२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

सिसिटिभीको निगरानीमा संक्रमित

बैतडीका कोरोना संक्रमितलाई सिसिटिभीको प्रत्यक्ष निगरानीमा राखिएको छ । पहिलोपटक शुक्रबार जिल्लामा संक्रमित भेटिएपछि जिल्ला अस्पतालको आइसोलेसन कक्षमा उपचारत उनलाई सिसिटिभीको निगरानीमा राखिएको हो ।

शिवनाथ गाउँपालिका–२ का २२ वर्षीय कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका ती युवक जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका थिए । कोरोना पुष्टि भएपछि युवकलाई सुरक्षाको दृष्टिकोण र निर्देशिका अनुसार सिसिटिभीको निगरानीमा अलग राखिएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वशन्तराज जोशीले बताए ।

संक्रमितको प्रत्यक्ष सम्पर्कमा जान नसकिने भएकाले उनको स्वास्थ्यमा कुनै थप समस्या भए नभएको पनि सिसिटिभिबाट हेर्न सहज हुने बताइएको छ । स्वास्थ्यमा कुनै समस्या आए स्वास्थ्यकर्मीलाई सम्पर्क गर्न उनलाई मोबाइलसमेत उपलब्ध गराइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

युवती हत्याको आरोपमा गत वैशाख १५ गतेदेखि प्रहरी हिरासतमा रहेका ती युवक चैत ६ गते भारतको दिल्लीबाट आएको खुल्न आएको छ । चार दिन अघि थ्रोट स्वाब संकलन गरि सेती प्रादेशिक अस्पतालमा परिक्षण गर्दा ती युवकमा पिसिआर पोजिटिभ देखिएको हो । यसअघि जिल्लामै दुई पटकसम्म आरडिटी गर्दा नेगिटिभ आएको थियो । संक्रमित युवकको अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ ।

संक्रमितसँगै बैतडीमा हाल अन्य दुई जना आइसोलेसनमा छन् ।  संक्रमित युवककी १९ वर्षीया बहिनी र दोगडाकेदार गाउँपालिका–१ का २५ वर्षीय युवकलाई आइसोलेसनमा भर्ना गरिएको  हो । संक्रमित युवकसँगै थुनामा रहेकाले ती युवककी बहिनीको पनि थ्रोट स्वाब संकलन गरि आइसोलेसनमा राखिएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. जोशीले जानकारी दिए । 

आइसोलेसन भर्ना भएका अर्का युवक एक हप्ता अघि सिन्धुपाल्चोकबाट घर आएका र बान्ता हुने, रिंगटा लाग्ने समस्या आएपछि आइसोलेसनमा भर्ना गरिएको अस्पतालले जनाएको छ । आइसोलेसनमा रहेकाहरुको स्वाब संकलन गरि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको भए पनि रिपोर्ट भने आउन बाँकी रहेको छ ।

प्रकाशित: १० जेष्ठ २०७७ ०६:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App