१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

गोरखा आउनेलाई सोझै क्वारेन्टाइनमा

जिल्लालाई ‘सिल’ गरेका बेला अन्यत्रबाट गोरखा आएकालाई सिधै क्वारेन्टाइनमा राख्न थालिएको छ। गोरखाबाहिरबाट घर फर्किएका र आफन्तकहाँ आएकालाई स्थानीय तह र प्रहरीको निगरानीमा क्वारेन्टाइनमा राखिएको हो।  

जिल्ला ‘सिल’ भएयता छिमेकी जिल्ला तनहुँदेखि रौतहट, उदयपुर, काठमाडौंलगायत ठाउँबाट आएका सबैलाई सामूहिक क्वारेन्टाइनमा राखिएको छ। गोरखा नगरपालिका–१० वीरेन्द्रचोकमा रहेको क्वारेन्टाइनमा १२ जना, आरुघाट गाउँपालिकाको आर्खेतमा तीनजना, आरुघाट बजारमा सातजना छन् भने पालुङटार नगरपालिकामा ६ जनालाई सामूहिक क्वारेन्टाइनमा राखिएको छ।  

‘गोरखा भित्रिने नाकामा नेपाली सेनासहितको सुरक्षाकर्मी र कर्मचारी पनि छन्, नयाँ व्यक्ति प्रवेश गरेपछि क्वारेन्टाइनमा राखिएको छ,’ नगर प्रमुख राजनराज पन्तले भने। क्वारेन्टाइनमा बस्नेहरूलाई खाने बस्ने व्यवस्था स्थानीय तहले गरेका छन्। स्वास्थ्यकर्मीको निगरानी नियमित रहेको छ र उनीहरूलाई सुरक्षाकर्मीले सुरक्षा दिएका छन्।

‘लुकेर आएकाहरू केही नाकामा भेटिएका छन् भने कतिपय गाउँघर पुगेपछि जनप्रतिनिधिसम्म खबर पुग्ने गरेको छ,’ एसपी ओमप्रसाद अधिकारीले भने, ‘सम्भावित खतरामुक्त गराउन क्वारेन्टाइनमा राखिएको हो।’ बिहीबारबाट गोरखालाई स्थानीय प्रशासनले ‘सिल’ गरेपछि खाद्यान्न बोकेका सवारीसमेत चलेका छैनन् भने जिल्ला भित्रिने नाकामा कडाइ गरिएको छ। सर्वसाधारण लुकीचोरी छिर्ने गरेपछि टोलटोलमा नयाँ आएका व्यक्तिको निगरानी बढाइएको छ।  

११ वटै स्थानीय तहमा क्वारेन्टाइन निर्माण गरिएको छ। विद्यालय, सामुदायिक भवनलगायत ठाउँमा निर्माण भएका क्वारेन्टाइनमा अन्यत्रबाट नयाँ आएका मानिसलाई राख्ने तयारी स्थानीय तहको छ। 

प्रकाशित: ३ जेष्ठ २०७७ ०६:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App