२९ कार्तिक २०८१ बिहीबार
image/svg+xml
समाज

पहिचानका लागि सडकमा स्तम्भ

तेह्रथुमको लालिगुराँस नगरपालिकाको केन्द्र वसन्तपुर बजारस्थित गुराँस स्तम्भ। तस्बिर : गिरिराज/नागरिक

पाँचथर – तेह्रथुमको लालिगुराँस नगरपालिका केन्द्र वसन्तपुर बजारबिच रहेको गुराँसको स्तम्भलाई पृष्ठभूमि बनाएर फोटो खिच्नेहरू धेरै हुन्छन्। यो रुट भएर पहिलोपल्ट यात्रा गर्नेहरू फोटो खिच्न हतारिन्छन्। सिमेट, ढुंगा र रड प्रयोग गरी फुलेको गुराँसको बोटझै बनाइएको सो स्तम्भमार्फत सोही क्षेत्रको पहिचान झल्काइएको छ।

यो बजार गुराँसको राजधानी भनेर परिचित तिनजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्रको काखमा पर्छ। गुराँसकै बगैंचामा गएर फोटो खिच्नलाई सबैसँग पर्याप्त समय हुँदैन। गुराँस पुग्ने सिजनमा मात्र पुगिन्छ भन्ने पनि हुँदैन। तर, नयाँ सहरमा प्रस्तावित वसन्तपुर बजारमा गुराँसको पहिचान स्तम्भको माध्यमबाट दिन खोजेको देखिन्छ।

यो दृश्य वसन्तपुरको मात्र होइन तेह्रथुम, धनकुटा र भोजपुरका सडकमा पनि भेटिन्छ। अन्यत्र देउता, सहिद, राजनीतिज्ञ, साहित्यकार, राजामहाराजा लगायतको स्तम्भ भए पनि पूर्वी पहाडका यी जिल्लामा स्थानीय पहिचान झल्काउने किसिमका स्तम्भ राखिएका छन्। कोसी राजमार्ग, पुष्पलाल (मध्यपहाडी) लोकमार्ग, नारदमणि थुलुङ राजमार्गमा रहेका बजार तथा बस्तीमा स्थानीय भूगोल, संस्कृतिलगायत स्थानीय महत्वका बिम्ब स्तम्भमार्फत झल्काइएको भेटिन्छ।

भूगोलको नाम, स्थानीय उत्पादन, प्राकृतिक महत्व तथा सांस्कृतिक हिसाबले स्तम्भ बनाइएको भेटिन्छ। मानवीय चहलपहल बढी हुने ठाउँमा स्थानीय विशेषताअनुरूप स्तम्भ बनाएर पहिचना झल्काउन खोजिएको तेह्रथुम सदरमुकाम म्याङलुङका युवा विपिन निङलेखु बताउँछन्। स्थानीयको सक्रियता र सरकारको सहयोगमा ठाउँपिच्छेका पहिचानमा आधारित स्तम्भ सडकमा भेटिन्छन्।

तेह्रथुमको सदरमुकाम म्याङलुङमा बिरालोको स्तम्भ रहेको छ। ढुंगामा बिरालोको आवाज आएका किंवन्तिअनुसार यो ठाउँको नाम म्याङलुङ हुन गएको बताइन्छ। लिम्बु भाषामा म्याङ भनेको बिरालो र लुङ भनेको ढुंगा भएको निङ्लेखु बताउँछन्। यस्तै तेह्रथुमकै लसुने भन्ने ठाउँमा लसुनको स्तम्भ बनाइएको छ।

धनकुटाको हिले तोङ्बाका लागि प्रचलित छ। यही हिलेबजारको मुख्य चोकमा तोङ्बाको स्तम्भ रहेको छ। यस्तै धनकुटाकै सिदुवा बजारमा फूलकोभीको स्तम्भ रहेको छ। फूलकोभी तथा बन्दाकोभी उत्पादनको पकेट क्षेत्र भएको यो ठाउँमा यो स्तम्भ बनाइएको हो। सब्जीका लागि अत्यन्त महत्पूर्ण ठाउँ त्यसमा पनि कोभीको महत्व भएकाले यो ठाउँको पहिचान झल्काउने गरी स्तम्भ बनाइएको स्थानीय अर्जुन घिमिरे बताउँछन्। फूलकोभीको स्तम्भले स्थानीय तरकारी उत्पादनको झल्को दिनुका साथै बजारको शोभा बढाएको उनको भनाइ छ।

धनकुटाको धनकुटा बजारमा एभोकाडो, जितपुर बजारमा रुद्राक्ष, भेडेटारमा शङ्ख, राजारानीमा च्याबु्रङ, हात्तीखर्कमा हात्ती, सहिदभूमिमा सुन्तलाको स्तम्भ रहेको छ। यस्तै भोजपुरको जरायोटारमा जयारोको स्तम्भ भेटिन्छ। अन्यत्र पनि सिको गर्दै यस्ता स्तम्भ बनाउन थालिएको छ। सडक मार्ग भएर देशविदेशका मान्छेले यात्रा गर्ने भएकाले गाउँको पहिचान तथा महत्व सडकमै देख्न मिलोस् भनेर यस्तो स्तम्भ बनाइने गरेको स्थानीयको तर्क छ।

प्रकाशित: १४ माघ २०७६ ०३:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App