१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

नेकपाले अबिर, खादा र माला नलगाउने

अर्घाखाँची- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी अर्घाखाँचीले कुनै पनि कार्यक्रममा अबिर, खादा र माला नलगाउने निर्णय गरेको छ। नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकीकरणपछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अर्घाखाँचीको तेस्रो पूर्ण बैठकले जुनसुकै कार्यक्रममा अबिर, खादा र माला नलगाउने र अतिथीका लागी छुट्टै मञ्च बनाउन नपाउने निर्णय गरेको हो।

यो निर्णय भएसँगै अबदेखि कुनै कार्यक्रममा अतिथी र आयोजकका नाममा अबिर, खादा र माला लगाउन पाईने छैन भने अतिथी बनेर छुट्टै मञ्चमा बस्न नपाईने व्यवस्था भएको छ। सबै समान हुनुपर्ने पार्टीको धारणा रहेकाले यो निर्णय गरिएको पार्टी अध्यक्ष चेतनारायण आचार्यले जानकारी दिए। प्रदेश सांसदसमेत रहेका आचार्यले बढी तामझाम गर्न कम्युनिष्टहरुलाई शोभा नदिने बताए। ‘जनताको बिचमा निरन्तर गईराख्नु पर्छ, उनले भने,‘तामझम आवश्यक नै छैन, त्यसैले यो निर्णय गर्‍यौं।’

यस्तै बैठकले तिन महिने सांगठानिक अभियान चलाउने, शहिद सप्ताह मनाउने, पार्टी सदस्यतालाई व्यवस्थित बनाएर लैजाने निर्णय भएको पार्टी सचिव ठाकुरकुमार बिकले जानकारी दिए।

कार्यक्रममा प्रमुख अतिथी नेपाल कम्युनिस्ट पार्टी नेकपा स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले पार्टी एकतालाई जनस्तरसम्म सुदृढ गरेर लैजानु पर्ने बताए। कार्यकर्तामाझ भावनात्मक एकता कायम गरि पार्टीको काममा खट्नुपर्नेमा जोड दिए।

कार्यक्रममा मन्तव्य राख्दै पार्टी स्थायी कमिटीका सदस्य तथा प्रदेश–५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले नेपाल कम्युनिस्ट पार्टी नेकपालाई श्रमजिवी वर्गको मन जित्ने पार्टी बनाउनुपर्ने बताए। सुदृढ र सबल पार्टी निर्माणको लागि उच्च मनोबलका साथ काम गर्न कार्यकर्तालाई उनको आग्रह थियो। नेकपाका जिल्ला अध्यक्ष चेतनारायण आचार्यको अध्यक्षता र सचिव ठाकुरकुमार बिकको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य नजिर मियाँ, बोमबहादुर बिक, शुशीला श्रीपाली लगायतले मन्तव्य राखेका थिए।

 

प्रकाशित: १७ फाल्गुन २०७६ ०८:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App