८ वैशाख २०८१ शनिबार
समाज

राहत वितरणमा नयाँ अभ्यास, ‘मामका लागि काम’

कोरोना भाइरसको जोखिम बढेसँगै देश लकडाउनमा छ । लम्बिदै गएको लकडाउनले गरीब, विपन्न, मजदुर एवं आर्थिक रुपमा कमजोर भएकालाई दैनिकी गुजारा गर्न हम्मेहम्मे भएपछि स्थानीय सरकारको समन्वयमा राहत वितरण कार्यक्रम सुरु भएको छ ।

राहत नाममा देशभर विभिन्न स्थानमा भएको घटना सर्वाजनिक भइरहँदा जिल्लामा भने राहत वितरणमा नौलो अभ्यास सुरु भएको छ । जिल्लाको धुलिखेल नगरपालिका वडा नं ४ ले अहिले वडाबासीलाई काममा आधारित राहतका लागि ‘मामका लागि काम’ कार्यक्रम ल्याएको छ ।

वडामा पहिलो चरणमा सुरु भएको राहत कार्यक्रम प्रभावकारी नभएकाले उक्त कार्यक्रम अगाडि सारिएको धुलिखेल नगरपालिका वडा नं ४ का वडाध्यक्ष रविन्द्र कर्मचार्यले बताए । उनका अनुसार लकडाउनले अहिले धेरैलाई बेरोजगार बनाएको छ । यो समयमा वडाबासीलाई टोल विकास कार्यक्रममा सहभागी गराएर उहाँहरुको कामको आधारमा राहत दिन थालिएको अध्यक्ष कर्मचार्यले बताए ।  

‘यो कार्यक्रमले एकातिर नागरिकको घरमा चुलो बल्ने अर्कातिर वडाको विकास पनि हुने,’ कार्यक्रम फलदायी भएको बताउँदै उनले भने, ‘यो कार्यक्रमले वडाबासीलाई काम र माम दुवै दिएको छ ।’ कामदारले वडालाई सहयोग पुर्याएबापत दैनिक साढे सात सयका दरले दैनिक आवश्यक पर्ने खाद्यान्न वितरण गर्ने गरिएको अध्यक्ष कर्मचार्यले बताए ।

वडाबासीको लागि सडक सफा तथा मर्मत, झाडी सरसफाइ, बाटो, कुलो बनाउने जस्ता काम वडाले दुई दिन सञ्चालन गरेको थियो । कामपश्चात उनीहरुलाई चिनी, दाल, नुन, तेल, चामल लगायतका अत्यावश्यक खाद्यन्न सामग्री राहतमा वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।  

‘मामका लागि काम’ राहत कार्यक्रम सञ्चालनमा भएपछि वडामा धेरै परिवर्तन भएको वडा अध्यक्ष रविन्द्र कर्मचार्य बताउँछन् । उनका अनुसार अहिले नागरिक सचेत भएका छन् । आफ्नो गाउँ र टोल आफै बनाउन लागि परेका छन् । वडाले चालेको सानो कदमले वडामा चाँडै विकास र परिवर्तन भएको उनले सुनाए । उनका अनुसार पहिलेको कार्यक्रममा राहत वितरण गर्न निकै कठिनाइ भएकाले सुरक्षाकर्मी समेत परिचालन गर्नु परेको थियो ।  

वडाले ल्याएको काममा आधारित राहत उपलब्ध गराउन थालेपछि राहत लिन आउनेहरु निकै घटेको वडाध्यक्ष कर्माचार्यले बताए । ‘कामपछि राहत उपलब्ध गराउँदा व्यवस्थापन गर्न समेत निकै सजिलो भएको छ,’ उनले भने, ‘पहिला वडाले वितरण गरेको राहत कार्यक्रममा ४ सय ५१ जनाले राहत पाउनुभएको थियो । अहिले यसरी राहत वितरण गर्दा धेरै सहज भएको उनले बताए ।  

स्थानीयको कामको आधारमा राहत वितरण गर्नेमा धुलिखेल नगरपालिकाको वडा नं जिल्लाकै पहिलो वडा रहेको छ । बिनाकुनै संघसंस्थाको सहयोगमा वडाका मनकारी भावना भएका वडाबासी र अरु अन्य व्यक्तिको सहयोगमा राहत वितरण भइरहेको वडा कार्यालयको जानकारी छ ।  

पहिलो चरणको उक्त कार्यक्रममा ५२ जना सहभागी रहेको थियो । पहिलो चरणको कार्यक्रम प्रभावकारी भएसँगै दोस्रो चरणका लागि पनि काम सुरु गर्न लागिएको वडा कार्यालयको जानकारी छ । कार्यालयका अनुसार दोस्रो चरणका लागि पनि ६० जनाले निवेदन दिएका छन् । अहिले दोस्रो चरणको कार्यक्रम सुरु भइरहेको र कार्यक्रम सम्पन्नपश्चात उनीहरुलाई राहत सामग्री वितरण गरिने कार्यालयले जनाएको छ ।

प्रकाशित: १२ जेष्ठ २०७७ ०६:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App