१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कोरोना संक्रमित सुत्केरीको धुलिखेल अस्पतालमा मृत्यु

धुलिखेल अस्पतालमा उपचारका लागि ल्याइएकी एक सुत्केरीको नोबल कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। अस्पतालको प्रयोगशालामा गरिएको आरडिटी र पिसिआर दुबै परीक्षणबाट संक्रमणको पुष्टि भएपछि थप पुष्ट्याइँका लागि केन्द्रीय स्वास्थ्य प्रयोगशालामा मृतकको स्वाब पठाइएको छ।

परीक्षणको नतिजा केहीबेरमा मन्त्रालयले सार्वजनिक गर्ने अस्पतालले जनाएको छ। नेपालमै कोरोना संक्रमणबाट पहिलो पटक मृत्यु भएको हो। यस अघि संक्रमित हुनेहरुमध्ये केही उपचारपछि निको भएर घर फर्केका र बाँकीको उपचार भइरहेको छ।

जेठ १ गते राती साढे ९ बजे धुलिखेल अस्पतालको मूल गेटमै ल्याइपुर्‍याउँदा ती सुत्केरीको स्वास प्रस्वास बन्द  भइसकेकोले इमर्जेन्सी कक्षमा सिपिआर र इन्ट्यूबेटलगायतका प्रक्रियाहरु गरिएको अस्पतालले जानकारी दिएको छ। सुत्केरीलाई बचाउन नसकिएलगत्तै परिवारले बताएका लक्षणहरु नोबल कोरोनासँग मिल्दोजुल्दो भएपछि मृतकको तत्कालै आरडिटी हुँदा पोजिटिभ आएको थियो। 

त्यसपछिको आरटी पिसिआरमा समेत पोजिटिभ देखिएपछि बिहीबारदेखि नै अस्पतालले थप स्वास्थ्य सुरक्षा सावधानी अपनाइरहेको छ। यतिखेर मृतकको उपचारमा संलग्न चिकित्सक, नर्स, पारामेडिकलगायत गार्डलाई समेत क्वारेन्टिनमा राखिएको छ। 

मृतक सिन्धुपाल्चोक, बाह्रबिसे–९ की २९ वर्षिया महिला रहेकी र त्रिवि शिक्षण अस्पतालमा वैशाख २३ गते  गते सुत्केरी भई २५ गते डिस्चार्ज भएर घर फर्केकी थिइन्। सुत्केरी भएको सातौं दिनमा स्वास प्रस्वासमा समस्या आएपछिप्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसे लगिएको थियो। केन्द्रमा आइसियु नभएकोले रिफर गरिएको थियो। काठमाडौंमै लैजाने क्रममा वीच बाटोमा गाह्रो हुन थालेपछि एम्बुलेन्स धुलिखेलमा आएको थियो। 

डिष्ट्रिक्ट क्राइसिस म्यानेजमेन्ट सेन्टरका सदस्य एवं स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र झाले अस्पतालको गेटमै पुग्दाखेरि नै सुत्केरीको मृत्यु भइसकेको र उनको लाश अस्पतालमै रहेको जानकारी दिए। उनले भने, ‘मृतकको स्वाब आरटी पिसिआर परीक्षणका लागि केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ। अपराह्नसम्ममा थप नतिजा आउँदैछ’, झाले थपे।

प्रकाशित: ३ जेष्ठ २०७७ ०९:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App