२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
समाज

पोखराका २ जना टोले गुण्डा नक्कली पेस्तोलसहित पक्राउ, स्वीप अप्रेसनमा थप ६१ जना नियन्त्रणमा

पोखराका दुई जना टोले गुण्डा पक्राउ परेका छन्। पोखरा–८ सिमलचौरका दुई जना टोले गुण्डालाई कास्की प्रहरीले नक्कली पेस्तोलसहित पक्राउ गरेको हो। पक्राउ पर्नेमा तनहुँ व्यास नगरपालिका वडा नम्बर–२ स्थायी घर भई हाल पोखरा–८ सिमलचौर बस्दै आएका ३२ वर्षिय सुवास कायस्थ र ३१ वर्षिय सुरज कायस्थ रहेको कास्की प्रहरीका सूचना अधिकारी तथा प्रहरी निरीक्षक गणेश पाण्डेले जानकारी दिए।  

प्रहरीले उनीहरुको साथबाट २ थान नक्कली पेस्तोलसमेत बरामद गरेको छ। पक्राउ परेकाहरुको घरकोठा खानतलासी गर्दा नक्कली पेस्तोल एक थान, पेस्तोल कभर एक थान, नोक दुई थान र रडको स्लाईड स्टिक (लठ्ठी) एक थान बरामद भएको सूचना अधिकारी पाण्डेले जानकारी दिए।

निजहरुले हतियार देखाई डरत्रास देखाएको भन्ने सूचनाका आधारमा वडा प्रहरी कार्यालय वैदामबाट गएको टोलीले उनीहरुलाई पक्राउ गरेको उनले बताए। ‘उनीहरुमाथि अनुसन्धान जारी छ’–उनले भने।

त्यस्तै, कास्की प्रहरीले स्वीप अप्रेसन पनि जारी राखेको जनाएको छ। पछिल्लो पटक स्वीप अप्रेसनका क्रममा थप ६१ जनालाई पक्राउ गरेको सूचना अधिकारी पाण्डेले जानकारी दिए। विहीबार मात्र १० घण्टा लामो स्वीप अप्रेसनमा १६१ जनालाई पक्राउ गरेको कास्की प्रहरीले विहीबार राती ९ बजेदेखि शुक्रबार विहान ६ बजेसम्म गरेको ९ घण्टा लामो स्वीप अप्रेसनका क्रममा थप ६१ जनालाई पक्राउ गरेको उनले बताए।

समाजमा अशान्ति फैलाउने, टोले गुण्डाका रुपमा धम्की दिने, गुण्डागर्दी गर्ने, लागूऔषध बिक्री वितरण तथा सेवन गर्ने, मादक पदार्थ सेवन गरी हो–हल्ला गर्ने र रातीको समयमा शंकास्पद रुपमा हिँडडुल गर्नेहरुबिरुद्द स्वीप अपे्रसन चलाएको कास्की प्रहरीले निरन्तर अभियान जारी राखेको छ। पछिल्लो पटक पोखरा–२ र ४ को मोहरियाटोल र गैह्रपाटनबाट १४ जना, पर्यटकीय केन्द्र पोखरा–६ लेकसाईड र पोखरा–१७ ड्यामसाईडबाट २४ जना, पोखरा–८ र ९ को बगालेटोल, सभागृहचोक, शिवालयचोक र पृथ्वीचोकबाट ८ जना, पोखरा–१३ र १५ का काहुँडाँडा, काहुँखोला, रामबजार एरियाबाट २ जना, पोखरा–१८ र २० का सराङकोट, लामागाउँ, भलाम एरियाबाट ४ जना, र पोखरा–२६, २७, २९ र ३० का सुन्दरबजार, रिठ्ठेपानी, सैनिकवस्ती, खुदीखोला र साहुको खोर एरियाबाट ९ जनालाई नियन्त्रणमा लिइएको उनले जानकारी दिए।

यसअघि पक्राउ गरिएकाहरुमध्ये केहिलाई अनुसन्धान पश्चात सामान्य गल्तीकमजोरी गरेकालाई सम्झाईबुझाई सुध्रिने शर्तसहित छाडिएको, कसैलाई जरिवाना गरेर छाडिएको तथा गम्भीर गल्तीकमजोरी गर्नेलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताबिरुद्दको कसुरमा अनुसन्धान जारी राखिएको पाण्डेले बताए।

प्रकाशित: ११ वैशाख २०८३ २१:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App