१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सिसडोलवासीको कोरोना परीक्षण हुने, फोहोर विसर्जनको अवरोध हट्यो

फाइल तस्बिर

काठमाडौं महानगरपालिकाको अगुवाईमा सिसडोलका स्थानीयबासीको कोभिड १९ को परीक्षण गर्ने सहमति भएसँगै फोहोरमैला बिसर्जनको अवरोध तत्कालको लागि हटेको छ। सिसडोलबासीले कोभिड १९ को परीक्षण गर्नुपर्ने लगायतका विविध माग राख्दै उपत्यकाबाट गएको फोहोरमैलाको गाडीलाई अवरोध गर्दै आइरहेका थिए।  

ककनी गाउँपालिकाले एम्बुलेन्स बाहेकका सवारी आवत–जावतमा रोक लगाएको विज्ञप्ति जारी गरेर त्यसैको बाहनामा सिसडोलमा फोहोर विसर्जनमा समेत अवरोध गरेको थियो। त्यससँगै फोहोर व्यवस्थापनमा समस्या देखिएको थियो। काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यको नेतृत्वमा ककनी गाउँपालिकाका जनप्रतिनिधिसहित बसेको बैठकले तत्कालका लागि यो समस्या समाधान गर्ने सहमति गरेको छ। ‘उपत्यकाको फोहोर विसर्जनको अवरोध तत्कालकालागि हटेको छ,’ काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले भने ‘ककनी गाउँपालिकाका जनप्रतिनिधि र स्थानीयको माग अनुसार सिसडोलवासीमा कोरोना संक्रमण भए–नभएको पुष्टिका लागि काठमाडौँ महानगरपालिकाको नेतृत्व र स्वास्थ्य विभागको सहयोगमा  परीक्षण गर्ने सहमति भएको छ।’  

प्रमुख शाक्यले भोलि नै स्वास्थ्य विभागको टोलीसहित सिसडोल पुगेर आरडीटी र पीसीआर बिधिबाट कोरोना भाइरस परीक्षण गरिने जानकारी दिए। ‘उहाँहरुको माग पूरा भएको छ। उपत्यकाको फोहोर छोपेर सिसडोल लैजाने सहमति भयो,’ उनले भने ‘सहमति अनुसार बेलुका आठ बजेदेखि विहान ६ बजेसम्म फोहोर विसर्जन गरिसक्नु पर्ने भन्ने छ।’  

ककनी गाउँपालिकाका प्रमुख मानबहादुर लामाले सिसडोलबासीले कोरोना संक्रमणको डर बढिरहेका बेला स्वास्थ्य परीक्षणको माग गरेको र त्यो माग पूरा भएकाले नियमित फाहोर विसर्जन हुने जानकारी दिए।  ‘छलफल सकारात्मक भयो। हाम्रो ठूलो माग नै थिएन। यहाँका स्थानीयको स्वास्थ्य परिक्षण हुनपर्छ भनेका थियौँ,’ अध्यक्ष लामाले भने ‘काठमाडौँ महानगरपालिकाले हाम्रा माग पूरा गर्ने सहमति गरेसँगै फोहोर विसर्जनको समस्या पनि तत्कालका लागि समाधान भयो।’  

काठमाडौँ महानगरपालिका वातावरण विभाग प्रमुख हरि श्रेष्ठले पनि फोहोरो विसर्जनको समस्या तत्कालका लागि हटेको जानकारी दिए। फोहोर विसर्जनमा अवरोध भएसँगै काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले माग सम्वोधनमा सकारात्मक रहेको भन्दै विभिन्न बाहनामा फोहोर विसर्जनमा अवरोध गरे बलप्रयोग गर्ने बताए।  

छलफलमा काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्याल, सह–सचिव राजेश्वर ज्ञवाली, वातावरण विभागका प्रमुख हरि श्रेष्ठसहित ककनी गाउँपालिकाका अध्यक्ष मानबहादुर लामा, उपाध्यक्ष सीतालामा, वडा–१ का चन्द्रबहादुर बलामी, वडा–३ का घननाथ बजगाईँगायत सहभागी थिए। काठमाडौँ उपत्यकाको फोहोर विसर्जन नहुने हो भने काठमाडौँ महानगरपालिका सहित अन्य नगरपालिका पनि दर्गन्धित र संक्रमणको खतरा बढी हुने भन्दै उपत्यकाका जनप्रतिनिधिले पनि फोहोर व्यवस्थापनमा समस्या सिर्जना गर्नु नहुनेमा जोड दिदैँ आएका थिए।

 

प्रकाशित: ५ जेष्ठ २०७७ १३:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App