वीरेन्द्रनगर- लोपोन्मुख राउटे समुदायका युवा दिपक शाही (२०) दिनमा पाँचवटा कोसी निर्माण गर्छन्। तर, विडम्बना उनले काठबाट बनाएका सामग्रीले बजार पाउँदैनन्। जसले गर्दा उनी बेरोजगार जसरी बस्नु पर्छ। १९ वर्षीय हिरासिंह शाहीको पनि उस्तै समस्या छ। बनाएका सामग्रीले बजार नपाउँदा र गाउँघरमा पनि बिक्री नहुँदा उनलाई परिवार पाल्न समस्या छ। ‘सामग्री बिक्री हुने भए सधै त्यही काम गर्थे,’ उनले भने, ‘अहिले त्यतिकै बसेको छु।’ यी दुई पात्र मात्र हुन्। राउटे समुदायले बनाएका सामग्री बिक्री हुन छाडेपछि उनीहरूलाई आत्मनिर्भर बनाउन चुनौती देखिएको छ।
राउटे समुदायको प्रमुख पेसा नै काठबाट सामग्री निर्माण गर्नु हो। उनीहरू कोसी, मधुस, पिर्कालगायतका सामग्री बनाउँछन्। ती सामग्री दिने र सोही बराबर अन्न ल्याएर उनीहरू जीविकोपार्जन गर्छन्। केही सामग्री पनि बजारसम्म पुर्याउँछन्। तर अहिले बजारमा प्लास्टिक र फलाम, स्टीलका सामग्री आउँदा उनीहरूले बनाएका सामग्री वास्थापित हुँदै गएका छन्। ‘सामग्री बिक्री हुन छाड्यो,’ राउटे समुदायका खगेन्द्र शाहीले भने, ‘जसले गर्दा खान समस्या भएको छ।’ सामुदायिक वनले काठ काट्न रोक लगाएकाले काठका सामग्री निर्माण गर्न पनि समस्या भएको र निर्माण गरेका ४० वटा काठका सामग्री बिक्री हुन बाँकी रहेको उनले बताए।
उनीहरूले निमार्ण गरेका सामग्रीको सरकारले बजारीकरण गर्नुपर्ने राउटे लोपोन्मुख सीमान्तकृत वर्ग उत्थान प्रतिष्ठान नेपालकी केन्द्रीय अध्यक्ष सत्यादेवी खड्काले बताइन्। ‘जंगली जनावरलाई बचाउन सरकार विभिन्न रणनीति बनाउँछ,’ उनी भन्छिन्, ‘तर राउटे समुदाय मान्छे हुन्। उनीहरूलाई बचाउन सरकारले ध्यान दिँदैन।’ राउटे समुदायलाई आत्मनिर्भर बनाउन सरकारले विभिन्नखालका सीपमूलक तालिम दिनुपर्ने र उत्पादनशील काममा लगाउनु पर्ने उनको भनाइ छ।
राउटे समुदायले बनाएका सामग्री बिक्री नभएपछि राउटे लोपोन्मुख सीमान्तकृत वर्ग उत्थान प्रतिष्ठान नेपालकी केन्द्रीय अध्यक्ष खड्काले उनीहरूका सबै सामग्री खरिद गरेकी छन्। उनले तीन बजारसम्म पु¥याउने बताउँछिन्। राउटेका सामग्री बिक्री नहुँदा उनीहरूको जीविकोपार्जनमा समस्या परेकाले सबै सामान किनेको भन्दै उनले भनिन्, ‘सधै यसरी खरिद गर्न समस्या हुन्छ।’
फिरन्ते जीवनशैली भएका राउटेहरू विभिन्न जंगलहरूमा बसाइ गर्दै बस्छन्। दिनभर काठका सामग्री निर्माण गर्नु, माग्नका लागि नजिकका गाउँमा पुग्नु उनीहरूको दिनचर्या हो। आफूले बनाएको काठको भाँडा बोकेर अन्न साट्न गाउँमा पुग्ने र फर्केर आउन भ्याउने समय अन्दाज गरेर यिनीहरू बासको प्रबन्ध गर्छन्। सम्पत्तिका रूपमा यिनीहरूसँग पकाउने भाँडा, दाउरा काट्ने र शिकार गर्ने केही हतियार मात्र हुन्छन्।
राउटे समुदायको परम्परागत सीप बचाउन सामुदायिक वनको हस्तक्षेप रोक्नुपर्ने राउटे लोपोन्मुख सीमान्तकृत वर्ग उत्थान प्रतिष्ठान नेपालकी कर्णाली प्रदेश अध्यक्ष कृष्णादेवी ओलीले बताइन्। राउटे समुदायलाई व्यावसायिक बनाउने पर्ने भन्दै उनले जसका लागि राज्यले उनीहरूलाई सीपमूलक तालिम दिनुपर्ने बताइन्। जति उनीहरूले बनाएका सामग्रीले बजार पाउँछ त्यतिनै उनीहरू आत्मनिर्भर हुने उनको भनाइ छ।
जंगलबाट काठ ल्याएर काठका सामग्री बनाउनु यो समुदायको पुर्खाैली पेसा हो। काठबाट निर्मित सामग्री उनीहरू एक सय रूपैयाँदेखि पाँच सयसम्ममा बिक्री गर्छन्। राउटे समुदायको मुख्य आम्दानीको स्रोत काठबाट सामग्री बनाउनु हो। बनाएका सामग्रीले बजार पाउन समस्या भएपछि यो पेसा संकटमा पर्दै गएको छ। ‘कोसी मधुस लिएर हामी गाउँगाउँ जान्छौं। कहिले धानसँग साट्छौं, कहिले पैसामा बेचेर पनि आउँछौं,’ दिपकले भने, ‘सधैं बिक्री हुन्छ भन्ने पनि हुँदैन। कहिले बिक्री नभएर खाली फर्कनुपर्छ।’
प्रकाशित: १३ फाल्गुन २०७६ १३:०८ मंगलबार