१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बुहारी ल्याउला भनेको, छोराको शव आयो

जाजरकोटको भेरी नगरपालिका–४ की उर्मिला विक शनिवार साँझ बुहारी भित्र्याउने तयारी गर्दै थिइन् । छोरा नवराज बुहारी ल्याउन रुकुम पश्चिमको चौरजहारी गएपछि उर्मिला बुहारी भित्र्याउने चटारोमा थिइन् । तर छोराले बुहारी ल्याउने अपेक्षामा विक परिवारमा एकाएक बज्रपात भयो ।

बिहेका लागि केटी लिन गएका नवराज भेरी नदीमा बेपत्ता भएको खबरले खुसी बाँड्न जम्मा भएका आफन्त र उनको परिवार शोकमा बदलियो । छोरा नदीमा बेपत्ता भएको खबरले उर्मिला बेहोस भइन् ।

२१ वर्षीय नवराज र चौरजहारी नगरपालिका–८ की सुष्मा मल्लबीच वर्ष दिनदेखिको प्रेम सम्बन्ध विवाहमा परिणत गर्ने सहमति भयो । दुवैको सहमति भए पनि केटीका आफन्तले भने दलित केटासँग विवाह गर्न नदिने भन्दै पारिवारिक रूपमा अस्वीकार गरेका थिए ।

तर आफूसँग सुष्माको विवाह गराइदिन नवराज केटीका आफन्तलाई आग्रह गर्दै आएका थिए । विकको छोरालाई छोरी नदिने भन्दै केटीका आफन्तले अस्वीकार गर्दै आएको नवराजका बुबा मोहनले बताए । 

जातकै कारण विवाह गराउन आफन्तले अस्वीकार गरेपछि केटा–केटीबीच भागेर भए पनि बिहे गर्न सल्लाह भएछ,’ उनले भने, ‘दुवैको सल्लाहअनुसार नवराज केही आफन्तलाई साथमा लिएर बिहेका लागि केटी ल्याउन चौरजहारी गएका थिए, बुहारी ल्याउला भन्ने आशामा थियौं तर छोराको शव आयो । मेरो छोरोको हत्यारालाई अब के सजाय हुन्छ ?’

इलाका प्रहरी कार्यालय चौरजहारीका इन्चार्ज प्रहरी निरीक्षक धर्मसिंह बिष्टका अनुसार नवराज केटीको घर नपुग्दै जाजरकोटबाट साथीहरूसहित आएको केटीका आफन्तले जानकारी पाए । छोरी नदिने भन्दै केटी पक्षका आफन्तले उनीहरूलाई लखेटेको थिए । 

चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बरबहादुर मल्लको नेतृत्वमा रहेका स्थानीयले जाजरकोटबाट आएका युवाहरूलाई खलेट्दै केहीलाई नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका थिए भने केही भाग्न खोज्दा भेरी नदीमा बेपत्ता भएको उनले जनाए ।

भेरी नदीमा बेपत्ता भएकामध्ये नवराजको आइतबार बिहान शव फेला परेको र अन्य पाँच जना अहिलेसम्म बेपत्ता भएको प्रहरी निरीक्षक बिष्टको भनाइ छ । उनका अनुसार बेपत्ता हुनेमा जाजरकोटका गणेश विएम, लोकेन्द्र सुनार, गोविन्द शाही, सञ्जु विक र चौरजहारीका टीकाराम विक रहेका छन् । अन्तरजातीय सम्बन्धकै कारण विवाद भएको प्रारम्भिक अनुसन्धानबाट बुझिएको प्रहरीको भनाइ छ ।

बेपत्ता भएकाहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डिएसपी ठगबहादुर केसीले बताए । उनका अनुसार केटा–केटीबीचको सल्लाहमै उनीहरू चौरजहारी आएको बुझिएको छ । त्यो कुरा परिवारका सदस्यले थाहा पाएपछि झगडा भएको केटीपक्षका आफन्तले स्वीकारेको डिएसपी केसीको भनाइ छ । 

घटनामा संलग्न रहेको भन्दै प्रहरीले अहिलेसम्म चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष मल्लसहित १६ जनालाई नियन्त्रणमा लिएको छ । प्रेम–विवाह गर्ने तयारीमा रहेकी सुष्मा, उनका बुबा वीरबहादुर, आमा प्रकाशीका साथै जाजरकोटबाट नवराजको साथमा आएका १२ जना युवालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको डिएसपी केसीले जानकारी दिए ।

कानुनी राज्यलाई चुनौती

जातीय छुवाछुतविरुद्ध कानुन भए पनि व्यवहारमा कार्यान्वयन नहुँदा समस्या अहिले पनि उस्तै रहेको राष्ट्रिय दलित आयोगका पूर्वअध्यक्ष मानबहादुर नेपालीले बताए । जातकै नाममा दलित समुदायका मान्छेले अहिले पनि विभिन्न समस्या झेल्नुपरेको उनको भनाइ छ । गैरदलित नै छुवाछुत अन्त्यका लागि सक्रिय हुनुपर्ने भए पनि उल्टै पीडा दिनु दुखद भएको उनको भनाइ छ ।

रुकुम पश्चिम जातीय छुवाछुत मुक्त घोषणा भए पनि जातीय विभेदका घटनामा कमी नभएको अर्का दलित अधिकारकर्मी प्रविर ददेल बताउँछन् । छुवाछुत गर्नु कानुन उल्लंघन भएकाले उक्त घटनाका दोषीलाई कारबाही गर्न माग गर्दै ददेलले भने, ‘वडाध्यक्षले कानुन कार्यान्वयन गराउनुपर्ने भए पनि आफैं छुवाछुतको घटनामा संलग्न हुनु दुखद् हो ।’

प्रकाशित: ११ जेष्ठ २०७७ २३:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App