१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

तराईका क्यारेन्टिन खचाखच, पहाडमा रित्तै

कास्कीको रूपा गाउँपालिकाले कोरोना भाइरसका सम्भावित संक्रमितका लागि विभिन्न तीन ठाउँमा क्वारेन्टिन बनाउने निर्णय त ग¥यो तर सबै क्वारेन्टिन सञ्चालन गर्न आवश्यक परेन । सुरुमा एउटामात्र सञ्चालनमा ल्याइएको क्वारेन्टिनमा २५ जना स्थानीय बसेका थिए । पहिलो चरणमा क्वारेन्टिनमा बसेका घर फर्केपछि केही समयपछि क्वारेन्टिन नै रित्तियो ।

अहिले रूपा गाउँपालिकाको क्वारेन्टिनमा तीन जना मात्र बसेका छन् । गाउँपालिकाका स्थायी बासिन्दा उनीहरूमध्ये दुई जना चितवन र एक जना कञ्चनपुरबाट फर्केका हुन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलका अनुसार सुरुमा क्वारेन्टिन बसेका २५ स्थानीय घर फिरेपछि रित्तिएको क्वारेन्टिनमा पछिल्ल्लो पाँच दिनदेखि तीन जना मात्र बसिरहेका छन् ।  

‘ग्रामीण क्षेत्र भएकाले यहाँका क्वारेन्टिन खाली भएका हुन् । गाउँ भित्रिने सबै स्थानीय हुन्छन,’ उनले भने, ‘संक्रमण फैलिएको क्षेत्रबाट फर्केकालाई मात्र क्वारेन्टिनमा राखिएको छ । धेरै त होम–क्वारेन्टिनमै पनि बसे ।’  गाउँमा आउजाउ गर्नेको संख्या कम भएकाले पनि क्वारेन्टिन आवश्यक नपरेको उनले बताए । ‘धेरै नै भिडभाड हुने ठानेर सुरुमै तीन ठाउँमा क्वारेन्टिन बनाउने निर्णय भयो । तर सबै क्वारेन्टिनमा बस्नुपर्ने गरी मान्छे नै आएनन् । त्यही भएर एउटा सञ्चालन गरियो, उनले भने, ‘सुरुमा बसेका मान्छे पनि घर फर्केपछि त्यो क्वारेन्टिन नै बन्द भयो ।’

केही दिनपछि भारतबाट आउने तयारीमा रहेका गाउँलेका लागि क्वारेन्टिन आवश्यक पर्ने उनले बताए । भारतमा रहेका गाउँलेले फोन गरेर घर फर्किंदै गरेको जानकारी गराएकाले पनि क्वारेन्टिनलाई चालू अवस्थामा राख्नुपरेको उनले बताए । ‘भारतबाट आउने तयारीमा रहेका तीनजनाले फोन गरेका छन् । तीबाहेक विभिन्न मुलुकमा कामका लागि गाउँका बासिन्दा गएको र उनीहरू पनि फर्किने सम्भावना भएकाले क्वारेन्टिन चालू अवस्थामै राखिराखेको पोखरेलले बताए । पोखरेलका अनुसार गाउँपालिकाका एक हजार सात सयभन्दा बढी व्यक्ति विभिन्न मुलुकमा छन् । केहीगरी ती व्यक्ति घर फिरेको खण्डमा उनीहरूका लागि क्वारेन्टिन चाहिने भएकाले पनि तयारी अवस्था राखेको उनले बताए । ‘विदेशबाट गाउँले फर्किएको खण्डमा उनीहरूलाई राख्नका लागि रूपा–७ को रामकोट माविमा क्वारेन्टिन बनाउने तयारी छ । तारबार गरेर तयारी पारिएको छ,’ उनले भने ।  

भारतसँग सीमा जोडिएका तराईका जिल्लामा भने लुकीछिपी आउजाउ गर्ने व्यक्तिलाई राख्न क्वारेन्टिन साँघुरो भएको बेला गण्डकी प्रदेशका क्वारेन्टिनभने लामो समयदेखि रित्ता छन् ।

 

