२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

अवैध नाकाबाट दिनहुँ भित्रिँदै नेपाली

अबैध नाकाबाट मानिसहरू प्रवेश हुन थालेपछि कोरोना संक्रमण फैलिन सक्ने भन्दै बाँकेबासी थप त्रसित भएका छन् ।

बाँकेको नरैनापुरस्थित नेपाल–भारत सीमा नाकाबाट प्रवेश भएर आएका नेपाली नागरिक । तस्बिर : नागरिक

बाँकेस्थित नेपाल–भारत अवैध नाकाबाट दिनहुँ ठूलो संख्यामा नेपाली नागरिक भित्रिन थालेका छन् । दुई दिनको अवधिमा यहाँका विभिन्न नाकाबाट चार सय ४७ नेपाली नागरिक भित्रिएको जनाइएको छन् । सबैभन्दा बढी जिल्लाको राप्तीपारि नरैनापुरका नाकाबाट भित्रिएका छन् । उक्त नाकाबाट तीन सय ७३ जना भित्रिए । नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले सीमाबाट प्रवेश भएर आएका तीन सय ७३ जनालाई आठवटा क्वारेन्टाइनमा राखिएको बताए । ‘केही दिनअघि सीमापारि आएर बसेका थिए, उनीहरूलाई ल्याएर क्वारेन्टाइनमा राखेका छौं,’ अध्यक्ष शाहले भने ।  

उनका अनुसार सीमा प्रवेश गरेका सबै नरैनापुरवासी हुन् । भारतको मुम्बईलगायत ठाउँमा उनीहरू रोजगारी गर्न पुगेका थिए । एकैपटक ठूलो संख्यामा भारतबाट फर्केर आएपछि क्वारेन्टाइनमा व्यवस्थापन गर्न समस्या भइरहेको अध्यक्ष शाहले गुनासो गरे । ‘अहिलेसम्म प्रवेश भएकालाई क्वारेन्टाइनमा व्यवस्थापन गरेर राखेका छौं, सीमापारि अझै कति संख्यामा छन्, थाहा छैन, अब संख्या बढेपछि त व्यवस्थापन गर्न बडो गाह्रो हुने स्थिति छ,’ उनले नागरिकसँग टेलिफोनमा भने, ‘संघ र प्रदेश सरकारको सहयोग हामीलाई चाहिएको छ ।’  

गाउँपालिकाले विभिन्न वडामा रहेका सामुदायिक विद्यालय र मदरसामा क्वारेन्टाइन स्थापना गरेको छ । स्थानीय जयकिसान माध्यामिक विद्यालय, दीपेन्द्र प्राथमिक विद्यालय, नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, आदर्श माध्यमिक विद्यालय, नेपाल राष्ट्रिय प्राथमिक विद्यालयलगायतमा स्थापना गरिएको हो । क्वारेन्टाइनमा राखिएकाहरूको कोरोना परीक्षणका लागि स्वाब संकलन पनि गरिएको अध्यक्ष शाहले बताए ।  

भारतीय सीमासँगै जोडिएको डुडुवा गाउँपालिकाअन्तर्गतका नाकाबाट पनि ७० जना प्रवेश गरेका छन् । उनीहरू सबैलाई क्वारेन्टाइनमा राखिएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले जानकारी दिए । ‘डुडुवाको अवैध नाकाबाट दुई दिनको अवधिमा ७० जना प्रवेश भएर आएका छन्, उनीहरूलाई क्वारेन्टाइनमा लगेर राखेका छौं,’ उनले भने । अध्यक्ष चौधरीका अनुसार डुडुवा गाउँपालिकामा रहेको माध्यमिक विद्यालय वनकट्टी, आधारभूत विद्यालय साहपुरुवा र हिरमिनियाको विद्यालयमा राखिएको हो ।  

रोजगारीका लागि भारत पुगेका उनीहरू नेपालगन्ज नाकाबाट प्रवेश हुन नपाएपछि डुडुवाको नाकाबाट छिरेको अध्यक्ष चौधरीले बताए । ‘यिनीहरू सबै भारतमा काम गर्न पुगेका थिए, कोरोना महामारीका कारण लकडाउन भएपछि दुःख पाएर अहिले फर्केका हुन्,’ उनले भने । खजुरा–१ राधापुरको अवैध नाकाबाट चारजना प्रवेश भएका छन् । अवैध नाकाबाट प्रवेश भएर आएका खजुरा–६ र ८ का दुई÷दुईजनालाई गाउँपालिकाले होम क्वारेन्टाइनमा राखेको छ ।  

गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले नाकाबाट प्रवेश भएर आएका चारजनालाई स्वास्थ्यकर्मीको निगरानीमा होम क्वारेन्टाइनमा बसाएको बताए । ‘प्रवेश भएर आएका चारजना अहिले होम क्वारेन्टाइनमा बसेका छन्, उनीहरू स्वास्थ्यकर्मीको निगरानीमा छन्,’ अध्यक्ष कक्षपतिले भने, ‘उनीहरूको भोलि (शुक्रबार) पिसिआर परीक्षण हुन्छ ।’ जानकी गाउँपालिकासँग जोडिएको नेपाल–भारत सीमापारि पनि ३६ नेपाली नागरिक आएर बसेका छन् । जानकी गाउँपालिका–१, २ र ६ का बासिन्दा रहेका उनीहरू भारतबाट फर्केर सीमा क्षेत्रमा आइबसेका हुन् । गाउँपालिका अध्यक्ष रामनिवास यादवले सीमापारी ३६ जना व्यक्ति आएर बसेको बताए । ‘तथ्यांक लिँदा जानकी–१, २ र ६ का गरी ३६ जना आएर बसेका छन्, उनीहरूलाई कसरी नेपाल प्रवेश गराउने भनी छलफल गर्दैछौं,’ यादवले भने ।  

भारतमा कोरोना संक्रमण फैलिएपछि सरकारले डेढ महिनाभन्दा बढी समयदेखि नेपालगन्जस्थित नेपाल–भारत सीमा नाकाबाट आवतजावतमा रोक लगाउँदै आएको छ । रोजगारीका लागि भारतमा पुगेका नेपाली नागरिक त्यहाँ बस्न समस्या भएपछि अचेल घर फर्किरहेका छन् । नेपालगन्ज नाका बन्द भएपछि उनीहरू विभिन्न अवैध नाकाबाट प्रवेश हुन थालेका हुन् । अवैध नाकाबाट भित्रिने क्रम बढ्न थालेपछि सशस्त्र प्रहरीको थप जनशक्ति परिचालन भएको छ । तर पनि सुरक्षाकर्मीको आँखा छलेर भारतबाट नेपाली नागरिक नेपाल प्रवेश हुने गरेको स्थानीय बासिन्दा बताउँछन् । अवैध नाकाबाट मानिसहरू प्रवेश हुन थालेपछि कोरोना संक्रमण फैलिन सक्ने भन्दै बाँकेवासी थप त्रसित भएका छन् । बाँकेमा ६५ किलोमिटर नेपाल–भारत खुला सिमाना रहेको छ ।  

प्रकाशित: १ जेष्ठ २०७७ १८:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App