलाई क्वारेन्टिनमा राख्दा संक्रमण फैलिने खतरा छ। यस क्वारेन्टिनमा १०७ जना बसेका छन। ९ जनामा संक्रमण पुष्टि भएसँगै क्वारेन्टिनमा त्रास फैलिएको छ।’

संक्रमितको संख्या दैनिक रुपमा बढ्दै गएपनि व्यवस्थापन भद्रगोल छ। जिल्लामा संक्रमितलाई राख्न आइसोलेसन कक्ष नै छैन। गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा २४ जनालाई राखिएपछि वार्ड भरिएको छ। बाँकी संक्रमितलाई सम्बन्धित पालिकाकै क्वारेन्टाइनमै राखिँदा अन्यमा पनि कोरोना संक्रमण फैलिने खतरा बढेपछि पालिका प्रमुखहरु अतालिएका छन्। गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालका प्रमुख डा. चुमनलाल दासकाअनुसार शनिबार साँझसम्म साईकृष्ण टेक्निकल इन्सटिच्युटमा आएसोलेसन बार्ड तयार हुन्छ। त्यसपछि बाँकी संक्रमितलाई सारिने उनले बताए। हत्तारहत्तार आइसोलेसन कक्ष बनाउँदै छौं डा. दासले भने,‘आइतबारबाट यो समस्या दूर हुन्छ।’  

प्रकाशित: १७ जेष्ठ २०७७ ०५:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App