९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

एक्सन रुमबाट मुख्यमन्त्रीसँग प्रधानमन्त्रीको भिडियो कन्फ्रेन्स

काठमाडौं- सरकारले कोरोना भाइरस नियन्त्रणका लागि लकडाउन गरे पछाडि प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक सात वटै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडियो कन्फ्रेन्समार्फत छलफल गरेका छन्।

कोरोना भाइरस (कोभिड–१९) विरुद्ध सरकारले देशभर लगकडाउन गरेको अवस्थामा प्रदेश र स्थानीय सरकारले गरेका कामका विषयमा शनिबार भिडियो कन्फ्रेन्समार्फत प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीहरुसँग छलफल गरेका हुन्। प्रधानमन्त्री कार्यालय सिंहदरबारको एक्सन रुमबाट सबै मुख्यमन्त्रीहरुसँग प्रधानमन्त्री ओलीले छलफल गरेका हुन्।  

भिडियो कन्फ्रेन्समा प्रधानमन्त्री ओलीले कोभिड १९ संक्रमणको नियन्त्रण रोकथाम र उपचारका सन्दर्भमा स्थानीय तह र सबै प्रदेशहरुमा भइराखेका कामहरुको जानकारी लिएका छन्। भिडियो कन्फ्रेन्समा मुख्यमन्त्रीहरुले कोभिड–१९ का विरुद्धमा आ–आफ्नो प्रदेशमा भएका प्रयासहरुको बारेमा प्रधानमन्त्री ओलीलाई जानकारी गराएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।  

भिडियो कन्फ्रेन्समा कोरोना भाइरसको नियन्त्रणका लागि नपुगेका प्रयासहरुमा जोड दिने र समन्वयात्मक रुपमा संघ, प्रदेश र स्थानीय सरकारबीच काम गर्नुपर्ने सन्दर्भमा छलफल भएको उनले बताए।

 यस्तै अहिले भइराखेका प्रयासहरु समन्वयात्मक ढंगले अझ प्रभावकारी बनाउनुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिएको उनले बताए। प्रधानमन्त्री ओलीले सीमा नाकामा कडाई गरिने, लकडाउनलाई निरन्तरता दिने र ससंक्रमणको खतरालाई कुनैपनि भावुक कुराहरु गरेर लापरबाही नगरिने विषयमा मुख्यमन्त्रीहरुलाई स्पस्ट हुन आग्रह गरेको उनले बताए।  भिडियो कन्फ्रेन्समा कुनैपनि हिसाबले संक्रमण फैलिने स्थिति नहोस भन्नका लागि सुरक्षाकर्मी, प्रशासन, स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारले उचित ध्यान दिने विषयमा समेत छलफल भएको थियो।  

नागरिकको जीवन रक्षाका लागि लकडाउन गरिएकोहुनाले जीवनरक्षामा केन्द्रीत हुने र नागरिकलाई दु:ख दिनका लागि लकडाउन गरिएको होइन भन्ने विषयमा स्पष्ट गर्नुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिएका थिए। सरकारले योजनाबद्ध रुपले काम गरेको स्पष्ट पार्दै कुनैपनि समय वा १५/१५ दिनमा निर्देशन दिने तरिकाले काम नगर्ने र त्यसप्रकारको संयन्त्रको खोजि नगर्नपनि मुख्यमन्त्रीहरुलाई प्रधानमन्त्री ओलीले आग्रह गरेको प्रेस सल्लाहकार थापाले बताए। जनतामा मनोबैज्ञानिक त्रास नहोस भन्नका लागि सबै तहका सरकारले ध्यान दिनुपर्ने, क्वारेन्टाइनको व्यवस्था गर्नुपर्ने, क्वारेन्टाइनमा बस्नुपर्नेलाई अनिवार्य क्वारेन्टाइनमा राख्नुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिए।

भिडियो कन्फ्रेन्समा सबै प्रदेशका मुख्यमन्त्रीहरुले संक्रमणको अवस्था खतरापूर्ण हुँदासम्म लकडाउन प्रति नरम हुन नहुने कुरा राखेका थिए। मुख्यमन्त्रीहरुले छिमेकी मुलुक भारतमा संक्रमणको खतरा बढीरहेकाले लकडाउनको अवस्थालाई कायम राख्नुपर्नेमा जोड दिएको थापाले बताए।

 

प्रकाशित: २९ चैत्र २०७६ ११:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App