अघिल्ला वर्षका तुलनामा ४०० मेट्रिकटन बढी रासायनिक मल उपलब्ध गराइए पनि व्यवस्थापन र वितरण कार्यविधिलाई बेवास्ता गरिएका कारण जिल्लामा मल अभाव देखिएको गुनासो गरिएको छ।
कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय कञ्चनपुरका प्रबन्धक हेमराज जोशीले यसवर्ष सात हजार ५०० मेट्रिकटनभन्दा बढी अनुदानको मल बिक्री–वितरण हुँदा पनि अभाव देखिनुलाई आफूले आश्चर्य मानेको प्रतिक्रिया दिए।
नौ वटा पालिका रहेको कञ्चनपुरमा गत वर्ष छ वटा पालिकामा सात हजार १०० मेट्रिकटन अनुदानको मल सहकारीमार्फत बिक्री–वितरण हुँदा त्यस बेला मल अभावको स्वर नसुनिएको उनले स्पष्ट पारे।
स्थानीय बेलौरी, पुनर्वास नगरपालिका र लालझाडी गाउँपालिकाका किसानले अनुदानको मल धनगढीस्थित कृषि सामग्री कम्पनी लिमिटेडबाट लैजाने गरेका छन्। शाखा प्रबन्धक जोशीले भने, ‘मल वितरणको विषय अनुसन्धान गर्नुपर्ने देखियो। पालिकाबाट अनुगमन आवश्यक छ। प्रशासन र हामीले मात्रै मल वितरणको नियमन गरेर पुगेन।’
कञ्चनपुरका छ वटा पालिकालाई ११० सहकारीमार्फत मल वितरण भइरहेको जानकारी दिँदै उनले भने, ‘सहकारीले पालिकाले तोकेको मूल्यभन्दा बढी रकम असुलेर मल वितरण गर्न पाइँदैन। सहकारीलाई युरिया प्रतिबोरा ९४४ रुपैयाँमा उपलब्ध गराइएको छ।’
उक्त कार्यालयका अनुसार यसवर्ष गत वर्षभन्दा ५०० मेट्रिकटन युरिया मल बढी बिक्री भइसकेको छ। गत वर्ष पुनर्वास, लालझाडी र बेलौरीका किसानलाई महेन्द्रनगर शाखाबाटै मल वितरण गर्दा पनि सात हजार मेट्रिकटन वितरणले पुग्ने गरेको वितरण संस्थाले जनाएको छ। प्रबन्धक जोशीले भने, ‘यसपटक तीन वटा पालिकालाई घटाएर सात हजार ५०० मेट्रिकटन मल वितरण हुँदा अभाव देखिनुले वितरणमा अनियमितताको शङ्का पैदा गरेको छ।’
यसैबीच, कञ्चनपुरको बेलौरी नगरपालिका–२ गोकुलपुरका तीन जना किसान सीमावर्ती भारतीय बजारमा युरिया मलसहित बिहीबार पक्राउ परेका थिए। उनीहरू जरिवाना तिरेर फर्किएको बेलौरी नगरपालिका–२ का अध्यक्ष कलबीर चौधरीले जानकारी दिए।
उनका अनुसार गोकुलपुरका धनबहादुर चौधरी, रमेश चौधरी र विकास चौधरीलाई भारतीय सुरक्षा बलले पक्राउ गरेको थियो। उनीहरू जनही एक हजार रुपैयाँ जरिवाना तिरेर घर फर्किएका हुन्।
प्रकाशित: २२ श्रावण २०८३ १६:२८ शुक्रबार





