८ वैशाख २०८१ शनिबार
समाज

गाविस सचिव रहँदा १७ करोड ८३ लाखभन्दा बढी भ्रष्टाचार

अख्तियारद्वारा अकुत सम्पति आर्जनमा मुद्दा दायर

फाइल तस्बिर

सरकारी कर्मचारीको तलव कति हुन्छ? धेरै कर्मचारीको गुनासो हुन्छ तलवले खानै पुग्दैन। कतिपयले त नेपालमा भ्रष्टाचार बढनु र कर्मचारी जनताप्रति जिम्मेवार नहुनुको कारण कर्मचारीको कम तलवलाई मान्छन्। तर सबैलाई आश्चर्य पार्ने गरी गाविस सचिवबाट सेवा प्रवेश गरि शाखा अधिकृतबाट अवकाश प्राप्त एक कर्मचारीले १७ करोड ८३ लाख ४१ हजार ५ सय ७९ रुपैयाँ गैह्रकानूनी (स्रोत नखुलेको) सम्पत्ति आर्जन गरेको पाइएको छ।  

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधवार गाविस सचिवबाट सेवा प्रवेश गरि शाखा अधिकृत पदबाट अवकाश प्राप्त कर्मचारी ऋषिराम अर्यालले १७ करोड ८३ लाख ४१ हजार ५ सय ७९ रुपैयाँ बराबरको गैह्रकानूनी सम्पत्ति आर्जन गरेको भन्दै विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको छ।  

टोखा नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत समेत रहेका अर्यालले कार्यालयलाई भ्रष्टाचारको अखडा बनाई कर्मचारीलाई समेत दवावमा पारेर अकुत सम्पत्ति आर्जन गरेको भन्दै आयोगले मुद्धा दायर गरेको हो।  

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार विभिन्न तवरले आफ्नो कार्यकालका कर्मचारीलाई समेत दवावमा पारेर अकुत सम्पत्ति कमाएको, ठाउँ ठाउँमा घरजग्गा जोडेर उच्च जीवनयापन गरेको भन्ने उजुरी परेपछि आयोगले अनुसन्धान गर्दा १७ करोड ८३ लाख रुपैयाँ भन्दा बढी भ्रष्टाचार गरेको पाइएको हो।  

अर्याल निजामति कर्मचारीको रुपमा लामो समय काठमाडौं जिल्लाको साविकको धापासी गाविस, टोखा सरस्वती गाविस, भिमढुंगा गाविस र टोखा नगरपालिकामा निमित्त कार्यकारी अधिकृतको रुपमा समेत कार्यरत रहेका थिए। अर्यालले अनुसन्धानको क्रममा बयान गर्दा समेत आर्थिक बैधानिक स्रोत एवं बस्तुनिष्ठ प्रमाण पुष्टी गर्न नसकेको र स्रोत नखुलेको, सम्पत्ति विवरण अमिल्दो अस्वभाविक देखिएको र हैसियत भन्दा बढी लगानी तथा खर्च गरि परिवारका सदस्यका नाममा समेत सम्पत्ति जोडेको सम्पत्ति गैह्रकानूनी रुपमा आर्जन गरेको पुष्टी भएको छ,ु अख्तियार प्रवक्ता कोइरालाले भने ुअर्याललाई स्रोत नखुलेको सम्पत्ति र अपुग हुन आएको विगो समेत कानून बमोजिम असुल गरी पाउन श्रीमती लक्ष्मीदेवी, छोराहरु सुशील र सुनिल अर्याललाई समेत प्रतिवादी कायम गरि विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरिएको छ। 

आयोगको अनुसन्धानको क्रममा अर्याल २०३९ साल साउन १ गते जिल्ला विकास समितिको कार्यालय स्याङजाबाट गाविस सचिव खरिदार पदमा स्थायी नियुक्ती प्राप्त गरि नायव सुव्वामा बढुवा हुँदै काठमाडौंका तत्कालीन भिमढुंगा गाविस र टोखा नगरपालिकामा काम गरि शाखा अधिकृतबाट अवकाश पाएका थिए।  

सरकारी सेवामा प्रवेश गरिदेखि अवकाश पाउँदासम्मको अवधिलाई लिएर गरिएको अनुसन्धानमा अर्यालयले श्रीमती लक्ष्मीदेवी उपाध्यायको नाउँमा दर्ता कायम रहने गरि घरजग्गा खरिदमा ५ करोड ४४ लाख ८५ हजार ८ सय ५४ रुपैयाँ, घर निर्माणमा ४१ लाख १० हजार ४ सय २५ रुपैयाँ, पुँजीगत लाभ तथा आयकर ४ लाख ९६ हजार १ सय २६ रुपैयाँ, विभिन्न बैंक तथा वित्तीय संस्था एवं कम्पनीहरुका साधारण तथा संस्थापक शेयर खरिदमा ९ करोड १३ लाख ७८ हजार १ सय २१ रुपैयाँ लगानी गरेको देखिएको छ।

