१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बस्तीमा क्वारेन्टिन नराख्न भन्दै विरोध

भेरीगंगा नगरपालिकाको मुख्य बजार क्षेत्र छिन्चु आसपासमा क्वारेन्टिन र स्क्रिनिङ सेन्टर स्थापना गर्न नहुने भन्दै स्थानीय आन्दोलनमा उत्रिएका छन् । प्रदेश सरकारले भेरीगंगा नगरपालिकाको मदाने चौर, मेला लाग्ने चौर र शारदा माविमा क्वारेन्टिन र स्वास्थ्य चौकीमा स्क्रिनिङ सेन्टर स्थापना गर्ने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम नेपाली सेनाले उल्लिखित ठाउँमा क्वारेन्टिन निर्माणसमेत थालिसकेको थियो ।  

स्थानीय तीर्था बादीले बस्तीका बीचमा भारतबाट आएका नागरिक राख्न क्वारेन्टिन स्थापना गर्न लागिएकाले आफूहरू आन्दोलित भएको बताइन् । ‘कोरोनाको त्रास हामीलाई पनि छ,’ उनले भनिन्, ‘प्रदेश सरकारले आफ्नो निर्णय तत्काल सच्याउनुपर्छ ।’ स्थानीयको विरोधका कारण मदानेचौरमा सेनाले बनाउँदै गरेको क्वारेन्टिनको काम स्थगित भएको छ । सय बेडको क्वारेन्टिन निर्माण गर्न लागेको सेनाले स्थानीयको विरोधका कारण दुईवटा मात्रै टाँग्न सकेको छ । ‘कोरोना त्रासले हाम्रै आफन्त भारतमा छन्, अरू ठाउँकालाई बस्तीबीच हामी राख्न दिँदैनौं,’ उनले भनिन्, ‘कोरोना संक्रमणले मर्नुभन्दा बरु सेनाको गोली खाएर मर्न तयार छौं ।’

स्थानीय लालमति विकले कोरोना संक्रमण भएका जिल्ला र भारतबाट आएका आफन्तलाई समेत बस्न नदिइरहेका बेला भारतबाट आउने प्रदेशभरका नागरिकलाई सरकारले बस्तीको बीचमा राख्न खोजेको आरोप लगाइन् । स्थानीयहरू प्रदेशको मुख्य नाका बबई अथवा मानव बस्ती नभएको एकान्त ठाउँमा क्वारेन्टिन स्थापना गर्नुपर्ने बताउँछन् । स्थानीयले क्वारेन्टिन स्थापनाका लागि छिन्चु बजारनजिकैको जनजागृति सामुदायिक वन र रामजानकी सामुदायिक वन उपभोक्ता समूहको जमिन आफूहरू दिन तयार रहेको बताउँदै आएका छन् ।  

‘हामी विकल्पसहित आन्दोलनमा उत्रिएका छौं,’ कल्पना नेपालीले भनिन्, ‘बस्तीका बीचमा भने कुनै हालतमा हामी क्वारेन्टिन राख्न दिँदैनौं ।’ कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी, सामाजिक विकासमन्त्री दल रावल, चारवटै सुरक्षा अंगका प्रदेश प्रमुख सम्मिलित अनुगमन समितिले भेरीगंगा नगरपालिका–१० मदानेचौर, वडा १२ को मेलालाग्ने चौर र शारदा माविमा क्वारेन्टिन र नगरपालिकाको कार्यालयसँगै जाडिएको स्वास्थ्य चौकीमा स्क्रिनिङ सेन्टर स्थापना गर्ने निर्णय गरेको थियो ।  

भारतमा रेल सेवा सुरु भएसँगै कर्णालीका नागरिक घर फर्कने क्रम सुरु भएको छ । तीन दिनको अवधिमा ६ सय भन्दा बढी कर्णाली प्रवेश गरेका छन् । एक साताको अवधिमा २५ देखि ३० हजार कर्णालीवासी आउने अनुमान प्रदेश सरकारले गरेको छ । भारतबाट आउने नागरिकलाई मदानेचौर, मेलालाग्ने चौर र शारदा माविमा राखेर स्वास्थ्य परीक्षण गर्ने र त्यसैका आधारमा सम्बन्धित पालिकामा पठाउने तयारी प्रदेश सरकारको थियो ।

प्रकाशित: ७ जेष्ठ २०७७ ०२:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App