कास्कीकै अन्नपूर्ण गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीका अनुसार ६० शड्ढया क्षमताको क्वारेन्टिन अहिले रित्तै छ । सुरुमा छिमेकी माछापुच्छ«े गाउँपालिकाका चार जनालाई अन्नपूर्णको क्वारेन्टिनमा राखेको भए पनि उनीहरू घर फर्केपछि अरू कसैलाई राख्नु नपरेको अधिकारीले बताए । ‘क्वारेन्टिनको व्यवस्था छ तर बस्ने मान्छे छैनन् । अब भारत वा तेस्रो मुलुकबाट कोही फर्किइहाले उनीहरूलाई क्वारेन्टिनमा राख्ने हो,’ उनले भने, ‘नत्र अहिलेलाई रित्तै छन् ।’

भारतसँग सीमा जोडिएका तराईका जिल्लामा भने लुकीछिपी आउजाउ गर्ने व्यक्तिलाई राख्न क्वारेन्टिन साँघुरो भएको बेला गण्डकी प्रदेशका विभिन्न जिल्लामा सञ्चालित क्वारेन्टिन भने लामो समयदेखि रित्ता छन् । भारतीय सिमाभन्दा टाढा रहेकाले र तत्काल आउजाउ सम्भव नभएकाले पनि क्वारेन्टिनमा बस्ने मान्छे नभएको स्वास्थ्य पदाधिकारीको भनाइ छ । ‘भारतसँग सिमाना जोडिएको जिल्लामा मान्छेको आउजाउ रोकिएको छैन । तर गण्डकी प्रदेशमा आउजाउ निकै नै कम छ,’ गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोद बिन्दु शर्माले भने, ‘खुला सिमाना र लुकीछिपी आउनेको डर तराईका जिल्लामा छ । आउजाउ नरोकिँदा पनि क्वारेन्टिनमा बस्नेको भिड छ । तर गण्डकी प्रदेशमा भने आउजाउ कम छ ।’

गण्डकी प्रदेशका स्वास्थ्य निर्देशनालयका अनुसार अहिले प्रदेशभरका चार सय ३२ जना मात्र क्वारेन्टिनमा बसेका छन् । मुस्ताङका कोही पनि व्यक्ति क्वारेन्टिनमा छैनन् । प्रदेशभित्रका करिब चार सय ५० क्वारेन्टिनमा चार हजार पाँच सय व्यक्ति राख्न सकिने भए पनि अहिले चार सय ३२ जना मात्र बसेको निर्देशनालयका निर्देशक शर्माले बताए । ‘क्वारेन्टिन नै कोरोना भाइरस संक्रमणको ‘हब’ भएकोले पनि होम क्वारेन्टिनलाई प्राथमिकता दिइएको हो,’ उनले भने । तराईका क्वारेन्टिनमा भिडभाड हुँदा पहाडका क्वारेन्टिन भने रित्तै रहेको उनले पनि बताए ।  

क्वारेन्टिन नै सुरक्षित नभएसम्म झनै संक्रमण फैलने त्रास भएको उनले बताए । ‘बागलुङबाट पर्सा गएका व्यक्ति त्यहींको क्वारेन्टिनमा संक्रमित भएको पुष्टि भयो । ती संक्रमितसँग बागलुङमा सम्पर्क भएका कसैमा पनि संक्रमण देखिएन,’ उनले भने, ‘त्यही भएर पनि क्वारेन्टिनलाई व्यवस्थित र मापदण्डअनुकूल बनाउनुपर्छ । अहिले त क्वारेन्टिन नै जोखिममा छन् ।’  

गण्डकी प्रदेशमा अहिले नै क्वारेन्टिन बन्द नगरेको भए पनि भारत र तेस्रो मुलुकबाट आउने व्यक्तिका लागि आवश्यक रहेको उनले बताए । ‘भारतमा रेलसेवा सुरु भएको छ । भारतमा रहेका नेपाली नागरिक फर्किने सम्भावना छ । त्यस्तै कामका लागि खाडी गएका युवाहरू पनि फर्किने सम्भावना छ,’ उनले भने, ‘त्यसरी फर्किनेका लागि पनि क्वारेन्टिन चाहिने अवस्था छ । तर अहिले धेरैतिरका क्वारेन्टिन रित्तै रहेका छन् ।’

प्रकाशित: ७ जेष्ठ २०७७ ०३:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App