७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

शिक्षक नियमित गर्न विद्यालयमा ई–हाजिरी

काठमाडाैँ - नियमित पठनपाठन र शिक्षकको निरन्तरताका लागि बाजुराको जगन्नाथ गाउँपालिकाले विद्यालयमा विद्युतीय हाजिरी जडान गरेको छ।

विद्यालयमा शिक्षकको निरन्तरता र विद्यालय समयभित्र अनिवार्य पठनपाठन गराउन गाउँपालिकाले विद्युतीय हाजिरी सञ्चालन गरेको हो ।गाउँपालिकाबाटै निगरानी गर्ने गरी विद्युतीय हाजिरी शुरु गरिएको जगन्नाथ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विनोद गैरेले बताए। विद्यालय नियमित सञ्चालन भए नभएको, शिक्षक आए नआएको जस्ता गुनासा सुन्न नपरोस् र शिक्षा विकासमा सकारात्मक प्रभावका लागि विद्युतीय हाजिरी शुरु गरिएको उनको भनाइ छ।

गाउँपालिकाले नमूना परीक्षणका लागि पहिलोपटक मावि तहका विद्यालयमा जडान गर्ने र विस्तारै अन्य गाउँपालिकामा रहेका सबै आधारभूत विद्यालयमा समेत जडान गर्ने तयारी थालिएको छ। तत्काल गाउँपालिकाको देवलकोट मावि, कैलाश मावि र सरस्वती माविमा पहिलोपटक विद्युतीय हाजिरी शुरु गरिएको प्रविधि अधिकृत एवं सूचना अधिकारी सिर्जना शाहीले जानकारी दिएकी छन्। विद्युत्, कम्प्युटर र अन्य आवश्यक सामग्री जडानपछि विद्युतीय हाजिरी शुरु गरिएको शाहीको भनाइ छ।

विद्युतीय हाजिरी जडानसँगै शिक्षकले बिहान १० बजे र साँझ ४ बजे अनिवार्य रुपमा हाजिरी गर्नुपर्ने हुन्छ। शिक्षा विकासको विषयलाई प्रमुखताका साथ जोड दिएको गाउँपालिकाले जगदेखि नै शुरु गर्ने गरी कार्य थालनी गरेको गाउँपालिका अध्यक्ष कालीबहादुर शाहीले बताए। विद्युतीय हाजिरी जडानपछि शिक्षक नियमित भएको र निगरानी गर्न पनि सजिलो भएको देवलकोट मावि विद्यालय व्यस्थापन समितिका अध्यक्ष कृष्णबहादुर बमको भनाइ छ। शिक्षाको गुणस्तर सुधारकै लागि विद्युतीय हाजिरी जडान गरिएको र सामान्य भए पनि केही फरक पर्ने विश्वास गाउँपालिकाले लिएको छ।

गाउँपालिकाले शिक्षा क्षेत्रको गुणात्मक सुधारका लागि अरु नयाँ अभ्यासको थालनी गरिरहेको छ। ई–हाजिरसँगै विद्यालय निरन्तरता र प्रभावकारी शिक्षण सिकाइलाई ध्यानमा राखेर गाउँपालिकास्तर बाटै छड्के अनुगमन र विद्यालयमा विद्यार्थी हाजिरी कार्डको पनि शुरुआत गरिएको छ। पछिल्लो समय विद्यालय आएका विद्यार्थी पनि बीचमै घर जाने, अधिकांश नियमित विद्यालय नआउने र शिक्षकले पनि प्रभावकारी शिक्षण सिकाइमा ध्यान नदिने जन गुनासो बढेपछि गाउँपालिकाबाटै अनुगमन र अध्ययन टोली खटाउने गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद गैरेले बताए।

प्रकाशित: ३ फाल्गुन २०७६ ०७:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App