६ वैशाख २०८१ बिहीबार
समाज

४६ सुत्केरीलाई पोषणयुक्त खाद्य सामग्री (अपडेट)

सुत्केरीलाई पोषणयुक्त खानेकुरा प्रदान गर्दै गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राई लगायत । तस्बिरः नागरिक

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले लकडाउनको अवधिमा सुत्केरी भएका ४६ महिलालाई पोषणयुक्त खाद्य सामग्री वितरण गरेको छ । लकडाउनको अवधि (चैत र बैसाख)मा सुत्केरी हुँदा पोषिलो खाद्य सामग्री जुटाउन नसकिरहेको अवस्थाका सुत्केरी महिलालाई गाउँपालिकाले चना, केराउ, भटमास, गहुँ, अण्डा लगायतका पोषणयुक्त खाद्य वस्तु वितरण गरेको हो । गाउँपालिकाका ७ वडाका सुत्केरीलाई घर–घरमै पुगेर जनही २ केजी चना, २ केजी गहुँ, १ केजी भटमास, अण्डाका साथमा लुगा धुने र नुहाउने साबुन प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताए ।  

लकडाउनको अवधिमा सुत्केरी भएका दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खामा ८ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँमा ६ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिका–३ छोरम्बुमा १० जना, दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेमा ६ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरीमा ६ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ छितापोखरीमा ४ जना र दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्मामा ६ जना महिलालाई पोषणयुक्त खानेकुरा वितरण गरिएको हो । लकडाउनको अवधिमा जन्मिएका नवजात शिशु र जन्म दिने आमालाई उचित पोषणयुक्त खानेकुराको अभावमा कुपोषित र शरीरमा रक्त अल्पता हुने सम्भावनालाई मध्यनजर गर्दै पोषणयुक्त खाद्य सामग्री प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष राईले बताए ।  

लकडाउनको अवधिमा सुत्केरी भएका सबै सुत्केरी आमालाई गाउँपालिकाभित्रै उपलव्ध हुने केराउ, भटमास, गहुँ, अण्डा लगायतका पोषणयुक्त खानेकुरा खरिद गरेर प्रदान गरिएको हो । चना भने गाउँमा नपाइने भएकाले अन्यत्र बजारबाट ल्याइएको गाउँपालिकाले जनाएको छ । ‘सुत्केरी भयो तर लकडाउनले पोषिलो खानेकुरा जुटाउन सक्ने अवस्था छैन,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘सुत्केरी र नवजात शिशुलाई कुपोषण र रक्त अल्पताको शिकार हुनबाट बचाउनका लागि पोषिलो खानेकुरा जुटाएर वितरण गरिएको हो ।’ गाउँपालिकामा गठित कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा रोकथाम स्थानीय कार्यदलको शुक्रबार बसेको बैठकको निर्णय अनुशार गाउँपालिकाभित्र चैत र बैसाखमा सुत्केरी भएका महिलालाई पोषिलो खानेकुराको व्यवस्था मिलाइएको हो ।  

प्रकाशित: ३१ वैशाख २०७७ ०७:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App