२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

पूर्व एसएसपी दिपक रञ्जित राप्रपा काठमाडौं महानगर अध्यक्षमा निर्विरोध निर्वाचित

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौं महानगरपालिकाको अध्यक्षमा अवकाशप्राप्त वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दिपक रञ्जित निर्विरोध निर्वाचित भएका छन्।

राप्रपा काठमाडौं महानगरपालिकाको निर्वाचन समितिले तोकेको समयअनुसार आज दिउँसो १२ बजेसम्म अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गर्ने समय निर्धारण गरिएको थियो। निर्धारित समयभित्र रञ्जितको मात्रै उम्मेदवारी परेपछि उनी अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन्।

यसैगरी महानगर समितिका सदस्य पदका अन्य उम्मेदवारहरू समेत सर्वसम्मत निर्वाचित भएका छन्।

प्रहरी सेवामा रहँदा काठमाडौं, ललितपुर र भक्तपुरको नेतृत्व सम्हाल्ने अवसर पाउने रञ्जित हालसम्मका एकमात्र प्रहरी अधिकृत रहेको राप्रपाले जनाएको छ। काठमाडौंको भूगोल तथा स्थानीय अवस्थाबारे अनुभवी रञ्जितले महानगरको नेतृत्वमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

राप्रपा काठमाडौं महानगरको निर्वाचन कार्यक्रम सम्पन्न भए पनि निर्वाचित पदाधिकारीहरूको औपचारिक घोषणा भने भोलि साउन २३ गते शनिबार बिहान ८ बजे बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा हुने भएको छ।

घोषणासभालाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सम्बोधन गर्ने कार्यक्रम रहेको राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिएका छन्।

प्रकाशित: २२ श्रावण २०८३ १६:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App