१५ चैत्र २०८० बिहीबार
समाज

भारतीय क्वारेन्टिनमा नेपालीको मृत्यु, मेडिकल कलेजलाई कारबाहीको चेतावनी

नौतनवास्थित क्वारेन्टिन

नेपाल–भारत सिमापारि नौतनवा क्वारेन्टिनमा एक नेपालीको मृत्यु भएको छ । रोजागारीको क्रममा भारतको अलिगढमा काम गर्दै आएका स्याङजा निवासी ३२ वर्षीय युवाको नेपाल फर्किने क्रममा मृत्यु भएको हो ।  लकडाउनको समयमा कर्म स्थलबाट जन्मस्थल तर्फ आउदै गर्दा सीमापारीको क्यारेन्टिनमै मृत्यु भएको छ । जेठ ६ गते नौतनवास्थित राजीव गान्धी स्नातोकोत्तर कलेजको क्यारेन्टिनमा रहेका स्याङजाका हरिनाथ नगरपालिका–२ चिसापानीका ३४ वर्षीय देव बहादुर थापाको शनिबार विहान ५ वजे मृत्यु भएको भारतिय प्रशासनले जानकारी दिएको छ ।

 पैदल हिडेर आएका थापा क्यारेन्टिन हुँदा नै स्वास्थ्यमा समस्या देखिएको थियो । क्वारेन्टिन प्रशासनलले जिल्ला सदरमुकाम महाराजगंज अस्पतालमा उपचार गरेर शुक्रबार साझ क्यारेन्टिनमा ल्याइएपछि उनको मृत्यु भएको नौतनवाका एसडिएम जसधिर सिंहले जानकारी दिए । नेपाल प्रवेशको अनुमति नपाउदा क्यारेन्टिन अवधिका लागि उनी सीमावर्ती भारतीय बजार नौतनवाको क्यारेन्टिनमा रहेका थिए । क्यारेन्टिनमा थापा आउँदा नै उनको स्वास्थ्य अवस्था सामान्य थिएन । खुट्टा र अन्डकोष सुन्निएको तथा मृगौला सम्बन्धिको समस्या देखिएकोले उनलाई क्यारेन्टिन राखेर उपचार गरिरहेको भारतिय प्रशासनले जनाएको छ ।

उपचारपछि क्यारेन्टिन आएको नेपालीको मृत्यु भए पछि घटनाबारे भारतिय प्रशासनले नेपालको स्थानीय प्रशासनलाई जानकारी गराई मृतकको शव पोस्टमार्टमका लागि महाराजगंज जिल्ला अस्पतालमा पठाइएको छ । १ सय ३९ जना नेपाली रहेको उक्त क्यारेन्टिनको अवस्थाबारे नेपाली प्रशासनले पनि जानकारी लिएको छ । मृत्यु के कति कारणले भएको हो भन्ने रिपोर्ट शवको पोष्टमार्टमबाट खुल्ने छ । कोरोनाको कारण या अन्य स्वास्थ्य समस्याको कारण मृत्यु भएको हो भन्ने बारे अझै खुलेको छैन ।

मेडिकल कलेजलाई कारबाहीको चेतावनी

मन्त्रालय सँग गरेको सम्झौता कार्यान्वयन नगरेपछि भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजलाई प्रदेश ५ सरकारले कारवाहीको चेतावनी दिएको छ ।कोभिड–१९ को महामारीमा अस्पताल आफ्नो जिम्मेवारीबाट हटेर प्रदेश सरकारलाई सहयोग नगरेको र सामाजिक विकास मन्त्रालयको निर्देशन उल्लंघन गरेको भन्दै मेडिकल कलेजलाई चेतावनीयुक्त पत्र काटेको हो । प्रदेश सरकारले कोभिड–१९ का बिरामीलाई उपचार गर्ने क्रममा सो मेडिकल कलेजले आनाकानी गर्न सुरु गरेपछि मन्त्रालयले चेतावनीयुक्त पत्र काट्नु परेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख डाक्टर उमाशंकर प्रसाद चौधरीले बताए ।

 युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजसहित प्रदेशका सवै मेडिकल कलेजलाई कोभिड–१९ को व्यवस्थापनमा सहयोग भनिएको थियो । सो अनुसार उक्त कलेजलाई पनि कोभिड–१९ का बिरामीलाई उपचारमा जनशक्ति पठाउन र त्यहाँ छुट्याइएको बेडमा बिरामी भर्ना गर्न भनिएको थियो । मन्त्रालयका अनुसार उक्त मेडिकल कलेजलाई तीन जना फिजिसियन कन्सल्ट्यान्ट, ६ जना मेडिकल अधिकृत र ९ जना नर्सिङ स्टाफ तोकी कोरोना विशेष अस्पतालमा खटाउन निर्देशन दिनुका साथै २० वेड आइसोलेसनका लागि छुट्याउन भनिएको थियो । तर उक्त मेडिकल कलेजले अहिलेसम्म आइसोलेसन बेडमा बिरामी राख्न नचाहेको र जनशक्ति पनि नपठाएको डाक्टर चौधरीले बताए ।

मन्त्रालयले शुक्रवार काटेको पत्रमा निर्देशन अटेर गरेको हुँदा युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजलाई प्रचलित कानुनका आधारमा कारवाही प्रकृया अघि बढाउने चेतावनी दिइएको उल्लेख छ । मेडिकल कलेजले चैत्र महिनामा मन्त्रालयले पत्राचार गर्दा कोभिड–१९ मा कलेजमै २० बेड छुट्याउने र जनशक्ति पनि पठाउने प्रतिबद्धता जनाएको थियो ।

मेडिकल कलेजले भने कोरोना पोजिटिभ बिरामीको उपचार गर्ने भनेर प्रतिवद्धता नजनाएको बताएको छ । कलेजका जनसम्पर्क अधिकृत सुशिल गुरुङ्गले मेडिकल कलेज कोरोना बिशेष अस्पताल नभएको कारण यहा पोजिटिभ बिरामी राखेर उपचार गर्न सकिन्न । अस्पतालले १० वटा बेड छुट्टयाएको छ, तर त्यो कोरोना पोजिटिभको लागी नभई फिभर क्लिनिकमा आएका शंकास्पद बिरामीको लागि मात्र रहेको बताए । 

गुरुङ्गले अस्पताल ब्यवस्थापनले भने उपचारको लागी वाचा गरे अनुसारको जनशक्ति पठाउन प्रतिवद्ध रहेको बताए । त्यसको लागी पनि प्रदेश सरकारको मातहत रहेका कर्मचारीलाई पहिला परिचालन गर्नुपर्ने र त्यसको जानकारी कलेजलाई पनि दिनुपर्ने अडान राखेको छ । प्रदेश सरकारका कर्मचारीले धान्न नसकेको अवस्थामा मात्र मेडिकल कलेजले जनशक्ति पठाउने गुरुङ्गले बताए ।

प्रकाशित: १० जेष्ठ २०७७ १३:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App