७ फाल्गुन २०८१ बुधबार
image/svg+xml २३:६ अपराह्न
समाज

धमिलो पानीको अन्त्य गर्न भौतिक दुरीको सर्तसहित थालियो काम

ताप्लेजुङ- भौतिक दुरी र होम क्वारेन्टाइनका सर्त पालना गर्दै ताप्लेजुङ बृहत्त खानेपानी तथा सरसफाई उपभोक्ता समितिले फुङ्लिङमा पर्याप्त खानेपानी आपूर्तिका लागि संरचना निर्माणको कार्य अघि बढाएको छ । अत्यावश्यक सेवा भित्र पर्ने खानेपानी वितरण प्रभावकारी र उपभोक्ताको माग धान्न सक्ने क्षमताको बनाउन लकडाउनका सर्तहरु पालना गर्दै निर्माण तथा स्तरोन्नतीको कार्य अघि बढाइएको समिति अध्यक्ष कमलप्रसाद गुरागाँईले जानकारी दिए ।

बर्षायामको सिजनमा मुहानबाट पानी व्यवस्थापन सम्भव छैन । मध्य बर्षा समय अगावै निर्माण कार्य पूरा हुने हो भने फुङ्लिङका बासिन्दाले बर्षायाममा धमिलो पानी पिउनुपर्ने अवस्थाको अन्त्य हुने भएकोले निर्माण कार्य अघि बढाइएको गुरागाँईले बताए । अहिले देवीखोलाको मुहानबाट आएको पानीमा बर्षाको समयमा भल पसेर पूरै धमिलो आउँछ । उपभोक्ताको मागलाई पूर्णतया धान्न सक्ने क्षमताको बनाउन र बर्षायाममा भल पसेर मुहाननै धमिलो पार्ने जोखिम अन्त्य गर्ने उपाय स्वरुप अहिले निर्माण कार्य अघि बढाइएको उपभोक्ता समितिका उपाध्यक्ष ज्ञानप्रसाद मिश्रले जानकारी दिए।

अहिले फुङ्लिङ नगरपालिका वडा नं १० फुरुम्बु र वडा नं ११ फावाखोलाबाट अहिले कायम रहेको पानीको स्रोतमा प्रतिसेकेण्ड करिव २५ लिटर पानी थप गर्ने योजनामा काम भई रहेको छ । त्यो मध्ये फावाखोलाबाट २० लिटर प्रतिसेकेण्ड र फुरुम्बुबाट ५–६ लिटर प्रतिसेकेण्ड पानी क्षमताको मुहान खोजेर पानीलाई सदरमुकाम केन्द्रित गर्ने योजना स्वरुप काम भईरहेको उपभोक्ता समितिले जनाएको छ । २४ किलोमिटर टाढा रहेको फावाखोलाको मुहानबाट करिव ३ किमी तलसम्म पाईप जोडेर पानी सदरमुकामतर्फ झारिदैं छ ।

यस्तै १६ किमी टाढा रहेको फुरुम्बोको मुहानबाट करिव ४ किमी तलसम्म पाईप जोडिएको छ । दुबै मुहान एकसाथ सदरमुकामसम्म आउन सकेमा धमिलो पानीको अन्त्य र उपभोक्ताको मागलाई थेग्न सक्ने क्षमताको बन्न सक्ने भएकोले यो कार्यमा समिति केन्द्रित भएको उपभोक्ता समिति अध्यक्ष गुरागाँईले जानकारी दिए । निर्माणमा खटिएका मजदुरलाई होम क्वारेन्टाइनको सर्त पूर्ण पालना गर्ने सर्तमा काममा लगाइएको छ भने काममा खटिदा कायम रहने सामाजिक दुरीको प्रकृया पनि मापदण्ड अनुसार रहेको उपभोक्ता समितिले जनाएको छ ।

समितिसंग अहिले नर्सरी क्षेत्रमा ४ लाख लिटर क्षमताको १ वटा तथा २ लाख लिटरका २–२ वटा रिजर्भ ट्याङकी रहेका छन् । उकालीपानी क्षेत्रमा १ लाख लिटरको एउटा र २०–२० हजार लिटर क्षमताका २ वटा र सशस्त्र प्रहरी क्याम्प छेउ पाथीभरा मन्दिर क्षेत्रमा ७५ हजार लिटरको एउटा रिजर्भ ट्याङकी छ । दोखु क्षेत्रमा २०–२० हजार लिटर क्षमताका २ वटा ट्याङ्की रहेको समितिले जनाएको छ । फावाखोला र फुरुम्बुका मुहानबाट पानी जोडिएमा अहिले कायम रहेको फ्लोर सेडिङ अर्थात क्षेत्र अनुसार पालो मिलाएर पानी बितरण गर्ने अवस्थाको अन्त्य हुने समितिको बुझाई छ । बरु थोरै समय पानी दिएर पनि अहिले सबै क्षेत्रमा फ्लोर सेडिङ हटाइएको समितिले जनाएको छ ।

फावाखोला र फुरुम्बुका मुहानबाट पानी सदरमुकामसम्म आएको अवस्थामा कम्तिमा २ वटा रिजर्भ ट्याङकी थप गरेमा फुङ्लिङमा खानेपानीको अभाव तत्कालका लागि अन्त्य हुने समिति अध्यक्ष गुरागाँईले बताए । केहि पाईपको अभाव भएको खानेपानी कार्यालयसहितका निकायसंग अनुरोध गरिएको समेत उनले जानकारी दिए ।

 

प्रकाशित: १९ वैशाख २०७७ ०७:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App