९ असार २०८१ आइतबार
image/svg+xml
समाज

लकडाउनको मौका छोपी जंगलमा दुर्लभ वन्यजन्तु मार्ने सिकारी सक्रिय

जैविक विविधताले भरिपूर्ण जाजरकोटको वारेकोटको जंगलक्षेत्र । तस्बिर : जनक/नागरिक

लकडाउनमा स्थानीय सरकार र प्रशासनको ध्यान कोरोनातिर गएको मौका छोपी जिल्लामा दुर्लभ जनावर, माछा र पन्छीहरुको चोरीसिकारी गर्ने क्रम तीव्र बनेको छ । जंगल विनास गर्ने, दुर्लभ जनावर तथा चराहरुको चोरीसिकारी गर्ने तथा खोलाहरुमा अवैध रुपले माछा मार्ने क्रियाक्लापहरु बढेपनि सरोकारवालाहरुले ध्यान दिन नसकेको गुनासो स्थानीयको छ ।  

विश्वको दुर्लभ जनावर रेडपान्डा लगाएत अन्य दुर्लभ चराहरु चिल, कालीज, सेतो गिद्ध, सुन गिद्धको वासस्थान रहेको वारेकोट गाउँपालिकामा जुम्ला लगाएतका जिल्ला र अन्य स्थानवाट जंगलमा चोरीसिकारी गर्नेहरु र जुनीचाँदे गाउँपालिका र छेडागाड नगरपालिका लगाएतका स्थानीय तहहरुमा वन विनास गर्नेहरुको सक्रियता बढेको स्थानीयको भनाइ छ ।

जाजरकोटमा चरा तथा जनावरहरुको खोजी तथा अध्ययन कार्यमा क्रियाशील गोविन्दबहादुर सिंहले जुम्ला लगाएतका स्थानबाट जाजरकोटको बारेकोटमा सिकारी कुकुरसहित केहि व्यक्तिहरु दुर्लभ जनावरहको सिकार गर्न आएको भएपनि यस तर्फ प्रहरी र वन कार्यालयले ध्यान दिन नदिएको बताए । उनले लकडाउनको समय पारी जंगलमा सिकार गर्ने, खोलाहरुमा जथाभावी माछा मार्ने र वन मास्नेहरुको सक्रियता बढेको बताए । उनले स्थानीय प्रशासन, प्रहरी र वन कार्यालयले यस तर्फ विशेष ध्यान नदिए धेरै जनावर, माछा, चराहरु नास भएर जाने निश्चित रहेको पनि बताए ।  

उता डिभिजन वन कार्यालय जाजरकोटका प्रमुख महेश कुमाइले लकडाउनका मौका पारी केहि स्थानीय तहहरुमा वन विनास गर्ने र जनावर तथा चराहरुको चोरी सिकारी गर्ने गरेको खवर आफूहरुकहाँ पनि आएको र यसबारे आफ्ना मातहतका निकायहरुमा समन्वय गरि त्यस्ता काम रोक्ने पहल भइरहेको बताए । उनले वन रक्षकहरुको प्रयोग तथा परिचालन गरि विभिन्न ठाउँको वन विनास र जनावर तथा चराहरुको चोरी सिकारी नियन्त्रणका लागि आफूहरु नियमित अनुगमनमा निस्कन लागेको पनि बताए ।  

यस्तै वारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रवहादुर शाहले पनि आफ्नो गाउँपालिकामा विश्वकै दुर्लभ जन्तुहरु र चराहरुको सिकार रोक्नका लागि विभिन्न सँस्थाहरुले गरेको पहलमा आफूहरुले साथ दिइरहेको बताए । उनले स्थानीय जनतामा चेतना जगाएर वन विनास तथा वन्यजन्तुको सिकार गर्ने काम रोक्न विभिन्न निकायसंगको सहकार्य र समन्वयलाई जारी राखिएको बताए । जैविक विविधता र विश्वका दुर्लभ जनावर तथा चराहरुको उपयुक्त बासस्थानको रुपमा रहेको जाजरकोटमा वन विनास र जनावर तथा चराहरुको चोरीसिकारी गर्नेक्रम सरोकारवाला निकायले रोक्न नसकेको देखिन्छ ।  

स्थानीय प्रशासन, प्रहरी, वन कार्यालय र स्थानीय सरकारहरुको अर्थपूर्ण दायित्वबोध र गतिलो योजना तथा कार्यक्रम नहुँदा जाजरकोटको वन तथा जन्तु सम्पदाको अवस्था दिनदिनै नाजुक बन्दै गएको   देखिन्छ । कानुनको कडा कार्यान्वयन तथा सरोकारवाला निकायको जवाफदेहिता शसक्त हुने हो भने जाजरकोटको वन र यहाँको जैविक सम्पदा नेपालकै उदाहरणीय सम्पदाको रुपमा रहन सक्ने स्थानीयहरुको भनाई छ ।

प्रकाशित: ९ जेष्ठ २०७७ ०८:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App