१७ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

गाईघाट–बराहपोखरी बस सेवा

खोटाङ – खोटाङको धार्मिक तथा पर्यटकीय स्थल बराहपोखरी पुग्न उदयपुरको गाईघाटबाट सिधै बससेवा सुरु गरिएको छ। नेपाल सरकारले सयवटा गन्तव्यको सूचीमा समावेश गरेको बराहपोखरीमा नेपाल भ्रमण वर्ष मनाइरहँदा गाईघाटबाट सिधा बस सेवा सुरु गरिएको हो।

बराहपोखरी गाउँपालिका–१ स्थित सो पोखरी धार्मिक तथा पर्यटकीय स्थलका रूपमा परिचित छ। सो स्थलमा आवतजावतका लागि गाईघाटबाट हिमाली यातायातले बस सेवा सुरु गरेको बराहपोखरी गाउँपालिकाका अध्यक्ष शालिकराम बन्जराले बताए। गाईघाटबाट साउने–फोक्सिङटार हुँदै बराहपोखरी पुग्ने बस छुट्न थालेपछि पर्यटक तथा दर्शनार्थीलाई तराईबाट उदयपुर हुँदै बराहपोखरी आवत–जावत गर्न सहज भएको छ। ‘गाईघाटबाट बराहपोखरीका लागि बस छुट्न थालेको छ,’ गाउँपालिका अध्यक्ष बन्जराले भने, ‘बिहीबार यसको औपचारिक सुरुवातको घोषणा गरिनेछ।’ हाललाई फोक्सिङटारस्थित सुनकोसीमा अस्थायी बेलिब्रिज मात्र भएकाले गाईघाटबाट हिउँदमा मात्र बसमार्फत सिधा बराहपोखरी पुग्न सकिने छ।

बराहपोखरी पुग्न उदयपुरको गाईघाट–साउने–धाप्लाङ–धर्तुङ हुँदै साउनेचौर–सिन्ताङ सडक, गाईघाट–साउने–फोक्सिङटार–खोटाङबजार–ठुलीबेंसी सडक र भोजपुरतर्फबाट चिसापानी–निगाले–कार्कीछाप सडक निर्माण भइसकेको छ। धाप्लाङ घाटमा भने मोटरेबल पुल नभएकाले झोलुंगे पुलबाट सुनकोसी पार गर्नुपर्ने बाध्यता छ।

४ दशमलव ४६ हेक्टरमा फैलिएको ‘अर्ध चन्द्राकार’ पोखरी जोड्ने सडक निर्माणसँगै आन्तरिक पर्यटक आउने क्रम बढ्दो रहेको स्थानीयले बताएका छन्। चारैतिर पहाडले घेरिएको बराहपोखरीमा मेला भर्न र शंखेश्वरी महादेवको दर्शन गर्न जिल्लाभित्र तथा बाहिरबाट पर्यटक एवं दर्शनार्थी आउने गरेका छन्। ३३० मिटर लम्बाइ र २१० मिटर चौडाइ रहेको पोखरीको पानीले स्नान गर्दा रोगव्याधी निको हुने तथा आफ्नो मनोकांक्षा पूरा हुने धार्मिक मान्यता रहेको छ। मुहान र निकास नदेखिने पोखरीमा प्रशस्त मात्रामा रातो माछा पाइने गरेको छ।

पोखरीको सतह घट्न नदिन खोलाको पानी
धार्मिक तथा पर्यटकीय स्थल बराहपोखरीको सतह घट्न नदिन तीनवटा स्रोतको पानी हालिएको छ। २०७२ सालको भूकम्पपछि पानीको सतह घट्दै गएपछि स्थानीय राँकुली खोला र कोकाखुन्द्रे खोलाको पानी पाइपमार्फत बराहपोखरीमा हालिएको छ। यस्तै, भिरखापा शिरको पानी पनि पोखरीमा हालिएको वडाध्यक्ष टंक मगरले बताए। गाउँपालिकाकै प्रमुख पर्यटकीय स्थलको रूपमा विकास गर्ने सम्भावना रहेको बराहपोखरीको पानी भित्रभित्रै साबिकको बराहपोखरी–४ भुल्केमा निकास हुने गरेको स्थानीयको दाबी छ। वराहपोखरीमा हरिबोधनी एकादशी, बालाचतुर्दशी, माघे सङ्क्रान्ति, शिवरात्रि र रामनवमीमा मेला लाग्ने गरेको छ।

प्रकाशित: ३ माघ २०७६ ०२:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App