१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

शान्त तर डरलाग्दो सन्नाटामा होलेरी

सुनसान होलेरी बजार । तस्बिर:दिनेश/नागरिक

एक दशक लामो माओवादी सशस्त्र द्वन्द्वपछि बिस्तारै तंग्रिन थालेको रोल्पाको होलेरी यतिबेला फेरि सुनसान छ। द्वन्द्वताका बेसरी थलिएको यो ठाउँमा शान्ति स्थापनायताका वर्षहरूमा गर्मी महिनातिर थप भिडभाड हुने गथ्र्यो। विशेषगरी दाङलगायतका बाहिरी जिल्लाबाट गर्मी छल्न पर्यटकहरू होलेरी आउँथे। तर हिजोआज शान्ति स्मारकको मुन्तिर रहेको होलेरी बजार निरस बनेर ठिंग उभिएको छ। दैनिक चल्ने चिसो सिरेटोको स्वाद यसपालि होलेरीबासीले समेत लिन पाएका छैनन्।

 यहाँ शान्त तर डरलाग्दो सन्नाटा छ। एक–दुई दिन नभएर लामो समयसम्म त्रासका बीचमा बस्नु परेपछि स्थानिहरू छटपटिएका हुन्। ‘भारतबाट ठुलो संख्यामा मान्छेहरू आउन थालेको जानकारी पाएपछि स्थानीयमा डर पसेको छ। तर सबैलाई सुरक्षित तरिकाले क्वारेन्टिनमा राख्ने व्यवस्था भइरहेको छ। आत्तिनैपर्ने अवस्था भने छैन,’ स्थानीय गोविन्द पुनले भने, ‘होलेरी बजार भने पहिलेको जस्तै सुनसान भएको छ।’ दाङसँग जोडिएकाले संक्रमणको निकै जोखिममा रहेको यो ठाउँ पश्चिम–दक्षिण रोल्पाको प्रवेश–द्वार हो। 

गत महिना काठमाडौं इँटाभट्टामा मजदुरी गर्नेहरूको ठुलो संख्या होलेरी हुँदै जिल्ला भित्रिएको थियो। त्यो बेला यहाँको गाउँपालिकाले करिब दुई हजार जनालाई क्वारेन्टिनमा राखेर घर पठाइसकेको छ। रुन्टीगढी गाउँपालिकामा पर्ने होलेरीमा फेरि यो पटक भारतबाट आउनेको संख्या बढ्न थालेपछि स्थानीयमा त्रास बढेको हो। यहाँ तीन दिन यता नौ जना आएका छन् भने अरू दर्जनौंको संख्यामा आउने देखिएको छ। 

रुन्टीगढी गाउँपालिकाले आफ्नो क्षेत्रका दुई हजार पाँच सय जनता भारत तथा तेस्रो मुलुकमा रहेको अनुमान गरेको छ। केही दिनभित्र पाँच सयभन्दा बढी स्थानीय गाउँ भित्रिने खबर पाएपछि गाउँपालिकाले क्वारेन्टिनको व्यवस्थापन गर्न थालेको हो। हाल बाहिरबाट आएकाहरूलाई प्राथमिक स्वास्थ्य केन्द्रको भवनमा राखिएको छ भने शान्ति प्रक्रियापछि माओवादी लडाकु राखिएको उघाँ ब्यारेकलगायत ठाउँमा थप तयारी गरिँदैछ।

 केही दिनमै भारतबाट ठुलो संख्यामा भित्रिने स्थानीयलाई मापदण्डसहित सहज व्यवस्थापन गर्न गाउँपालिकालाई सकस पर्ने देखिन्छ। अघिल्लो पटक क्वारेन्टिनमा राखिएकालाई परीक्षणबिना नै घर पठाउन बाध्य भएको स्थानीय तह यो पटक पनि उही समस्या दोहोरिन्छ कि भन्ने चिन्तामा छ।

 ‘अघिल्लो पटक पनि आरडिटीसमेत गर्न पाइएन। यो पटक भारतबाट आएकाहरूको परीक्षण गर्न पाए हुन्थ्यो,’ गाउँपालिकाका अध्यक्ष बालारमा बुढा भन्छन्, ‘संघ वा प्रदेश सरकारले समयमै परीक्षणको व्यवस्था मिलाउनुपर्छ।’ गाउँपालिका अध्यक्ष बुढाका अनुसार भारतको नाकामा मान्छेको ओइरो छ। ‘प्रदेश सरकारले सीमाक्षेत्रमा परीक्षण गराएर पठाउनुपर्ने हो तर उसले त्यहाँ कुनै भूमिका निर्वाह गरेको देखिएन।’ 

प्रकाशित: ११ जेष्ठ २०७७ ०४:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App