अर्याल र उनकी श्रीमती लक्ष्मीदेवीकै नाउँमा विभिन्न बचत तथा सहकारी संस्थाहरुमा २ लाख ५० हजार रुपैयाँ, छोरा छोरीको अध्ययनमा २० लाख ३२ हजार ३ सय ६६ रुपैयाँ, छोराछोरीको विवाहमा २८ लाख रुपैयाँ, विमा वापतको प्रिमियम भुक्तानीमा ४ लाख १० हजार १ सय ५९ रुपैयाँ, विभिन्न बैंकबाट लिएको कर्जा चुक्तामा १ करोड ७६ लाख ४६ हजार २ सय ६३ रुपैयाँ, न्यु लिंक कापी उद्योग र एल डि इन्टरप्राइजेज फर्ममा लगानी गरेको ४ करोड ४२ लाख ५० हजार रुपैयाँ, सवारी साधन खरिदमा १२ लाख रुपैयाँ, सुन खरिदमा ४ लाख, सापटी र व्यवहारमा ४ करोड ४० लाख ३३ हजार  र बैंक खाताहरुमा अन्तिम मौज्दात १५ लाख ७६ हजार ७ सय ४८ गरि अनुसन्धानमा लिइएको जाँचअवधीमा सम्पत्ति सिर्जना तथा लगानी गर्नमा उनले २६ करोड ६० लाख उनान्सत्तरी हजार बैंसठ्ठी रुपैयाँ खर्च तथा लगानी गरेको देखिएको छ।

सोही अवधीमा अर्यालले आफु र छोरा सुशील अर्याल समेतको तलव पारिश्रमीक बचत आयबाट ५८ लाख ७५ हजार ५ सय ८७ रुपैयाँ, अकाश पश्चात प्राप्त सुविधा वापत १९ लाख ३० हजार ७ सय २४ रुपैयाँ, विभिन्न बैंक तथा वित्तिय संस्थाबाट लिएको कर्जा सापटी तथा आय ३ करोड ९० लाख ६३ हजार ५ सय ८१ रुपैयाँ, जग्गा विक्रिबाट वैध आय ६८ लाख ५३ हजार ४ सय ९१ रुपैयाँ, निवृत्तीभरण आयबाट ६ लाख ७९ हजार ३  सय ५३ रुपैयाँ, विप्रेषण आय १७ लाख ९१ ह्जार ५ सय ८ रुपैयाँ र श्रीमतीको स्वामित्वमा रहेको फर्मबाट २५ लाख ६२ हजार ८ सय ३९ रुपैयाँ, विमाबाट १ लाख ७ हजार ५ सय ९६  प्रारम्भिक स्रोत खुल्न आएका बैंक तथा वित्तिय संस्था र कम्पनीबाट प्राप्त बैध लाभांस ४१ लख ४५ हजार ५ सय ३४, सरसापटी व्यवहारबाट फिर्ता २ करोड ४७ लाख १७ हजार गरि जम्मा ८ करोड ७७ लाख २७ हजार ४ सय ८३ रुपैयाँ आय आर्जन गरेको पाइएको छ।  

अर्यालले सार्वजनिक सेवा प्रवेश गरेदेखि २०७६ असाढ मसान्तसम्मको जाँच अवधीमा आर्जन गरेको बैध आय ८ करोड ७७ लाख २७ हजार ४ सय ८३ को तुलनामा सोही अवधीमा उनले विभिन्न शीर्षकहरुमा लगानी तथा खर्च गरेको रकम २६ करोड ६० लाख ६९ हजार ६२ रुपैयाँको विश्लेषणबाट १७ करोड ८३ लाख ४१ ह्जार ५ सय ७९ रुपैयाँको स्रोत नखुलेको अख्तियारका प्रवक्ता कोइरालाले जानकारी दिए।  अर्यालले अधिकांश जग्गाहरु आफु कार्यरत तत्कालीन गाविस तथा नगरपालिका अन्र्तगतका स्थानमा कार्यरत अवधीमा जोडेको देखिएको आयोगले जनाएको छ।

प्रकाशित: ७ जेष्ठ २०७७ १४:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App