१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

भारतमा रेल चल्दा कर्णालीलाई चिन्ता

रोजगारीका लागि भारत गएका कर्णालीबासीहरु फर्किने क्रममा रहेकाले पूर्व तयारीमा लाग्न प्रदेश सरकारले स्थानीय तहहरुलाई निर्देशन दिएको छ । भारतले बुधबारदेखि रेल सेवा सञ्चालनमा ल्याएसँगै रोजगारीका लागि त्यहाँ रहेका नेपालीहरु फर्कने तयारीमा छन् । कर्णालीका अधिकांश नागरिकहरु भारतमा मौसमी रोजगारीका लागि जाने गर्छन् । चैतको अन्तिमतिर फर्किसक्ने उनीहरु बन्दाबन्दी (लकडाउन) का कारण आउन पाएका थिएनन् ।  

भारतमा रेल सेवा सञ्चालनमा आएसँगै रोजगारीका लागि भारतमा रहेका करिव एक लाख कर्णालीबासी मध्ये एक साताभित्र २५ हजारबढी आउने अनुमान प्रदेश सरकारले गरेको छ ।

कर्णाली प्रदेश सरकारले भारतबाट आउने नागरिकहरुलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्ने गरेर पूर्व तयारीमा लाग्न स्थानीय तहहरुलाई निर्देशन दिएको छ । ‘भारतमा रहेका कर्णालीका नागरिकहरु फर्कने क्रम सुरु भएकाले तयारी अवस्थामा रहन स्थानीय तहलाई निर्देशन दिएका छौं,’ सामाजिक विकास मन्त्री दल रावलले भने, ‘आउने मध्ये केहीलाई सीमामै क्वारेन्टाइन बनाएर पनि राख्छौं ।’

प्रदेश सरकारले भारतबाट एक साताभित्र २५ हजारबढी कर्णालीबासी आउने अनुमान गरेको छ । ‘मौसमी रोजगारीका लागि ७५ हजारदेखि एक लाख कर्णालीबासी भारतमा रहेको हामीले जानकारी पाएका छौं,’ मन्त्री रावलले भने, ‘ति मध्ये एक साताभित्र २५ देखि ३० हजारको हाराहारीमा कर्णालीबासीहरु आउने अनुमान गरेका छौं ।’  

प्रदेश सरकारले भारतबाट आउने नागरिकहरुलाई २१ दिनसम्म अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्ने जनाएको छ । ‘सुरुमा आउनेहरुलाई बबई र कुइनेमा क्वारेन्टाइन निर्माण गरेर राख्छौं,’ उनले भने, ‘संख्या बढ्दै गए सिमाबाट सिधैं स्थानीय तहसम्म पुर्‍याउँछौं ।’ उनले सबै स्थानीय तहहरुलाई पालिकास्तरमा क्वारेन्टाइन निर्माण गर्न निर्देशन दिइएको बताए ।

प्रदेश सरकारले आफ्नो पालिकाबाट कति जना भारतमा रोजगारीका लागि गएका छन् र कति जना आउँदैछन् त्यसको तथ्याङ्क संकलन गर्न पनि स्थानीय तहलाई निर्देशन दिएको छ । नेपाली जन सम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेले रेल सेवा सञ्चालनमा आएसँगै नेपालीहरु स्वदेश फर्किने तयारीमा रहेको बताए । ‘एकै पटक ठूलो मात्रामा नेपालीहरु फर्कदा व्यवस्थापनमा समस्या हुनसक्छ,’ उनले भने, ‘संघीय, प्रदेश र स्थानीय तहले अहिलेदेखिनै तयारीमा लाग्दा राम्रो हुन्छ ।’

प्रकाशित: ३० वैशाख २०७७ ०९:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App