२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

रक्सी जफत गरेर नष्ट गरिएकामा कांग्रेस पनि विरोधमा उत्रियो

खोटाङ– खोटाङमा लोकल रक्सी जफत गरेर नष्ट गरिएकामा कांग्रेसले विरोध जनाएको छ। गत चैत ६ गते जिल्ला प्रशासन कार्यालय, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, करदाता सेवा कार्यालय, घरेलु तथा साना उद्योग र उद्योग वाणिज्य संघको प्रतिनिधि सम्मिलित टोलीले दिक्तेलबजारका विभिन्न होटलबाट लोकल रक्सी जफत गरेर नष्ट गरेपछि कांग्रेसको दिक्तेल रुपाकोट मझुवागढी नगर कार्य समितिले विज्ञाप्तीमार्फत विरोध जनाएको हो।

जन्मदेखि मृत्युसम्मका सामाजिक परम्पराका कार्यमा उपयोग हुने रक्सी नष्ट गरिएकामा आदिवासी जनजाती र जातीय संगठनले समेत बिरोध जनाइरहेका बेला कांग्रेस नगर समितिले आइतबार विज्ञप्ती जारी गर्दै साना व्यवसायीलाई आतंकित पार्नेगरी धर्म, संस्कार र संस्कृतिसँग जोडिएको लोकल रक्सीलाई जफत गरेर पोख्नु निन्दनीय भएको उल्लेख गरेको छ। अनुगमनकाक्रममा नियतवस ठूला होटललाई छाडेर साना होटलका रक्सी मात्र जफत गरेर विभेदपूर्ण व्यवहार गरिएको कांग्रेस नगर सभापति दुर्गाप्रसाद घिमिरेले बताए। दिक्तेल बजारमा सञ्चालित ठूला होटलमा लोकल रक्सी राख्ने गरिएको भए पनि साना होटलका रक्सी मात्र जफत नगरिएकामा प्रश्न उठाइएको छ। ‘समय–समयमा बजार अनुगमन गरिनु प्रसंसनीय कार्य हो,’ सभापति घिमिरेले भने, ‘तर ठूला होटललाई छुट र साना होटललाई कारबाही गरिनु लज्जास्पद विषय हो।’

कांग्रेसले विदेसी रक्सी आयतमा रोक लगाएर स्थानीय रक्सीलाई कानूनी परिधिमा ल्याएर स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न स्थानीय सरकार समक्ष माग गरिएको छ। ‘लोकल रक्सी बिक्री वितरणमा कानूनी व्यवस्था गरि व्यवसायीकरुपमा उत्पादन तथा खपत गर्नेतर्फ ध्यान दिने कि विदेसी रक्सी खपतलाई जोड दिने?,’ विज्ञप्तीमा प्रश्न छ, ‘जिल्लाको अर्थतन्त्र कहिलेसम्म बाहिर पठाउने स्थानीय सरकार गम्भीर भएर सोच्नु पर्छ की पर्दैन?’ दिक्तेल बजारका विभिन्न होटलबाट ९ हजार मूल्य बराबरको करिब ६० लिटर रक्सी जफत गरेर नष्ट गरिएको थियो।

परापूर्वकालदेखि जन्म, मृत्यु, शुभकार्य, चाडपर्व, उत्सव लगायतका संस्कार र साँस्कृतिक कार्यमा प्रयोग हुने रक्सी नष्ट गर्दा आदिवासी जनजाती समुदाय असन्तुष्ट छन्। साना उद्योगकारुपमा रहेको रक्सी उत्पादनका कामलाई कानुनीरुपमा बैधता दिने प्रवन्ध मिलाउनुको सट्टा नष्ट गरेर आदिवासी जनजातीको परम्परा र संस्कारमाथि आक्रमण गर्ने काम गरिएको भन्दै आदिवासी जनजाती एवं जातीय संगठनले चैत ७ गते प्रशासनलाई ज्ञापनपत्र बुझाएको थियो।

प्रकाशित: ९ चैत्र २०७६ ०७:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App