चिनियाँ बौद्धमार्गीहरूको चाहनामा निजी क्षेत्रले लगानी गर्ने उक्त परियोजना सञ्चालनका लागि नेपाल सरकारले अनुमति दिइसकेको छ। परियोजनामा सय मिटर अग्लो बुद्ध मूर्तिसहित केही नयाँ निर्माण र पुननिर्माणको प्रस्ताव गरिएको छ।
नेपालका लागि चिनियाँ पूर्व राजदूत ली थप्याओ अध्यक्ष रहको बेइजिङ जोङताई जिङ्सु इन्भेष्टमेन्ट कम्पनीले परियोजना सञ्चालनको अनुमति पाएको हो। "इस्लामको मक्का, क्याथोलिकको भ्याटिकन सिटी जस्तै लुम्बिनीलाई अन्तर्राष्ट्रिय बुद्धिष्ट सेन्टरका रुपमा विकास गर्न यो परियोजना ल्याइएको हो", पूर्व राजदूत लीले बिहीबार बेइजिङमा नागरिकसँग भने, "चिनियाँ बुद्धिस्ट एसोसिएसन, बौद्ध गुम्बा र भिक्षुहरूले बुद्धको जन्म स्थल लुम्बिनीलाई अन्तर्राष्ट्रिय बुद्धिष्ट सेन्टरका रुपमा विकास गरी नेपालबाट संसारभर शान्तिको सन्देश बाँडन् चाहेका छन्।"
संस्कृति तथा राज्य पुनर्संरचना मन्त्रालयका सचिव मोदराज डोटेलका अनुसार परियोजनामा सय मिटर अग्लो बुद्ध मूर्ती निर्माण गर्ने, मायादेवी मन्दिरका बाँकी रहेका भागको उत्खनन गर्ने, अन्तर्राष्ट्रिय बौद्ध संग्राहालय निर्माण गर्ने र लुम्बिनी क्षेत्रभित्र प्रदुषणरहित बस सञ्चालन गर्ने प्रस्ताव छ। "लुम्बिनीमा अहिलेसम्मकै ठूलो यो परियोजना प्रस्तावलाई अगाडि बढाउने मनसायले सरकारले स्वीकृति दिएको हो", डोटेलले भने, "निजी लगानी भएकाले विस्तृत डिजाइन र चीन सरकारको सहमति पर्खिरहेका छौँ।"
स्रोतका अनुसार सरकारले स्वीकृति दिइसकेकाले लुम्बिनी विकास कोष र चिनियाँ कम्पनीबीच एक महिनाभित्र परियोजनामा सम्झौता हुँदैछ। परियोजनाका नेपाल संयोजक विनोदबहादुर श्रेष्ठले विश्वभरका बुद्धिष्टहरूलाई आकर्षित गर्न सय मिटर अग्लो बुद्ध मूर्ति निर्माण गर्न लागिएको अर्थ्याउँदै नेपाली कालिगढहरूले नै काम गर्दा पनि त्यसमा चार अर्ब खर्च हुने अनुमान गरिएको बताए। "लुम्बिनीमा थुप्रै देशले आ-आफ्नो मान्यता अनुसारका बौद्ध मन्दिर बनाएका छन्, ती सबैलाई समेट्ने गरी अन्तर्राष्ट्रिय बौद्ध केन्द्र बनाउन लागिएको हो", श्रेष्ठले भने।
सय मिटर अग्लो बनाउँदा पनि लुम्बिनीको बुद्ध मूर्ति विश्वको सातौँ नम्बरमा पर्नेछ। ३० करोड बौद्ध धर्मका अनुयायी रहेको चीनमा अहिलेसम्म विश्वका अग्ला दशमध्ये पाँच वटा बुद्ध मूर्ती छन्। हेनान राज्यको लुसानमा अहिलेसम्मकै अग्लो १२८ मिटरको मूर्ती छ। हजार टनको यो मूर्ती आठ वर्षअघि निर्माण गरिएको थियो। चीनकै हाइनानमा १०८ मिटर, झेङझोउमा १०६, हुनानमा ९९ र उक्सीमा ८८ मिटर अग्ला बुद्ध मूर्ती छन्। अहिलेसम्मको दोस्रो अग्लो ११६ मिटरको मूर्ती म्यानमार र तेस्रो ११० मिटर अग्लो जापानमा छन्। हङकङ, मकाउ, ताइवान र मुख्यभूमी चीनका बौद्धमार्गीहरूको लगानीमा चीनमा पछिल्ला दश वर्षमा यस्ता दश बढी बुद्ध मूर्ती निर्माण गरिएका छन्। धार्मिक र पर्यटकीय हिसवाले यी क्षेत्रमा हरेक वर्ष दशौँ लाख मानिसले भ्रमण गर्दै आएका छन्।
चीनको सियानबाट अनुभवी र दक्ष व्यक्तिहरू ल्याएर मायादेवी मन्दिरको वरिपरी बाँकी रहेको पुरातत्वको उत्खनन् गर्ने र मन्दिर नजिकै विश्व स्तरको पवित्र धार्मिक बगैँचा निर्माण गरिने श्रेष्ठले बताए। नेपाली शैलीको अन्तर्राष्ट्रिय बौद्ध संग्रहालय र अनुसन्धान केन्द्र एकै ठाउँमा निर्माण गरिने छ भने प्रदुशणरहित विद्युतीय बस र नहरमा डुङ्गा सञ्चालन गर्ने योजना छ। चिनियाँ कम्पनीले थप बजेटमा पाँच तारे पर्यटकीय होटल सञ्चालन गर्ने प्रस्ताव पनि राखेको छ। तर सचिव डोटेलका अनुसार अन्य काम शुरु भएपछि मात्र सरकारले होटल र नहरमा डुङ्गा सञ्चालनका लागि स्वीकृति दिने सोचाई बनाएको छ।
लुम्बिनी विकास कोष र नेपाल सरकारको नियम कानुनमा रहेर वैज्ञानिक तरिकाले ऐतिहासिक सम्पदालाई संरक्षण गरिने बताउँदै नेपालमा सबभन्दा लामो समय साढे चार वर्ष राजदूतको रुपमा बिताएका लीले लुम्बिनी परियोजना नाफामुखी नभएर चिनियाँले नेपालीलाई दिन लागेको नयाँ किसिमको सहयोग भएको बताए। लुम्बिनी विकास परियोजनामा आफूले दुई-तीन वर्षदेखि काम गरिरहेको बताउँदै उनले भने, "करिब पाँच वर्षमा लुम्बिनीलाई अन्तर्राष्ट्रिय बुद्धिष्ट सेन्टरका रुपमा विकास गरी नेपाल सरकारलाई चिनियाँ जनताको उपहारको रुपमा हस्तान्तरण गर्नेर्छौँ।"
प्रकाशित: ५ मंसिर २०६७ ००:१२ आइतबार





